रित्तिदो गाउँ, पालिका र पहल

सम्पादकीय
पछिल्लो समय गाउँ वस्ती रित्तिने क्रम जारी छ । अचेल गाउँघर पुग्दा तन्नेरी जनशक्ति देखिन र भेटिनै मुश्किल हुन्छ । हरेकजसो घर पुग्दा उही बुढ्यौली लागेका सेताम्य कपाल फुलेका, लौरीको सहारामा हिँड्दै गरेका हजुरबाबा हजुरआमाहरु अधिक भेटिन्छन् । पहिलेका उर्वर खेतबारीहरु अहिले बाझा हुन थालेका छन् । जन्त मलामी जाने अलिक संख्या पु¥याउन पनि कठिन देखिन्छ । छरछिमेकमा कोही रोगव्याधीले ग्रस्त हुँदा पनि उपचारका लागि स्वास्थ्य चौकी, अस्पताल लैजाने जनशक्तिको चौतर्फी अभाव छ । यसका लागि यथोचित नीति, कार्यक्रम ल्याउन नेतृत्वदायक भूमिका निर्वाह गर्ने तीन तहको सरकार आफै अस्थिरता र बेथितिको भूमरीमा छ । केन्द्र र प्रदेश सरकार त पछिल्लो दुई वर्षकै अन्तरालमा कैयन पटक फेरबदल भइसकेका छन् ।

गाउँलेहरू बसाइँ सर्न थालेर गाउँ रित्तिन थाले पछि सर्वत्र यो जटिल सामाजिक समस्याको रुपमा देखिएको छ । स्थानीय तहमा भने केही पालिकाहरुले उदाहरणीय कदम चालेका छन् । पर्वतको महाशिला गाउँपालिकाले गाउँबाट बसाइँ सराईको बढ्दो दर रोक्न एक पृथक अभियान चलाएको छ । जुन अहिलेको सन्दर्भमा सकारात्मक कदम हो । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले रु. एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गरेको छ । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइनेछ । महाशिला गाउँपालिकाबाट एक वर्षमा ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् । बसाइँ सर्ने क्रम यही अनुपातमा जारी रह्यो भने गम्भिर समस्याको रुपमा देखिने निश्चित छ ।

गाउँ घर किन रित्तिरहेको छ ? हराभरा प्रकृति, स्वच्छ वातावरण, अर्गानिक खानपान लगायतका कारणले गाउँ बस्न जति सुन्दर र आनन्ददायक अरु हुँदैन । र पनि गाउँ किन छोडिरहेका छन् ? गम्भिर चासो र चिन्ताको विषय हो । बेरोजगारी समस्या मात्रै मुख्य कारक हो कि सरकारको गाउँ केन्द्रित यथोचित नीति, कार्यक्रमको अभाव हो ? गुणस्तरीय स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताका विषयमा सरकारको बेवास्ता र लापरबाही हो ? यसमा गहन छलफल, बहसको आवश्यकता छ । यति मात्रै होइन, यथोचित पहलकदमीको जरुरत छ । गाउँ अहिलेकै रफ्तारमा रित्तिदै जाने हो भने आजको गाउँ गाउँ जस्तो रहन्न । त्यो एक जिर्ण र खण्डहरमा परिणत हुन सक्नेछ । हाम्रो पुर्खजहरु पहिले बनजंगल फाँडेर घर जग्गा खेतबारी बनाएर दुःखजिलो गर्दै बसे, अब यही प्रवृत्ति रहिरहने हो भने फेरि हाम्रो घर गाउँ बनजंगल झाडीमा परिणत हुनेछ । तसर्थ, अहिले पर्वतको महाशिला गाउँपालिकाले जस्तै कुनै न कुनै, केही न केही कदम जरुर चाल्नैपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *