सम्पादकीय
अहिले नेपालीहरुको महान पर्व बडा दसैंको रौनकता सन्निकट छ । अब मानिसहरु आफ्नो पुख्यौली थातथलोमा फर्कने होड चल्छ । लाखौं मानिसहरु केन्द्रित संघीय राजधानी काठमाडौं सुनसान जस्तो बन्छ । जुन वार्षिक क्यालेन्डरमै दुर्लभ परिघटना हो । यद्यपि, असोज मध्य समय लागिसक्दा पनि बर्खे झरीको असर भने चौतर्फी देखिएको छ । यसै साता परेको अविरल वर्षाका कारण देशभरको सडक र हवाइ यातायात ठप्प प्रायः रहे भने अकल्पनीय क्षति नेपाल र नेपालीले बेहोर्नु प¥यो । हिँड्दा हिँड्दैको गाडी पहिरोले बाटैमा पुरिए, भीषण वर्षासँगै आएको बाढी, पहिरोले राजधानी सहित देशभरमा दर्जनौ व्यक्तिले ज्यान गुमाए । कैयन सडक अवरुद्ध हुँदा अलपत्र बने ।
संघीय राजधानी सँग जोडिने मुख्य राजमार्ग नै कैयन घण्टा अवरुद्ध रह्यो । तीन दिन लगातार परेको वर्षाका कारण देशभर २१८ जनाको मृत्यु भयो । २७ जना बेपत्ता र १४३ जना घाइते भए । ५० वर्षपछि भारी वर्षा भएको जिकिर सहित उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएको तथ्यांक छ । पोखरा–बुटवल–नारायणगढ–मुग्लीन काठमाडौं सडक वर्षाले ठप्प प्रायः बन्यो । उता, तीन दिनको वर्षापछिको बाढीपहिरोले सबैभन्दा बढी प्रभावित भएको बिपी राजमार्गमा दुई हजार ५० मिटर सडकखण्ड बगाएको छ । रोशीदेखि नेपालथोकसम्मको खण्डमा विभिन्न ठाउँमा पहिरोले सडक बगाएको हो । काठमाडौंसँग पूर्वको दूरी छोट्याउने बिपी राजमार्गका विभिन्न ठाउँमा दुई किलोमिटर सडक नामोनिसाना नरहने गरी कटान हुँदा कोशी र मधेशका जिल्लाको यातायात प्रभावित बनेको छ । यो दशैं अघि खुल्ने सम्भावना देखिदैन । विपतपछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरिरहे पनि त्यसको खास गुञ्जायस छैन ।
सार्वजनिक यातायात हामीकहाँ उपेक्षित छ । जबकि सरकारले नागरिकको सहजता र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । यसमा सेवा दिने पनि नागरिक नै हुन, लिने पनि नागरिक । तर व्यवसायमा जोडिनेलाई नियमको दायराभित्र राख्नुपर्छ । यात्रु बोकेर आम्दानी गर्नेहरूले यात्रुप्रतिको दायित्व बहन पनि गर्नुपर्छ । आम नागरिकको सेवा, सुरक्षा र सहजता पहिलो सर्त हुनुपर्छ । हुन त पछिल्लो घटनामा सरकारले मौसम पूर्वानुमानले भीषण वर्षाको आँकलन गर्दा साथ लामो दुरीमा रात्री बस सञ्चालन नगर्न निर्देशन गरेको थियो । त्यसको बेवास्ता गर्दै किन र कसरी बस सञ्चालन गरियो ? अब बेवास्ता र लापरबाहीबाट भएको क्षति कसले पुर्ति गर्न सक्छ ? यी र यस्ता गम्भिर सवाल पनि सँगै देखा परेको छ । अर्को तर्फ सडक यातायात अवरुद्ध हुँदा यही बेला हवाइ यातायातको भाडा चर्को बृद्धि गरिएको छ । यसमा नियमन र निगरानी गर्ने निकाय मुकदर्शक छ । अब पनि सार्वजनिक यातायातलाई नियमन गरेर सहज, सुरक्षित र प्रभावी नबनाउने हो भने मुलुक परिवर्तनको असली अनुभूति कदापि हुन सक्ने छैन ।