सम्पादकीय
बर्खायाम सकिने संघारमा छ । अब विस्तारै वर्षा कम हुने र दिन घमाइलो हुने समय हो । तर, असोज मध्य सम्म आइपुग्दा भीषण वर्षा भइरहेको छ । जसले देशव्यापी रुपमा बाढी, पहिरो आइरहेको छ । काठमाडौं उपत्यकामा रेकर्ड ब्रेक वर्षाले जनधनको ठूलो क्षति भएको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण काठमाडौंमा ठूलो बाढी आउँदा उपत्यकाका सबै खोलाहरुले किनारका बस्ती डुबायो । बागमती, विष्णुमती, मनोहरा लगायत खोलाका किनारका सडकहरु पुरिए । सयौं पसल, सटर, गोदाम, तरकारी बजार जस्ता सम्पत्ति बाढीले नोक्सान गरायो । कयौं घर तथा संरचना भत्काएका छन् डुवानमा परेका कारण पक्की घरका संरचनाहरुमा पनि क्षति पुगेको छ ।
यसपटकको अविरल वर्षाले ठुलो मानवीय क्षति निम्तायो । पछिल्लो २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ । यसअघि २००२ मा २०० मिलिमिटर वर्षा भएको रेकर्ड छ । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ ।
विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता छन् । सशस्त्र प्रहरीका अनुसार, २ हजार १०३ जनाको उद्धार गरिएको छ । कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै यसपटक ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुई वटा बसबाट १४ जनाको शव निकालिएको छ । पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंका छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरीमा पहिरोमा पुरिएर ६ जना बालकको मृत्यु भयो । अरु जिल्लामा पनि कैयन अप्रिय घटना र मृत्युको खबर छ ।
बाढीको बितण्डा हरेकवर्ष नेपाल र नेपालीले भोग्नुपर्ने नियति जस्तो बनिरहेको छ । पछिल्लो वर्षासँगैको बाढी पहिरोबाट यति ठुलो संख्यामा मृत्युको घटना भएको छ । दुई दिनयताको अविरल वर्षाका कारण देशभर मूख्य राष्ट्रिय राजमार्गमा ठूलो क्षति भएको छ । खासगरी राजधानीलाई विभिन्न जिल्लासँग जोड्ने मूख्य राजमार्गमै बाढी र पहिरोले क्षति गरेको छ । सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् । यसमा नेपालको भूबनोट एउटा कारण त हो नै, त्यो भन्दा बढी हाम्रो विकास, प्रणाली र गलत प्रवृत्ति मुख्य हो । चुस्त, व्यवस्थित र दिर्घकालीन योजना भन्दा पनि मनोमानी डोजरे विकास प्रवृत्तिले बितण्डा निम्त्याइरहेको छ । खोला बग्ने स्थानमा जबरजस्त मिचेर घरहरु निर्माण गरिए पछि खोला, नदीहरुले आफ्नो बाटो खोज्छ, खोल्छ । यसमा हाम्रो राजनैतिक नेतृत्व, शासक, प्रशासकहरु जिम्मेवार नबन्दा अलि बेसी वर्षा हुँदा बाढीले बितण्डा मच्चाउने गरेको छ । बाढी, पहिरोको रोकथाम, नियन्त्रणमा पूर्ववत सजगता, विपतपूर्व योजना प्रतिकार्य जरुरी छ नै, यसका साथै घटनामा तत्काल उद्धारको पनि यथेष्ट तयारी र गम्भिरता सरकार र सरोकारवाला निकायबाट हुन सकिरहेको छैन । यसतर्फ पनि गम्भिरतापूर्वक पहलकदमी र जिम्मेवारी बहन गर्नु आवश्यक छ ।