सम्पादकीय
नेपाली समाजमा पुरानो व्यवस्था र समयमा उल्लेख्य बदलाव आए पनि परम्परागत सोच, कार्यशैली र व्यवहारमा अझै पनि अपेक्षाकृत परिवर्तन आउन सकेको छैन । यही कारण समाजमा बिद्यमान जातिय, वर्गिय, लिंग, क्षेत्र, धर्मको विषयमा विवाद र संकुचनहरु व्याप्त देखिन्छ । समाजको उत्पीडनमा वर्षौदेखि परिरहेको तप्का मध्येको एक हो महिला । पुरानो राजतन्त्रात्मक व्यवस्था बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बनेको वर्षौ भइसक्दा पनि महिला प्रतिको कमजोर दृष्टिकोण र व्यवहार अझै भिन्न छ । महिलाहरु पुरुष जस्तै काम गर्न सक्दैनन्, खेल्न सक्दैनन्, उदाहरणीय अनुपम नमुना योग्य कार्य प्रदर्शन गर्न सक्दैनन् भन्ने कमजोर मानसिकता पुरुषवादी चिन्तनको जड आज पनि व्याप्त नै देखिन्छ । यस्तो समाजमा अनेकन बाधा, व्यवधान, सीमित स्रोत साधनका बाबजुद महिला क्रिकेट टोलीले आफ्नो प्रदर्शनलाई विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा पु¥याएका छन् ।
सुखद कुरा हो कि उन्नाइस वर्षमुनिको महिला क्रिकेट टोली पहिलो पटक यू–१९ विश्वकपमा छनोट भएको छ । बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले आउँदो जनवरीमा मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकप खेल्ने सुनिश्चित गरेको छ । यूएईले दिएको ८४ रनको मध्यम लक्ष्य १६.२ ओभरभित्र जित्न सकेमात्र नेपाल रनरेटमा अगाडि रही विश्वकपमा पुग्थ्यो । नेपालले १४.४ ओभरमै लक्ष्य भेट्टायो । टस हारेर पहिलो फिल्डिङ पाएको नेपालले आयोजक यूएईलाई उनीहरूको घरेलु मैदान अजमान क्रिकेट मैदानमा ८३ रनमा रोकेको थियो । पहिलो लिगमा यूएईसँग पराजित भइसकेकोले बुधवारको खेलमा नेपालको विजय अनिवार्य थियो । त्यति मात्र नभई उत्कृष्ट रन रेटसहितको जित आवश्यक थियो । यस्तोमा युवा नेपाली क्रिकेटरहरूले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल रहे । अब महिला क्रिकेट टोलीले अर्को वर्ष मलेशियामा हुने विश्वकपमा सहभागिता जनाउने छ । १६ राष्ट्रले भाग लिने विश्वकपमा नेपालले एशिया क्षेत्रको प्रतिनिधित्व गर्ने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यो उमेर समूहमा महिला विश्वकप सुरु गरेपछिको यो दोस्रो संस्करण मात्रै हो ।
प्रयाप्त अवसर, स्रोत साधन बिना पनि उच्च स्तरको प्रदर्शन गरेर सिंगो एशिया क्षेत्रकै प्रतिनिधित्व गर्नु नेपाल र नेपालीका लागि निकै खुशी र गर्वको कुरा हो । यो महिला टोलीले रचेको सुनौलो अभुतपूर्व इतिहास हो । एशिया छनोटमा सहभागी चार राष्ट्र यूएई, नेपाल, थाईल्यान्ड र कुवेतलाई डबल राउन्ड रोबिन लीगमा हराउनु सामान्य कुरा हुँदै होइन । अब नेपाली चेलीहरु विश्वकपमा खेलेको त्यो गर्विलो क्षण हेर्न हाम्रै पालामा पाइने भएको छ । तर, अब नेपाल यही खुशीमा मात्र रमाउने कि महिला क्रिकेटको विकासका लागि यथोचित पहलकदमी, प्रशिक्षण, प्रतियोगिता, नियमित पारिश्रमिक व्यावसायिकताको विषषयमा पनि नीति, कार्यक्रमहरु ल्याउने हो ? त्यो महत्वपूर्ण सवाल हो । निश्चय पनि तीन तहको सरकार, खासगरी केन्द्र सरकारले नै नेतृत्वदायक भूमिका जरुर निर्वाह गर्नुपर्नेछ । अहिलेको उत्कृष्ट प्रदर्शन र विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीलाई भव्य बधाई ।