सम्पादकीय
हरेक वर्षायाम खेतीपातीका लागि जति अपरिहार्य र सुखद समय हो । त्यति नै नेपाल र नेपालीका लागि सकस, सास्ती र बडो दुःखको याम पनि हो । हरेक वर्षको बर्खायाममा बाढी, पहिरो जस्ता विपद्मा सयौं नागरिकले वर्षेनी ज्यान गुमाउन बिबश हुन्छन् । कयौं काख रित्तिन्छ, सयौं परिवार घरबारविहिन हुन्छन्, दर्जनौ परिवार उजाड बन्छ । यसपालिको बर्खायाममा बाढीपहिरो र चट्याङमा ४ सय ९५ जनाको ज्यान गएको छ । मनसुन अवधि २८ जेठदेखि २६ असोजसम्म बाढीपहिरो र चट्याङका दुई हजार १ सय ३७ घटना हुँदा ६६ जना बेपत्ता भए, ५ सय २२ जना घाइते भए । सबैभन्दा बढी काभ्रेमा ८२ जनाले ज्यान गुमाए ।
मनसुनमा चार लाख घरपरिवारका १८ लाख प्रभावित हुन सक्ने प्राधिकरणले आँकलन गरेको थियो । तर, मध्य असोजकै बाढीपहिरोमा ११ हजार परिवार विस्थापित भए भने २५ लाख जनसंख्या प्रभावित भए । २३ र २४ असारमा आरीघोप्टे वर्षा भयो । जसपश्चात आएको बाढीका कारण कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा उग्ररूप लियो । २४ घण्टामै ६२४ मिलिमिटर वर्षा हुँदा महाकालीसहितका नदीको बाढीले २७ घर त बगायो नै, सयौँ बिघाको धानबाली पनि नष्ट ग¥यो । एक अर्ब ५७ करोडको भौतिक क्षति भयो । मध्य मनसुन अर्थात् २८ असारमा चितवनको सिमलतालमा पृथ्वी राजमार्गको माथिल्लो भिरबाट पहिरो खस्दा दुईवटा बस त्रिशूली नदीमा बगे । ६२ जना यात्रुसहित बस त्रिशूली नदीमा खसे पनि तीनजना हाम फालेर ज्यान जोगाउन सफल भए । ५९ जना बेपत्ता भएकामा हालसम्म २४ जनाको मात्र शव फेला प¥यो । बस अझै पनि फेला परेको छैन । मध्य असोजको तीन दिनको बाढीपहिरोले २१ जिल्लाका ७१ पालिकामा तहसनहस गरायो । भीषण वर्षाले २५० जनाको ज्यान लियो, १८ जना बेपत्ता, १७८ घाइते छन् । ३२ साउनमा दुई वटा ताल फुट्दा सोलखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५, नाम्चेको थामेगाउँ बगरमा परिणत हुन पुग्यो । दिउँसोपख ताल विस्फोट भएकाले मानवीय क्षति भने निम्त्याएन । तर, एक विद्यालय, एक स्वास्थ्य चौकी र दुईवटा होटेलसहित २७ वटा घरमा क्षति पुग्यो । जसमा डेढ अर्ब बढीको क्षति भएको आँकलन छ ।
पछिल्लो तथ्यांक अनुसार मानवीय क्षति गत वर्ष भन्दा पाँच गुणा बढी भएको छ । यसपालिको बाढीपहिरोले ठुलो पाठ सिकाएको छ । उसो त नेपाल बाढी, पहिरो तथा भूकम्पजस्ता प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा पर्छ । नेपाल भूकम्पमा ११औँ र बाढीपहिरोमा १६औँ जोखिमयुक्त मुलुकमा पर्छ । जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औँ स्थानमा छ । जसका कारण नेपालमा हरेक दिन कुनै न कुनै विपत्का घटना हुने गर्दछ । यस्तो जोखिम हुँदा र दैनिकजसो विपद्का दुखद घटना भइरहँदा पनि सरकार र सरोकारवाला निकायले भने पूर्ववत सचेतता, तयारीका कार्य योजना निर्माण र कार्यान्वयनमा यथोचित कदम चाल्न सकिरहेको छैन । नेपालले पछिल्लोपटक पूर्वसूचना प्रणालीमा सुधार त गरेको छ । यद्यपि यो प्रयाप्त छैन अझै विपदबाट हुने जोखिम न्यूनीकरणका लागि पर्याप्त काम गर्न जरुरी छ । जलवायुजन्य विपदका घटना बढ्नुका साथै र यसले पु¥याउने क्षति धेरै भइरहे पनि नेपाल विपत् जोखिम न्युनिकरणमा निकै कमजोर छ । जसलाई तीनवटै तहका सरकारले प्राथमिकतामा राख्न आवश्यक छ ।