सम्पादकीय
गत शनिबार आएको बाढी, पहिराले देशभर बितण्डा मच्चायो । सयौंले अकालमै ज्यान गुमाए, कयौं घाइते, अंगभंग भए । कैयन घरबास विहिन भए । कैयन भौतिक संरचना क्षतबिक्षत भए । दशैंको सम्मुखमा भएको यस प्रकारको बिपद्ले ठुलो संख्यामा नेपालीलाई स्तब्ध तुल्याएको छ । अहिले पनि पूर्वतिरको मुख्य राजमार्गको सिधा पहुँच संघीय राजधानीसँग छैन । कहिले सम्म वैकल्पिक मार्ग बन्ने त्यो पनि कुनै टुंगो छैन । यसपटक दसैं मनाउन घर जाने सोच, योजना र तयारीमा रहेकाहरु बाढीले सडक क्षतबिक्षत बनाएकै कारण घर गाउँ जान रोकिनु पर्ने बिडम्बना छ । भौगोलिक रुपमा दुर रहेका स्थानमा भीषण वर्षा, त्यसपश्चात आएको बाढी पहिरोले पारेको आक्रान्त अत्यास लाग्दो छ नै, संघीय राजधानीको केन्द्र सिंहदरबारबाट करिब २५ किलोमिटर मात्रै दूरीमा घर भएका दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका– ४ को दुर्दशा पनि कहाली लाग्दो छ । जसबारे राज्य र यसका निकाय मुकदर्शक जस्तो देखिएको छ ।
एक साताअघि मात्रै आएको बाढीमा थुप्रैले ज्यान र आफन्त गुमाए नै, कैयनले प्रत्यक्ष मृत्यु सँग साक्षात्कार पनि गरेका छन् । घर वस्ती, खेतबारी अहिले त्यो सबै एकादेशको कथाजस्तो भएको छ । बुधबारसम्म बाढीले घरभित्र पसेको ग्रेगान निकाल्न नसकेका स्थानीय सुरक्षित स्थान खोज्दै बसेका छन् । बाढीपहिरोमा परी गाउँपालिकाभित्र तीनजनाको मृत्यु भएको छ । १५० घर पूर्ण रूपमा क्षति भएका छन् । सय घर आंशिक क्षति, तर बस्न नमिल्ने अवस्थामा छन् । २१ वटा पुल र कल्भर्ट बगाएको छ । दक्षिण ललितपुरमा पर्ने महांकाल गाउँपालिकामा बाढीपहिरोले १० जनाको मत्यु भयो । तीनजना अझै बेपत्ता छन् । बाढीपहिरोले महांकालमा करिब पाँच सय रोपनी बारी, एउटा पुल र चारवटा कल्भर्ट बगाएको छ । कति घर र भौतिक संरचना अहिले जोखिमयुक्त अवस्थामा छन् । गाउँपालिका भित्रका धेरै ठाउँमा बिजुलीका पोल ढल्दा गत शुक्रबारदेखि अन्धकारमा बस्न पीडितहरू विवश छन् । सडक अवरुद्ध छ । अहिले सम्म स्थानीय पालिका, प्रदेश र केन्द्र सरकार कसैले केही ठोस कदम चाल्न सकेको छैन ।
संघीय शासन व्यवस्थाको केन्द्र सिंहदरबारकै सम्मुखको स्थानको त बिपद् पश्चात यो बेहाल छ भने अरु ठाउँको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ । सरकार त विपद् अघि पूर्ववत प्रतिकार्र्य, जोखिम नियन्त्रणको तयारीमा थियो, न विपद् पश्चातको उद्धार, राहत र पुर्नस्थापनाका लागि नै तम्तयार थियो । तीन तहको सरकार हुँदा पनि विपद्मा यो खालको दुर्दशा आम नेपालीले बेहोरिरहनु पर्ने अवस्था आउनु आफैमा दुर्भाग्यपूर्ण कुरा हो । राजधानी भित्रै बाढी, पहिरोमा ज्यान जोगाउन घण्टौ सम्म हारगुहार गर्दा पनि उद्दार हुन नसक्नुको नमिठो घटना परिघटना आँखै अघि देखिएको ताजा विगतबाट सरकार, सरोकारवाला निकायले गतिलो पाठ सिक्नुपर्छ । र अबका दिनमा विपद् पूर्व र पश्चातको यथेष्ट योजना, तयारी गर्न अपरिहार्य छ ।