सम्पादकीय
पोखरा पर्यटकीय शहर । जसलाई पोखरेलीले त मुलुककै पर्यटकीय राजधानी घोषणा समेत गरिसकेका छन् । हुन पनि नेपालमा आउने पर्यटकहरुको ठुलो हिस्सा पोखरा र आसपासका क्षेत्रमा पुग्दा मन्त्रमुग्ध हुन्छन् । पोखरा प्रादेशिक संरचना पश्चात गण्डकी प्रदेशको राजधानी समेत हो । जहाँको चहलपहल, अपरिहार्यताबोध गरेर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरियो । ८ चैत २०७२ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भई २७ पुस २०७३ बाट निर्माण कार्य सुरु भएको थियो । १७ पुस २०७९ मा यो विमानस्थल उद्घाटन गरिएको थियो । तर, उद्घाटन भएको दुई वर्ष बितिसक्दा पनि विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको कुनै गुञ्जायस छैन । उद्घाटनको डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ । ६ असार २०८० मा पहिलो पटक चार्टर्ड उडान गरेको सिचुवान एयरलाइन्सले बिहीबार दोस्रो उडान गरेको छ । यसबीचमा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् ।
पोखरा र यहाँको भव्य विमानस्थल जति आकर्षक छ, भित्रि वास्तविकता बाहिर देखिए जस्तो सुन्दर छैन । टर्मिनल भवन र यसको पछाडि ठूला अन्तर्राष्ट्रिय वायुसेवाका विमानहरु पार्किङ गर्ने स्लटहरु खाली छन् । चिल्लो टर्मिनल भवनको ठूलो भाग अन्तर्राष्ट्रिय टर्मिनलका लागि छुट्याइएको छ, जसको अघिको भाग चकमन्न छ । अन्तर्राष्ट्रिय सेवाका यात्रुको आगमन र प्रस्थान कक्षमा ढोकामा ताला ठोकिएको छ । यहाँका एक्सरे मेसिन, ट्रली र कुर्सीहरु धुलाम्य छन् । विदेशी एयरलाइन्स कम्पनीहरुका लागि छुट्याइएको बोर्डिङ काउन्टर खाली छन् । आन्तरिक उडानका यात्रुहरुको आउ–जाउले नै यसको इज्जत धानेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट हालको विनिमय दर अनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१ अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो । वैदेशिक ऋणबाट बनाएको विमानस्थलमा अन्तर्राष्ट्रिय उडान छैनन् । अर्को तर्फ ऋणको भार थपिदै जाने दुर्भाग्यपूर्ण अवस्था बिद्यमान छ । यद्यपि, सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋण अनुदानमा परिणत गर्न चीन सरकारलाई पत्राचार पनि गरेको छ । यसमा चीनले कुनै ठोस जवाफ दिएको छैन ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पहिले नबन्दा सर्वत्र चासो र चिन्ता थियो, अहिले नचल्दा चिन्ता व्यक्त भइरहेको छ । सरकारको आलोचना भइरहेको छ । जुन आर्थिक तथा व्यावसायिक लाभको उद्देश्य राखेर करिब २८ अर्ब रुपैयाँ ऋण लिएर विमानस्थल बनाइएको थियो, त्यो पूरा हुने कुनै गुञ्जायस देखिदैन । १७ पुस २०७९ मा सन् २०२३ को नयाँ वर्षको अवसर पारेर तत्कालीन प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेको डेढ वर्ष पुग्न लाग्यो । तर, अहिलेसम्म डेमोसहित सातवटा चार्टर्ड उडानबाट १८२ जना यात्रु र रुकुम पश्चिम तथा जाजरकोट भूकम्प पीडितका लागि केही सहयोग सामग्रीमात्रै पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आएको रेकर्ड मात्रै छ । जसले अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरा पर्यटन र विकासका नयाँ युगमा प्रवेश गर्ने अपेक्षामा तुषारापात भएको छ । यसमा अझ गम्भिर सवाल त अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा दूरदृष्टि नराखिएको र अब नियमित उडानमै समस्या हुने टिप्पणी छ । अर्को तर्फ चीनको लगानीमा निर्माण भएकाले भारतको चासो र स्वार्थको विषयमा पनि संशय र बहस पैदा भएको छ । चीनको एक्जिम बैंकबाट महंगो ब्याजमा ऋण लिएर बनाएको यो अन्तर्राष्ट्रिय विमानस्थल ‘आन्तरिक विमानस्थल’का रुपमा मात्रै चल्नु दुर्भाग्य हो । यही अवस्था बिद्यमान रहे देशले ठुलो भार र मूल्य चुकाउनु पर्ने अवस्था आउनेछ । तसर्थ, सरकारले समयमै यथोचित पहलकदमी लिन जरुरी छ ।