बागलुङ बसपार्क, विवाद र बहस

सम्पादकीय
बागलुङ सदरमुकामको नवनिर्मित बसपार्कको वर्षों पछि निर्माण सम्पन्न भव्य समारोहका बिच उद्घाटन भयो। विडम्बना भन्नुपर्छ, बागलुङ नगरपालिकामा निर्माण सुरु भएको २३ वर्षपछि उद्घाटन भएको बसपार्क भोलिपल्टै बन्द भएको छ। १८ भदौमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेको बागलुङ बसपार्क भोलिपल्टै बन्द भएकोमा सर्वत्र आलोचना भइरहेको छ। उद्घाटन कार्यक्रमको फोहोरले बसपार्क कुरुप देखिएको थियो बसपार्कसम्म पुग्ने बाटो, टिकट काट्ने काउन्टरसमेत सञ्चालनमा आएको छैन। बसपार्क बने पनि बस पुरानै चिप्लेटी बसपार्कबाटै छुटिरहेका छन् भने असुविधाको कारण देखाउँदै बस व्यवसायी बसपार्कबाट गाडी छुटाउन समेत मानिरहेका छैनन् ।

उपल्लाचौरको दावगरामा बसपार्क निर्माण गर्ने निर्णय भएपछि २०५७÷५८ सालदेखि त्यहाँका स्थानीयको जग्गा लिन सुरु भएको थियो। आधुनिक बागलुङ बसपार्क निर्माण गर्ने २० औं वर्ष पुरानो योजना २०७५ साल कात्तिकबाट सुरु भएको हो । २०६१ सालमा बागलुङका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले शिलान्यास गरेको बसपार्क २०७५ फागुन १४ गते शहरी विकास मन्त्री मोहम्मत इस्तियाकले फेरि शिलान्यास गरेपछि यो बसपार्क चर्चामा आएको थियो। निर्माण सम्झौतादेखि सम्पन्न गर्ने बेलासम्म सधै विवाद र चर्चाको केन्द्रमा रह्यो बागलुङ बसपार्क। २०७८ सालको असारमा बसपार्क सम्पन्न भएको थियो। तर, बसपार्कको विषयमा अनियमितता भएको भन्दै अख्तियार हुँदै विशेष अदालतसम्म मुद्दा पुग्यो। अहिले बसपार्क निर्माण सकिएको सकिएको चौतर्फी दबाबपछि उद्घाटन त भयो। बिना तयारी उद्घाटन त गरियो तर भोलिपल्टै बन्द भएको विषय सर्वत्र चर्चा, बहस र आलोचनामा छ। तलको चिप्लेटी बसपार्क सार्ने, काउण्टर राख्ने, लामो र छोटो दूरीका गाडी कहाँ कहाँबाट गर्ने भन्ने सहमति र तयारी नै भइसकेको थिएन। ३५ लाख रुपैयाँ खर्च गरेर अस्थायी बाटो बनाइएको भए पनि चल्न सक्ने अवस्था छैन। पटकपटक म्याद थपेर तेस्रो भेरिएसनपछि ९ करोड २१ लाख ३५ हजारमा बसपार्क निर्माण सकिएको हो। तर, अझै पनि बसपार्कमा विभिन्न पूर्वाधार निर्माण गर्नुपर्ने काम नगरपालिकाले नगरेको स्थानीयको पनि आरोप छ।

आधुनिक बागलुङमा बसपार्क जग्गा व्यवस्थापनको बेलादेखि नै विवाद र बहसको घेरामा छ। जग्गाको प्लानिङ गरेर स्थानीयलाई फिर्ता गर्ने सर्तमा सुरु भएको बागलुङ बसपार्कको निर्माण सम्झौता नै बिवादित बन्यो। करिव ७ करोड रुपैयाँ निर्माण ठेक्का दिइएकोमा डीपीआर नै गलत भएको भन्दै रिडिजाइन गरिएको । सेटिङमा ठेक्का सम्झौता गरिएको आरोप लाग्यो। बसपार्कको रिडिजाइन गर्दा निर्माण खर्च ७ करोडबाट करिब ११ करोड रुपैयाँ पुग्यो । बसपार्क निर्माणमा जग्गा व्यवस्थापन गर्न जमिन सम्याउने, माटो पुर्ने, स्टिमेट गर्ने, मूल्यांकन र भुक्तानी गर्ने काममा मिलेमतो भएको विषय अख्तियारसम्म पुग्यो । अख्तियारले ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अघिल्लो कार्यकालका उपमेयरसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गन्यो। अहिले उनीहरुले सफाइ पाइसकेका छन्। बसपार्क सञ्चालनमा नआएकामा नागरिक अभियन्ता एकबहादुर केसी (संगम) ले बसपार्कको उद्घाटन कार्यक्रमको फोहोर सफा गर्ने क्रममा एक युट्युब च्यानललाई अन्तवांतां दिने क्रममा शिलालेखमा फटाएर फाल्ने चेतावनी दिएका थिए । अहिले उनीविरुद्ध पक्राउ पुर्जी जारी छ। तर, मुख्य बसपार्क उद्घाटन भए पछि नियमित सञ्चालन हुनु पर्ने विषय ओझेलमा छ। यसमा नगरपालिकाका कार्यालयले किन उद्घाटन पूर्व नै यथेष्ट तयारी समन्वय गरेन ? अब बसपार्क सञ्चालनको विषय के हुन्छ ? कहिलेदेखि नियमित बसपार्कबाट बस सञ्चालन हुन्छ ? बागलुङ नगरपालिका कुनै नागरिकले उठाउने प्रश्नमा मुद्दा मामिलामा होइन, आलोचनात्मक चेत र फराकिलो चित्तका साथ मुख्य कार्यभारमै केन्द्रित र जिम्मेवार हुनुपर्छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *