सम्पादकीय
हुन त दुर्घटना आफैमा एक भवितव्य हो । यो कसैको चाहनाबाट सिर्जित हुँदैन । तर, मानवीय बेवास्ता र लापरबाहीका कारण सयौं दुर्घटना भइरहेका छन् । जसमा हजारौंले अकालमै ज्यान गुमाउन बिबश बनेका छन् । सयौं परिवार अभिभावक विहिन बनेका छन्, हजारौं परिवारको आशा, भरोसा र खुशी टुटेको छ । पछिल्लो दुई दिनमा मात्रै दुई ठुला अप्रिय घटनाका खबर सार्वजनिक भए । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो । जसमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षिया रश्मी श्रीस, ५० वर्षिया नन्दकली पुन, १७ वर्षीय निरज श्रीस र ७५ वर्षिय कुलप्रसाद श्रीसको ज्यान गयो । उता सोही दिन ग्रामीण सडकमा क्षमता भन्दा झन्डै तीन गुणा यात्रु सवार बोलेरो जिप दुर्घटनामा पर्दा सात जनाको ज्यान गएको छ । १८ यात्रु (चालक बाहेक) सवार रहेको जिप कालीकोटको पलाँता गाउँपालिका– ३, राडुमा दुर्घटना हुँदा सात जनाले ज्यान गुमाउदा १२ जना गम्भीर घाइते भएका छन् ।
बागलुङ दुर्घटनाको कारण अझै प्रष्ट खुलिसकेको छैन । भ्यान सडकदेखि पाँच सय मिटर भन्दा तल खसेको छ । यसमा तिब्र गति या अरु कारण के हो ? त्यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ७ जनाको ज्यान जाने गरी भएको कालिकोट दुर्घटना भने जिपले क्षमता भन्दा तेब्बर बढी यात्रु बोकेको र अप्ठेरो सडक रहेकाले दुर्घटना भएको हुन सक्ने आँकलन गरिएको छ । पछिल्लो दुई दिनको दुर्घटनाले झस्काएको छ । विगत एक दशकको सरकारी विवरणले नेपालमा सडक दुर्घटनाबाट दैनिक रूपमा सात जनाको ज्यान जाने गरेको देखाएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको विवरण अनुसार विगत १० वर्षमा नेपालमा विभिन्न खाले सडक दुर्घनामा परेर २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् । एक दशकमा ज्यान गुमाउनेको संख्यालाई दैनिक औसतमा रूपान्तरण गर्ने हो भने प्रतिदिन ७ जना बराबर हुन्छ । सवारी दुर्घटनामा ज्यान गुमाउनेमा वयस्क पुरुषको सङ्ख्या अत्यधिक छ । विगत १० वर्षमा नेपालमा साना र ठूला गरेर झन्डै २ लाख ६० हजार वटा दुर्घटना भएका छन् ।
पछिल्लो दुई दिनको दुई ठुला दुर्घटनाले नेपालको सडक सुरक्षाको भयानक अवस्थालाई प्रतीत गर्छ । दुर्घटनामा ज्यान गुमाउने त गुमाइहाले, त्यसले आफ्नो परिवारका सदस्य गुमाएकाहरूले खेप्नु पर्ने आर्थिक र मानसिक क्षतिको हिसाब किताव अगन्य छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन–२०८० अनुसार नेपालमा सडक दुर्घटनामा पर्नेमा मोटरसाइकल चालकहरू धेरै देखिन्छन् । यसले पनि नेपालमा दुर्घटनाबाट मृत्यु हुनेमा युवा समूह बढी रहेको पुष्टि गर्दछ । प्रतिवेदन अनुसार दश जनामा एक जनासँग मात्र सवारीसाधन भएको नेपाल जस्तो मुलुकमा विद्यमान सवारी दुर्घटनाबाट भएको मृत्युको तथ्याङ्क असाध्यै धेरै छ । पछिल्लो दुई दिनमा यति ठूला सडक दुर्घटना हुनुमा जिम्मेवार र जवाफदेही को हो त ? यो निकै गम्भिर सवाल हो । सडक दुर्घटनामा मानवीय त्रूटि, कमजोरी वा लापरबाही मुख्य कारक हो । यो सँगै यान्त्रिक, सडक, सडक प्रयोगकर्ता र मौसम हो । दुर्घटना न्यूनिकरण गर्न सबैभन्दा पहिले चालक नै सचेत र संवेदनशील हुनुपर्छ । यो सँगै सडकको स्तरोन्नति, सुधार तथा कानुनी सुधार, यात्रुको पनि सचेतता र जिम्मेवारी जरुरी छ ।