सम्पादकीय
नेपाल कृषि प्रधान देश, यहाँका अधिक मानिस कृषि उपजबाटै जीवन निर्वाह गर्छन् । पछिल्लो समय भने नेपालीले कृषि उपजबाटै जीवन निर्वाह गर्थे भन्ने अवस्था आउने खतरा बढ्दै गएको छ । नेपालका उर्वर खेतबारीहरु बाझा बन्न थालेका छन् । मुलुकको उत्पादनशील उर्जाशील दक्ष युवा जनशक्ति विदेश पलायन हुने क्रम तिब्र बनिरहेको छ, गाउँ घरमा बुढेशकाल लागेका ज्येष्ठ नागरिकहरु मात्रै बस्ने अवस्था बिद्यमान देखिन थालेको छ । उसो त भएको जग्गा जमिनमा पनि पहिलेको जस्तो मलजल गरेर खेतीपाती गर्ने अभ्यास कम हुँदै गएको छ । बरु जीविका चलाउने होस् या व्यवसायिक कृषिजन्य कर्म गर्ने होस्, अधिकांशले रासायनिक मलको प्रयोग गरेर तत्काल उत्पादन बढाउने र मनग्गे आम्दानी गर्ने होड व्याप्त बनेको छ । जसका कारण एकातिर नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ भने अर्को तर्फ माटोको स्वास्थ्यमा पनि प्रतिकुल असर परिरहेको तथ्य र तथ्यांकले देखाउँछ ।
नेपालको माटोमा रासायनिक मल प्रयोग अधिक छ । चक्रीय बाली लगाउने प्रचलन घट्दो छ । अवैज्ञानिक ढंगले खेती गर्ने अभ्यास बढेको छ । जसले जमिनको उर्वरा क्षमता कमजोर देखिएको कृषि विभागले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । यहाँको माटोमा अधिक अम्लीयपन र प्राङ्गारिक पदार्थ कम देखिएको छ । देशका विभिन्न भागबाट लिइएको माटोको नमुना परीक्षण तथ्यांक विश्लेषण गर्दा खेतीयोग्य जमिनको ६६ प्रतिशत माटो अम्लीय प्रकृतिको पाइएको हो । २३ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून पाइएको छ । यस्तै ६५ प्रतिशत माटोमा मध्यम र १२ प्रतिशतमा अधिक रहेको पाइएको छ । प्राङ्गारिक पदार्थलाई माटोको आधारका रूपमा पनि लिइने गरिन्छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा ३–५ प्रतिशत हुनु आवश्यक छ । तर, नेपालमा अत्यन्तै कम छ । यस्तै ५ प्रतिशत माटोमा क्षारीय र २९ प्रतिशत माटोमात्र तटस्थ प्रकृतिको पाइएको छ । यस्तै माटोमा हुनुपर्ने पोषकतत्व, खाद्य तत्वसमेत कम देखिएको छ । नेपालको माटोमा रासायनिक मल प्रयोग, चक्रीय बाली नलगाउँदा र अवैज्ञानिक ढंगले खेती गर्दा माटोको उर्वरा क्षमता कमजोर देखिएको उल्लेख छ । यसले माटो उत्पादनशील छैन भन्ने देखाउँछ ।
आखिर नेपालको माटो कसरी बिग्रिरहेछ ? अब यसको खोज, अध्ययन, अनुसन्धान र यसको रोकथामका लागि आवश्यक पहलकदमी चाल्नुपर्छ । नेपालको माटो बिग्रिनुमा रासायनिक मलको असन्तुलित प्रयोग हुनुका साथै विषादी प्रयोग बढ्दै जानु नै माटो उर्वराशक्ति कम हुनुको प्रमुख कारण हो । यस्तै गोबर वा कम्पोष्ट मल, हरियो मल आदि प्रयोग न्यून हुँदा पनि उत्पादन क्षमता ह्रास आइरहेको छ । पोटास तत्वको मात्रा तीव्र गतिमा घटिरहेको छ, जसमा ३ प्रतिशतमा न्यून, २८ प्रतिशतमा मध्यम र ६९ प्रतिशतमा अधिक छ । खाद्य तत्व औसत छ । नेपालको कृषि विकास रणनीतिले माटोको प्राङ्गारिक पदार्थको मात्रा १.९६ प्रतिशतबाट ४ प्रतिशतमा पु¥याउने लक्ष्य लिएको छ । यद्यपि, नेपालको माटोको स्वास्थ्य परीक्षण प्रयाप्त छैन । सरकारले भने यस्तो संवेदनशील विषयमा बेवास्ता गर्दै आएको छ । किसानमा आफ्नो खेतबारीको माटो समय–समयमा जाँच गर्ने ज्ञान र पहुँच छैन । माटो अस्वस्थ हुनु चिन्ताजनक विषय हो । यसले समग्र खाद्य सुरक्षा नै जोखिममा पर्ने खतरा देखिन्छ । यसतर्फ सरकार, किसान र सरोकारवाला सबै सचेत हुन जरुरी छ ।