सम्पादकीय
सेमीफाइनल चरणमा भारत विरुद्धको खेलमा सनसनीपूर्ण प्रदर्शन गरेको नेपाल फाइनलमा स्तब्ध बन्यो । घरेलु टोली बंगलादेश सँगको अन्तिम फाइनल खेलमा २–१ गोलले पराजित भयो । बुधबार दशरथ रङ्गशालामा १५ हजार तीन सय ७३ घरेलु समर्थकको अपार साथ समर्थनका बाबजुद पनि बंगलादेश दोस्रो पटक साफ महिला च्याम्पियनसिप–०२४ को च्याम्पियन बनेको छ । बंगलादेशका लागि ५२औं मिनेटमा मनिका चक्माले गोल गरिन् । त्यसको ४ मिनेटमै ५६ औं मिनेटमा अमिषा कार्कीले १–१ को बराबरी गोल गरिन् । खेल रोमाञ्चक मोड पुग्यो । अन्ततः ८१औं मिनेटमा बङ्गलादेशले २–१ को अग्रता सहित उपाधि चुमेको छ ।
नेपाल आज जुन टिमसँग फाइनलमा पराजय बेहोरेको छ । सोही समूहसँग सन् २०२२ मा दशरथ रङ्गशालामा फाइनलमा पराजय बेहोरेको थियो । योसँगै नेपाल लगातार १२ औं पटक फाइनलमा पुगेर उपाधिविहिन भएको छ । उसो त उपाधि चुम्न असफल रहे पनि नेपाली महिला टोलीको प्रदर्शन उत्कृष्ट रह्यो । बंगलादेशसँगको फाइनल खेल रोमाञ्चक रहे पनि त्यो भन्दा सम्झन लायक खेल भारतसँगको सेमीफाइनल खेल रह्यो । जसमा नेपाली एक खेलाडी रेडकार्ड पश्चात १० खेलाडीमा सीमित रहँदा पनि १–१ गोलको बराबरी खेलेर टाइब्रेकरमा नेपालले जित हासिल गरेको थियो । फाइनलमा अन्तर्राष्ट्रिय स्तरमा क्लब खेलको अनुभव समेत बटुलेकी रेखा पौडेलका साथै घाइते भएकी फरवार्ड दिपा शाही र मिडफिल्डर सरु लिम्बुको अभाव खड्कियो अर्थात् नेपाली दर्शकले उनीहरुलाई ‘मिस’ गरे । समग्रमा नेपाली महिला टिमले साफ च्याम्पियनसिपको फाइनल खेल होस् या अरु चरणको खेल होस्, विगत भन्दा अझ सुधारिएको र भोलिका लागि सुन्दर सम्भावनाको खेल पस्किएको छ । यसले आम खेलप्रेमी नेपाली दर्शकको यसपटक उल्लेख्य मन जित्न समेत सफल भएको छ ।
महिला साफ च्याम्पियनसिपले विगतको तुलनामा यसपटक उल्लेख्य चर्चा र दर्शक पायो । कारण नेपाली महिला खेलाडीहरुले प्रदर्शन गरेको चामत्कारिक खेल नै हो । नेपालले साफ वुमन्स च्याम्पियनसिपमा घरेलु मैदानमा लगातार तेस्रो पटक फाइनल खेलेको हो । समग्रमा पछिल्लो डेढ दशकमा नेपाले १२औं पटक फाइनल खेलेको छ । सन् १९८६ मा एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको नेपाली महिला टोलीले सन् १९८९ र १९९९ मा पनि एएफसी च्याम्पियनसिप खेलेको थियो । नेपाली टोली यसअघि पनि पाँच पटक प्रतियोगिताको उपबिजेता बनिसकेको थियो । नेपाली टोलीका उपाधि यात्रामा चार पटक भारत र एकपटक बंगलादेश तगारो बने । यसपटक पनि साफ च्याम्पियनसिप सपना अधुरै रह्यो । यद्यपि, पुरुष फुटबलको तुलनामा नेपाली महिला फुटबल टोलीले सीमित स्रोत साधनका बाबजुद पनि जुन स्तरको खेल कौशल प्रदर्शन गरेका छन्, त्यसले साँच्चिकै नेपालको गरिमा र पहिचानलाई फराकिलो बनाएको छ । नेपालीहरुका बिचमा खेल भावनालाई अझ एकताबद्ध बनाएको छ । यसले महिलाहरुलाई कमजोर रुपमा हेरिने परम्परागत नेपाली समाजमा पुरानो जिर्ण सोच र दृष्टिकोण बदल्न पनि भूमिका खेलेको छ । अब राज्यले महिला फुटबलको विकास र विस्तारमा तत्काल यथोचित कदम चाल्न सकेमा उपाधिको आशा मात्रै होइन, यसलाई चुम्ने अवस्था निकट वर्षमै आउन सक्नेछ ।