संविधान दिवस र यसको सार्थकता

सम्पादकीय
आज असोज ३ अर्थात् नेपालको इतिहासमा एक अभुतपूर्व स्मरणीय दिन । देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेको दिन । जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको ऐतिहासिक क्षण । त्यही ऐतिहासिक दिनको सम्झनामा संविधान दिवस मनाइन्छ । हजारौं नेपालीहरुको बलिदान, त्याग, तपस्या अनि पसिनाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । सोही गणतन्त्रात्मक शासन व्यवस्थाको भावना र मर्म अनुरुप २०७२ सालमा नेपालको संविधान जारी गरियो । उक्त संविधानले २०६३ पौष १ गते ने.क.पा. माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरिदिएर पूर्ण संविधान जारी भएको थियो ।

नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधान लागू भएका छन् । त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ । पछिल्लो समय नेपालको संविधान–२०७२ जारी भएको दिन संविधान दिवस असोज ३ गते मनाइन्छ । प्रथम संविधानसभाले तोकिएको समयमा संविधानको सफल प्रारुप दिन नसके पछि दोस्रो संविधान सभाको चुनावबाट गठित संविधानसभाले नेपालको संविधान २०७२ घोषणा भयो । संघीय गणतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट संविधान जारी गरियो । जुन संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखेर जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात् ग¥यो । संघीय गणतान्त्रिक नेपालका रुपमा राज्य पूर्नसंरचना गर्दै कूल ७ वटा प्रदेश अनि यसअघिको संवैधानिक राजतन्त्रलाई गणतन्त्र अनि एकात्मक राज्य संरचनालाई संघीयतामा रुपान्तरण गरेको यस संविधानले हरेक प्रदेशमा एउटा र केन्द्रियमा एउटा गरि दुई प्रकारको संसदको ब्यवस्था ग¥यो । यस व्यवस्थाले देशमा तीन तहको शासन अभ्यास सुरु भयो । जसले नेपालमा सिंहदरबारमा केन्द्रित अधिकार र अवसर विकेन्द्रिकरण गर्नमा महत्वपूर्ण भूमिका खेल्यो ।

संविधान मुलुकको एक अपरिहार्य र महत्वपूर्ण दस्तावेज हो । यो कागजका कोर्रा पानाहरुमा मात्र सीमित छैन । नयाँ संविधानले भविष्यको आवश्यकता र नयाँ पुस्ताको चाहनालाई धेरै हद सम्म प्रतिविम्बित गरेको पनि छ । नेपालको संविधान अनेक असमान्यस्थितिका वावजूद विश्व इतिहासमैं एउटा दूर्लभ रेकर्ड बनाउँदै कूल ९० प्रतिशत सभासदको बहुमतले घोषणा गरिएको यस संविधानको कार्यान्वयनमा भने अनेकन बाधा व्यवधान देखिएको छ । गणतन्त्रको आगमन र नयाँ संविधान जारी गर्दा नागरिकमा जुन उत्साह थियो, त्यसमा आज उल्लेख्य ह्रास छ । संविधानको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दल र तिनका नेताहरु गैरजिम्मेवार छन् । नेपाली जनमा नेपाली हुनुको थप गर्व र गौरवबोध संविधान र यसको प्रभावकारी कार्यान्वयन मार्फत ल्याउन सक्नुपर्छ । कुनै दल या समुदाय भन्दा पनि समग्र नेपालीजन देशको राष्ट्रिय झन्डा मुनि अटाउने र विधिको शासन स्थापित गर्ने दिशामा देश अघि बढ्नु बढाउनु पर्छ । आज संविधान दिवस मनाउँदै गर्दा यसको भावना, मर्म र बुँदा बुँदाको प्रभावकारी कार्यान्वयन नै मुख्य सवाल हो । संविधान दिवसका अवसरमा संविधानको सार्थकता रहने कार्यमा हामी सबै सरिक बनौ । संविधान दिवसको यहाँहरु सबैमा हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *