गण्डकी डेंगुको केन्द्र किन बनिरहेछ ?

सम्पादकीय
डेंगुले यतिबेला नेपाली समाज आक्रान्त र भयभित छ । कुनै समय कोरोना भाइरसबाट आततायी बनेको समाजमा डेंगु रोगको संक्रमणले यतिबेला हजारौं नागरिक ग्रस्त बनिसकेका छन् । डेंगु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा परिरहेको छ । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्नु पर्दछ । यसले मानिसहरुलाई अत्यन्त कमजोर बनाउने र कतिको त ज्यान समेत लिइसकेको छ । डेंगुबाट सबै भन्दा बढी गण्डकी प्रदेश प्रभावित छ ।

देशभर २७ हजार भन्दा बढी डेंगु सङ्क्रमित भएको ताजा तथ्यांक छ । देशभर ७७ मध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण देखा परेको छ । ईडिसिडीका अनुसार देशभरका डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ । डेंगु संक्रमणमा कुल संख्याको आधा बिरामी गण्डकी प्रदेशमा मात्रै देखा परेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २७ हजार १५३ जनामध्ये गण्डकीमा प्रदेशका १३ हजार ६९८ जनामा डेंगु सङ्क्रमण देखा परेको छ । देशभर माघ यता डेंगु पुष्टि भएको संख्या मध्ये ५० प्रतिशत बिरामी यही प्रदेशमा छन् । जिल्लागत रूपमा सबैभन्दा बढी कास्कीमा ७ हजार ८० जनामा डेंगु सङ्क्रमण भएको छ । तनहुँमा २ हजार १९९, बागलुङका ९५१, गोर्खामा ७९९ जनालाई डेंगु सङ्क्रमण भएको छ ।

खासमा डेंगुको संक्रमण जोखिम गर्मी मौसममा हो । तर, अहिले चिसो मौसम सुरु भएपनि डेंगुको संक्रमण रोकिएको छैन । र यसमा गण्डकी प्रदेश सबै भन्दा बढी प्रभावित छ । आखिर किन ? नेपालबाट मनसुन बाहिरिएको लामो समय भएको छैन । गत असोजमा त ठूलो पानी परेको थियो । त्यतिबेला परेको पानी खुल्डा–खुल्डीहरुमा जमिरहेको हुन्छ । त्यसमा लामखुट्टेको लार्भा विकास भइरहेको छ । अहिले तापक्रम पनि उपयुक्त र लार्भाको वृद्धि विकास गर्ने ठाउँ प्रर्याप्त मात्रामा भएकाले डेंगु संक्रमणले निरन्तरता पाइरहेको छ । हिमाली जिल्लाहरुमा समेत अस्वभाविक रुपमा संक्रमण फैलिएको छ । मौसममा बदलावसँगै अन्य कारणले तराईको रोग पहाड अनि हिमालमा उक्लिनु राम्रो संकेत होइन । अहिलेको डेंगु संक्रमण दर घट्न अझै दुई–तीन हप्ता लाग्ने आंकलन छ । यसका साथै जलवायु परिवर्तन, मानिसको बसाइँसराइ, तीव्र शहरीकरण, कीटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण छन् । अर्को तर्फ गण्डकी प्रदेशमा बढ्दो डेंगु संक्रमण र फैलिँदो जोखिमको यथोचित आँकलन, पूर्ववत सचेतता, तयारी, समन्वय नहुँदा पनि देशभरका कुल बिरामीको आधा हिस्सा गण्डकीमा छन् । अतः अब गण्डकी प्रदेश सरकार, स्थानीय तह, अरु सरोकारवाला निकायले डेंगु संक्रमणको फैलिँदो कारण पहिचान गरेर संक्रमित भएकाहरुको उपचार र थप पैmलिन नदिन तत्काल सम्भाव्य कदम चाल्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *