सम्पादकीय
यतिबेला नेपालीमा नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसको नेतृत्वमा चामत्कारिक सफलता हासिल गरेका सभापति रवि लामिछाने एक अर्को अग्नी परीक्षामा छ । जसमाथि सहकारी ठगीको संगीन आरोप छ । उसो त लामिछाने यस्तो पात्र हुन्, जसले टेलिभिजन यात्राबाट हजारौंको उद्दार तथा सहयोग मात्र गरेनन्, नेपालको चरम बेथिति, अनियमितता, अत्याचारको विरुद्ध खरो आवाज उठाएर बनाएको सार्वजनिक छविबाटै राजनीतिमा छलाङ मारे । जहाँबाट संसदीय यात्रा मात्र होइन, उपप्रधान तथा गृहमन्त्री सम्मको पद हासिल गरे । र यो संगै यही अनुक्रममा दोहोरो राहदानी, दोहोरो नागरिकता, शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणको विवाद र उल्झनमा पनि मुछिए । जसबाट निकै कठिनताका साथ जोगिएका थिए । उनै लामिछाने अहिले फेरि सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा पुगेका छन् ।
पूर्व गृहमन्त्री लामिछाने पक्राउ पछि संघीय राजधानी काठमाडौं सहित पोखरा, चितवन लगायतका स्थानमा विरोध प्रदर्शन भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएदेखि नै देश र सिंगो राजनीति तरंगित बनेको छ भने पोखरा त्यसयता अशान्त छ । रास्वपा नेता, कार्यकर्ता दिनहुँ आन्दोलित बनिरहेका छन् । उनीहरुले सरकारले प्रतिशोध साँध्दै पक्राउ गरेको आरोप लगाइरहेका छन् । सहकारी पीडितले भने ठगीमा संलग्न अरुलाई पनि पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् । अन्य राजनीतिक दलका नेता कार्यकर्ता पनि रवि पक्राउको घटनामा विभक्त भइरहेका छन् । नेकपा माओवादीका कार्यकर्ता पनि रास्वपासँग नजिक र सहानुभूति राखिरहेको देखिएको छ भने एमाले–कांग्रेसले सहकारी पीडितका नाममा रवि पक्राउको समर्थनमा छन् । संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया प्रालिमा सहकारीको रकम ल्याएर अपचलन गरेको आरोपमा जीबी राई, कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदन अनुसार लामिछाने प्रबन्ध निर्देशक भएको १४ महिना अवधिमा सूर्यदर्शनसहितका ५ वटा सहकारीको ६५ करोड रकम गोर्खा मिडियामा अपचलन भएको पुष्टि भएको थियो ।
मुलुकको वैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपा र सभापति लामिछाने सहकारी ठगी प्रकरण जस्तो संगठित अपराधमा मुछिनु नै दुर्भाग्यपूर्ण कुरा हो । पूर्व गृहमन्त्री समेत भइसकेका लामिछाने अब प्रहरी हिरासतमा पुगे पछि कानुनको कसीमा जोखिनु पर्छ । तर, अहिले पुराना राजनीतिक दलहरुकै बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ । रास्वपा अहिले आफ्नो सभापति पक्राउको बिरोधमा सडकमा उत्रिएको छ । वैकल्पिक शक्तिको रुपमा उदाएको पार्टी उही पुरानै पार्टी जस्तै सडक आन्दोलन, तोडफोड, आगजानी, कुटपिटमा उत्रिनु, जनतालाई दुःख दिनुले कसरी भिन्न भएको सन्देश दिन्छ ? कांग्रेस र एमाले नेतृत्वको सरकारले नयाँ शक्ति र सम्भावनाबाट त्रसित बनेर नियोजित रुपमै लामिछानेलाई पक्राउ गरेको हो भने त्यो उनीहरु स्वयंमका लागि निकै महँगो सावित हुनेछ । होइन, उनी यसको भागिदार छन् भने पनि छिट्टै न्यायालयले यथोचित आदेश र फैसला गर्नेछ । यसमा रास्वपा नेता, कार्यकर्ता सडकबाट होइन, न्यायालयबाटै न्याय पाउने र दिलाउनेमा केन्द्रित हुन आवश्यक छ । अन्यथा, रास्वपा स्वयंम्का लागि अहिलेको प्रदर्शन घातक सावित हुनेछ ।