आत्महत्या रोक्न संवाद

सम्पादकीय
यसै साता देशभर आत्महत्या रोकथाम दिवस सचेतनालमूलक कार्यक्रमका साथ मनाइएको छ । विश्वभरि ‘संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ दिवस मनाउँदै गर्दा पछिल्लो समय आत्महत्याको समस्या समाजमा बढ्दो छ । यो गाउँदेखी शहर सम्म भयभित रुपमा फैलिँदो छ । नेपालमा दैनिक तीन बालबालिकाले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांक छ । जुन कुल आत्महत्या गर्ने संख्याको १५ प्रतिशत हो । तथ्यांक अनुसार दैनिक कुल २० जनाले आत्महत्या गर्छन् । गत आर्थिक वर्षमा सात हजार १९४ ले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । कुल आत्महत्या गर्ने मध्ये १४.९ प्रतिशत १० देखि १८ वर्ष उमेरका र ०.८ प्रतिशत १० वर्षभन्दा कम उमेरका छन् । जसले नेपालमा आत्महत्या डरलाग्दो समस्याको रुपमा बढ्दै गएको प्रष्ट भएको छ ।

विश्वमा हरेक वर्ष करिब सात लाख व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार मृत्यु हुने कारण मध्ये आत्महत्या १५औँ स्थानमा पर्छ । विश्वमा आत्महत्याका ७७ प्रतिशत घटना नेपालजस्तो न्यून तथा मध्यम आय भएका मुलुकमा हुने गरेको विश्व स्वास्थ्य संगठनको विवरण छ । आत्महत्या गर्ने मध्ये सबैभन्दा धेरै १८ देखि २५ वर्ष उमेरका रहेको अध्ययनले देखाएको छ । कुल आत्महत्याको २१ प्रतिशत यो उमेर समूहका छन् । २५ देखि ३५ वर्ष उमेर समूहका १८.१, ३५ देखि ४५ वर्षका १६.२, ४५ देखि ५५ वर्षका १३.१, ५५ देखि ६५ वर्षका ९.४ र ६५ वर्षमाथिका ६.६ प्रतिशत छन् । आत्महत्या गर्ने मध्ये सबैभन्दा धेरै ४६.२ प्रतिशत कृषक छन् । दोस्रो नम्बरमा श्रमिक १७.९ र तेस्रो नम्बरमा विद्यार्थी १५.४ प्रतिशत छन् । ११.६ प्रतिशत गृहिणी, १.९ प्रतिशत व्यवसायी र १.९ प्रतिशत बेरोजगार छन् । आत्महत्या गर्नेमध्ये ०.५ प्रतिशत सरकारी जागिरे र ४.६ अन्य छन् । आत्महत्या गरेका ६३ प्रतिशत साधारण लेखपढ मात्रै गर्न जानेका रहेको पनि अध्ययनले देखाएको छ । आत्महत्या गर्ने मध्ये आधारभूत तहको शिक्षा आर्जन गरेका २.८, निम्नमाध्यमिक तह पढेका ६.७, माध्यमिक तहसम्म अध्ययन गरेका १३, उच्च माध्यमिक तहका ५.१, स्नातक तहका ९ र स्नातकोत्तर तह अध्ययन गरेका ०.४ प्रतिशत छन् ।

समाजमा शिक्षा, चेतना, जागरण बढ्दो छ । तर, यसरी आत्महत्या किन बढ्दो देखिरहेको छ ? सामान्य तनाव व्यवस्थापन गर्न नसकेकै कारण कलिलै उमेरमा आत्महत्याजस्तो अप्रिय कदम चाल्ने बालबालिकाको संख्या किन बढिरहेको छ ? यो गम्भिर संकेत र समस्या हो । नेपालमा आत्महत्याको घटना पछिल्लो वर्ष ३.१५ प्रतिशतले बढेको छ र त्यसमा बालबालिकाको संख्या ठूलो छ । बालबालिका हुर्काउने हाम्रो शैली र शिक्षा प्रणाली आत्महत्याको प्रमुख कारण हो । स्कुल तहमै तनाव व्यवस्थापनबारे शिक्षा दिन सके यो उमेर समूहका धेरैलाई आत्महत्याबाट जोगाउन सकिन्छ । बढ्दो आत्महत्या न्यूनीकरणका लागि व्यापक र एकीकृत योजना अघि बढाउन आवश्यक छ । दैनिक तीन बालबालिकाले आत्महत्या गर्नु भनेको भयावह अवस्था हो । यसमा अभिभावकदेखि विद्यालय, सरकार, सरोकारवाला सबै तत्काल सजग र जिम्मेवार हुनुपर्छ । जीवनमा आउने समस्याहरू सामान्य विषय हुन् भनेर विद्यालयमा बालबालिकालाई सिकाउनु र बुझाउनु जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *