विभूषणको बेथिति रोक

सम्पादकीय
कुनै पनि सार्वजनिक पद, पदक र विभुषण सुन्दर कुरा हुन्, जहाँ अनेकका लागि एकले खेलेको भुमिका, योगदान सर्वोपरी हुन्छ । त्यही भूमिका, योगदान, प्रतिभा, सिर्जना र सामथ्र्य लगायतका आधारमा ती सार्वजनिक पद, पदक र विभुषण प्रदान गरिन्छ । जसले समाज र देशमा सत्कर्म गर्न गराउन उत्प्रेरित गर्दछ । यो आफैमा राम्रो कुरा हो । तर, हामीकहाँ मनपरी बाँडिने पद, पदक र विभुषणले सर्वत्र बेथिति व्याप्त छ, अरु संघ संस्था निकायले वितरण गर्ने अवार्ड, पदक, पुरस्कार त नेपाली समाजमा बदनाम र आलोचित छँदैछ, राज्य स्तरबाटै बाँड्ने पदक र विभुषण समेतमा मनोमानी छ । जसको सरकार छ, मन्त्रालय छ, सोही पार्टीका नेता र निकट व्यक्तिहरुले पाउने तर वास्तविक असल पात्र र प्रतिभाले नपाउने बिडम्बनापूर्ण अवस्था आज पनि बिद्यमान छ ।

यतिबेला सरकारले विभूषण वितरण गर्ने तयारीसँगै विषय बहसमा छ । संविधान दिवसका अवसरमा ३ असोजमा विभूषणको घोषणा हुने प्रचलन छ । तर, पछिल्लो दुई वर्षमा विभूषणको घोषणा भएको छैन । दुई वर्षअघि ठूलो संख्यामा विभूषण वितरण भएपछि विवाद भएको थियो । गृह मन्त्रालयले बनाएको ‘विभूषण सिफारिस कार्यविधि तथा एवं प्रदानसम्बन्धी मापदण्ड, २०७५’ ले भने एक वर्षमा प्रदान गरिने प्रमुख विभूषण संख्या नै स्पष्ट पारिएको छ । जसमा एक वर्षमा बढीमा २८३ जनालाई दिन सकिने उल्लेख छ । तर, मापदण्ड उल्लंघन गरी सरकारले जथाभावी ठूलो संख्यामा वितरण गरेपछि विवाद हुँदै आएको छ । ०७९ मा वर्ष सरकारले ९९३ जनालाई विभूषण दिने निर्णय गरेको थियो । जुन अहिलेसम्मकै धेरै थियो । सो वर्ष विभूषण सिफारिस गर्दा केही विवादास्पद व्यक्तिसमेत परेपछि विवादित बनेको थियो । सामान्यतया जेठमा नै यसका लागि छनोट समिति गठन गरी सिफारिस माग हुने गरेको थियो । ०८० मा वर्ष नयाँ मापदण्ड बनाएर मात्र विभूषण दिने भन्दै अन्तिम समयमा सिफारिस रोकिएको थियो । तर, अहिलेसम्म मापदण्ड संशोधनको काम नै अघि बढ्न सकेको छैन । सोही कारण यस वर्षको संविधान दिवसमा पनि विभूषणको घोषणा भएन । ऋहिले सरकारले विभूषण पाउने व्यक्तिहरूको सिफारिसका लागि विभूषण सिफारिस समिति गठन गरेको छ । समितिको अध्यक्ष वरिष्ठतम उपप्रधानमन्त्री हुने प्रावधान छ । जसअनुसार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह समितिको अध्यक्ष छन् ।

राज्यले मुलुकको बिभिन्न क्षेत्रमा योगदान पु¥याएका पात्रलाई यथोचित मूल्यांकन गरेर स–सम्मान मानपदवी प्रदान गर्नु सुखद र सकारात्मक कुरा हो । तर, विभुषण, मानपदवी वितरणका नाममा जे जस्तो बेथिति र विकृति विद्यमान छ, यसले सम्बन्धित पात्र त मजाकको पात्र बन्न सक्छन् नै, त्यसबाहेक विभुषण आफैमा बदनाम बन्ने खतरा बढ्दो छ । खास योगदान गरेका व्यक्ति, विशिष्ट प्रतिभा भएका व्यक्तित्वले नपाउने तर सत्ता र शक्तिको निकट भएकै आधारमा पुरस्कार, पदवी र विभुषण पाउने प्रवृत्तिले गलत संस्कार र प्रवृत्तिलाई बढावा दिइरहेको छ । मनपरी तोकिएको संख्या भन्दा धेरै विभूषण वितरण हुँदा एकातर्फ विभूषणको गरिमा घट्दै गएको छ । अर्काेतर्फ यसमा राज्यको भारसमेत बढ्दै गएको छ । त्यसैले विभूषणलाई विकृति र बेथितिबाट मुक्त बनाऔं । यसका लागि वैज्ञानिक र पारदर्शी मापदण्ड बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *