सम्पादकीय
भनिन्छ, विपद् बाजा बजाएर आउँदैन । हुन पनि बाढी, पहिरो, भुक्षय जस्ता विपद पूर्ववत रुपमा जानकारी दिएर आउने होइन । यो त आकस्मिक अप्रिय र भवितव्यको रुपमा प्रकट हुन्छ । कुन बेला कस्तो रुप विद्रुपमा आउँछ, यसै भन्न सकिदैन । यसपटकको वर्षा र बाढी पनि अकल्पनीय क्षति निम्त्याउने गरी आयो । देशभर अप्रिय र कहालीलाग्दा घटना भए । गन्तव्य तर्फ हिँडेका दर्जनौ बस, माइक्रो लगायतका सार्वजनिक सवारी साधन सडकमै पहिरोमा पुरिए, कति बिचमै घण्टौ सम्म जाम र अलपत्र अवस्थामा पुगे । जसमा सयौं नागरिकले अनाहकमा ज्यान गुमाउन बिबश भए भने अबौंको भौतिक क्षति भएको छ । अरु विकास संरचना, पूर्वाधारहरु कैयन क्षत विक्षत भएका छन् । जसको अझै सम्म पनि ठोस तथ्यांक आउन सकेको छैन ।
भीषण वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ५२ जनाको मृत्यु भयो । जसमा सबैभन्दा बढी ललितपुरमा ३० जनाको मृत्यु भएको छ । काठमाडौंमा १७ र भक्तपुरमा ५ जना गरी ५२ जनाको मृत्यु भयो । ललितपुरबाट ७, काठमाडौंबाट २ गरी ९ जना भने अझै बेपत्ता छन् । बाढी पहिरोमा परेर २ हजार ७४० घरहरुमा क्षति भएको छ । काठमाडौंमा १ हजार ३४० घर डुबानमा परेको र ११ घर भत्केको पाइएको छ । ललितपुरमा ९७८ घर र भक्तपुरमा ४१७ घरहरु डुबानमा परेका छन् । नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म झ्याप्ले खोला पहिरोमा परी ३५ जनाको मृत्यु भइसकेको छ । काठमाडौं उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख राजमार्ग काठमाडौं–मुग्लिङ सडक दुई दिन अवरुद्ध बन्यो । अर्को मुख्य राजमार्ग बीपी भने अझै अवरुद्ध छ । सडक विभागका अनुसार आइतबारसम्म देशभरि ४७ स्थानमा राजमार्ग अवरुद्ध छ । तर, सबैभन्दा धेरै मानवीय क्षति यही सडक खण्डमा भएको छ । अरु जिल्ला सदरमुकामसँग जोडिने कैयन सडक वर्षा, बाढीको बितण्डाले क्षतिग्रस्त छन् ।
नेपालमा वर्षा भयो कि विपदजन्य घटना र क्षति अधिक हुन्छ । आखिर किन त ? विपद् पूर्वको योजनामा तीन तहकै सरकारको यथोचित ध्यान पुग्न सकेको छैन । देशकै राजधानीमा भएको बाढीको बितण्डाले उद्दारको पर्खाइमा रहेका नागरिकले आँखै अघि भोग्नुपरेको मृत्यु र याचनाले डरलाग्दो दुर्दशा बोल्छ । विपद्मा उद्दार, राहत र पुर्ननिर्माणमा खास योजना र तत्परता देखिएको छैन । मौसम पूर्वानुमान महाशाखाले बेलैमा सचेत त गराएको थियो । तर, सचेतना र सञ्चारमाध्यमबाट यसको व्यापक प्रचार प्रसार हुँदाहुँदै सयौँ सवारीसाधन र यात्रुलाई राजमार्गमा निस्किन अनुमति दिने राज्यको निर्णय गलत सावित भयो । जुन कमजोरीलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्दछ । यसको छानविन गर्नु गराउनु पर्छ । मौसम प्रतिकुलता र राज्यको आग्रह गम्भीर रूपमा नलिँदा यो राजमार्गमा ठूलो मानवीय क्षति भएको छ । जसभित्र दुर्घटनामात्र होइन, प्राकृतिक विपदबाट समेत बचेर यात्रा गर्नु हो । यस घटनाले यात्रुको अधैर्यता र राज्यको व्यवस्थापकीय कमजोरी दुवै उजागर भएको छ । सडकमा पहिलो सचेतना यात्रु र चालक आफैंले अपनाउनु पर्दछ । दोस्रो जिम्मेवारी राज्यको हुन्छ, व्यवस्थापकीय चुस्तता जरुरी देखिएको छ ।