निरन्तरको झरी, जोखिम र सचेतता

सम्पादकीय

दुई दिन यता निरन्तर झरी छ । असोज लागिसक्दा देशव्यापी रुपमा बर्खेझरीको गुञ्जायस भइरहेको छ । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिदाँ कैयन स्थानमा बाढी, पहिरोका घटना भइरहेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आँकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएको छ । ४२ पहाडी र हिमाली जिल्लामा जोखिमको खतरा कायमै छ ।

निरन्तरको वर्षाले गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङमा उच्च जोखिम छ । थप भीषण वर्षाको चेतावनी दिइएको छ । यही कारण गण्डकीका साथै लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । हुन पनि अत्यधिक वर्षाका कारण गुडिरहेको कारमाथि पहिरो खस्यो । अविरल वर्षाका कारण देशभरका मुख्यराज मार्ग अवरुद्ध भएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक अन्तर्गत नागढुंगा र पृथ्वी राजमार्गकै धादिङ स्थित ७ किलो भन्ने स्थानमा सडक अवरुद्ध छ । पृथ्वी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन निर्वाध गुड्न पाएका छैनन् । अन्तर्राष्ट्रियतर्फ पनि धेरै उडानहरु प्रभावित भएका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको ग.२ च ७८८५ नम्बरको कार माथि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदीमा पहिरो खस्दा चारजना घाइते भए । सुनसरीस्थित सप्तकोशी नदीमा यात्रुवाहक बस खस्यो । यद्यपि, बसमा सवार सबै यात्रुको उद्धार गरियो । अरु कैयन स्थानमा पनि दुर्घटनाका अप्रिय खबरहरु सार्वजनिक हुने क्रम जारी छ ।

देशका विभिन्न भागमा परेको अविरल वर्षाले जनजीवन प्रभावित छ । मौसम पूर्वानुमान शाखाले अझै केही दिन वर्षाको आँकलन गरेको छ । निरन्तर वर्षा जारी छ । यो स्वाभाविक हो बर्खा भनेको पानी पर्ने महिनै हो । त्यस अर्थमा यसलाई बेमौसमी भन्नै मिल्दैन । असोज मध्ये समयमा आइसक्दा पनि बर्खे झरी त्यो पनि निकै डर र सकस लाग्दो खालको छ । यो तत्कालै रोकिने सम्भावना छैन । हरेकवर्ष यस्ता निरन्तरको झरीले जनधनको अपुरणीय क्षति पु¥याएको छ । निरन्तर वर्षा भइरहँदा नेपालका कुन–कुन स्थानमा केके भयो होला भन्ने भय र सन्त्रास सर्वत्र छ । यस्ता घटना कति बेला हुन्छन् भन्ने पूर्वानुमान हुन सक्दैन । कहिलेकाहीँ त्यस प्रकारको पूर्वानुमान हुनसक्ला र सावधानी अपनाउन पनि सकिएला तर सधैँ यस्तो सम्भावना रहँदैन । यसरी अचानक अकल्पनीय ढंगले हुने भएकै कारण त्यसलाई घटना भनिएको हो । तर, यथोचित पूर्ववत सचेतता अपनाउन सके अपुरणीय क्षति कम गर्न सकिन्छ । आफ्नो गाउँ वस्ती टोलमा सम्भावित जोखिमको आँकलन गरौ, चनाखो भएर सम्भावित जोखिमको सामना गरौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *