सम्पादकीय
पछिल्लो तीन दिन यता नेपाली समाज खेल जगतको खुशी र उत्साहले तरंगित छ । अरु बेला खेल संघ संगठन भित्रको विवाद, बेथिति, खेलाडीहरुको विदेश पलायनले दुखद र निराशाजनक खबर मात्र सुन्नु परिरहेको बिडम्बनापूर्ण अवस्थामा नेपाली महिला फुटबल टोलीले गत आइतवार साँझ नेपालीलाई अपार खुशी दिलायो । संघीय राजधानी काठमाडौं स्थित दशरथ रंगशालामा जारी साफ च्याम्पियनसिपमा नेपाल भारत बिच सेमीफाइनल चरणमा प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले चामत्कारिक रुपमा नतिजा आफ्नो पक्षमा पारेर फाइनल यात्रा तय गरेको थियो । नेपालले लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको उपाधिका लागि अब बुधबार बंगलादेशसँग भिड्दैछ । यसअघि पाँचपटक फाइनल पुगेर उपाधिविहीन नेपालले साविक विजेता बंगलादेशसँग खेल्न लागेको खेल सिंगो नेपाल र नेपालीका लागि बहुप्रतिक्षित छ ।
यसपटकको साफ च्याम्पियनसिपको सेमीफाइनल चरणको भारतसँगको खेल नेपालका लागि ऐतिहासिक र स्मरणीय रह्यो । यसमा केही खेल घटना र कारणहरु छन् । पहिलो त नेपाली टिमका रेखा पौडेललाई रेफ्रीले दोहोरो पहिलो कार्ड दिए पछि नेपाल १० खेलाडिमा सीमित बन्यो । रेफ्रीको निर्णय प्रति नेपाली दर्शकले चर्को बिरोध व्यक्त गरे । दोस्रो नेपाल १–० गोलले पछि परेको अवस्थामा उनै रेफ्रीले खेल सुरु गरे, जबकि त्यसबेला भारतीय खेलाडी गोल सेलिब्रेसनमा रमाइरहेका थिए । गोलकिपर गोल पोस्ट छोडेर आफ्नो स्थानमा नपुगेकै अवस्थामा रेफ्रीको ह्वीसल सँगै खेल सुरु भयो, जसको फाइदा उठाउँदै नेपाली खेलाडी साम्बाको पासमा प्रिति राइले सिधै गोल गरिदिए । जसलाई मुख्य रेफ्रीले गोल दिए पनि सहायक रेफ्रीले अस्वीकार गरे । पछि मुख्य रेफ्रीले समेत गोल दिएनन् । खेल लामो समय अवरुद्ध बन्यो । अन्ततः नेपाल खेल्न राजी भयो र पुनः खेल सुरु भयो । खेल सकिन केही मिनेट बाँकी रहँदा नेपालले आकर्षक गोल गरेर खेल बराबरीमा ल्यायो । त्यसपश्चात खेल पेनाल्टी सुटआउटमा पुग्यो । जसमा नेपालले बाजी मार्दै फाइनल यात्रा तय ग¥यो । गत संस्करणमा घरेलु मैदानमा बंगलादेशसँग पराजित हुँदा उपाधिविहीन बनेको नेपालले यसपटक फेरि सोही देशसँग फाइनलमा आमनेसामने हुँदैछ । गत संस्करणमा नेपालमाथि ३–१ को जित निकाल्दै बंगलादेश पहिलोपटक च्याम्पियन बनेको थियो ।
साफ च्याम्पियनसिपमा यसपटक नेपाली महिला टोलीले उत्कृष्ट खेल कौशल देखाइरहेको छ । जसबाट म्याच मात्र होइन, नेपालीहरुको मन पनि जितिरहेका छन् । भारतसँगको सेमीफाइनल भिडन्त र जितबाट त अझ धेरै नेपाली महिला टिमको प्रशंसक बनेका छन् । अब आज नेपाली टोली उपाधिको अवसर खेर नफाल्ने लक्ष्यमा केन्द्रित हुनेछ । गत संस्करणमा बंगलादेशसँग पराजित भएको विगत बिर्साउने गरी मैदानमा उत्रिनेछ । आजको प्रतिस्पर्धालाई बदलाका रूपमा भन्दा पनि च्याम्पियन बन्ने अवसरका रूपमा नेपाली टिमले लिनेछ । अहिलेको पुस्ताले जित्न नसके नयाँ बलियो टोली निर्माणका लागि ५–१० वर्ष लाग्न सक्ने क्याप्टेन एन्जिला सुब्बाले बताएकी पनि छिन् । यो आत्मविश्वास, उच्च मनोबल, घरेलु दर्शकको अभूतपूर्व समर्थन, टिमको रहरलाग्दो एकता लगायतका कारण नेपाल उपाधिको सन्निकट छ । नेपाली महिला टिमलाई सफलताका लागि हार्दिक शुभकामना ।