सम्पादकीय
नेपाली खेलकुद क्षेत्र र खेलकुदप्रेमीका लागि यतिबेला संघीय राजधानी काठमाडांंैमा एक भव्य महाउत्सव चलिरहेको छ । जसले नेपालको खेल क्षेत्रलाई मात्र तरंगित गरिरहेको छैन, नेपाली अर्थतन्त्रलाई समेत चलायमान बनाइरहेको छ । कर्पोरेट क्षेत्र क्रिकेट एशोसियसन नेपालद्धारा आयोजित नेपाल प्रिमियर लिग (एनपिएल)मा आवद्धता र प्रचारका लागि उत्साहित छन् । ७ वटै प्रदेशमा क्रिकेटको व्यवसायिक विकासका लागि लाखौं खर्चिरहेका छन् । नियमित प्रतियोगिता र व्यवसायिकताको अभावले भविष्य के होला भन्ने संशयमा वर्षौदेखि खेलिरहेका क्रिकेट खेलाडिहरु पनि उत्साहित छन् । अहिलेको प्रिमियर लिगमा लाखौं रकम लिएर खेलिरहेका छन् । नयाँ पुस्ताका खेलाडीहरुलाई पनि प्रतियोगिताले खेल कौशल र प्रतिभा प्रस्फुटनका लागि सुन्दर अवसर दिएको छ ।
नेपाल प्रिमियर लिगको सर्वत्र सकारात्मक चर्चा, परिचर्चा र क्यानको प्रंशसा भए पनि यही लिगको आडमा अवैध कार्य र कमाउ धन्दा गर्नेहरुको सक्रियता बढेको छ । बिहीवार मात्र लिग भइरहेको किर्तिपुर स्थित मैदानबाट सट्टेबाजी गराएको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ । मङ्सिर १७ पछि पक्राउ परेका उनीहरू सबै भारतीय हुन् । उनीहरुले एनपिएल प्रतियोगिता भइरहेको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बसेर सट्टेबाजी गराउने गरेको प्रहरी दाबी छ । मैदानमा बसेर रिजल्ट आफैँले हेरेर बाजी लगाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मैदानको दृश्य टेलिभिजनबाट प्रसारण हुँदा केही समय लाग्ने हुनाले सट्टेबाजहरुले मैदानमा मान्छे खटाएर नै बाजी लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रत्येक बलको नतिजा मैदानमा बस्नेहरूले मुख्य एजेन्टलाई फोन अथवा म्यासेज मार्फत भन्छन्, करिब ५ सेकेन्डमा उनीहरुले लाखौँको बाजी लगाउने गरेको भेटिएको छ । रिजल्ट आफूले पहिले नै थाहा पाएर मूल्य धेरै दिँदा कमाउने आशामा खेल्नेहरूले लाखौं गुमाउने गरेका छन् ।
पछिल्लो समय प्रविधिको जुन तिव्रतर विकास भएको छ, यसले मानिसहरुको जीवन दैनिकी सहज मात्र बनाएको छैन, उत्तिकै चूनौतिपूर्ण पनि बनाइरहेको छ । अहिलेको नेपाल प्रिमियर लिगको जुन क्रेज छ, त्यसकै आड भरोसामा जुन खालको अवैध कार्य र बेथिति भइरहेको छ, यो जरुर रोकिनु पर्छ । भारतीय एप स्पोर्टस् बाजी र प्रोबो मार्फत उनीहरुले सट्टेबाजी गराउने गरेका छन् । मैदानबाट रिजल्ट हेरेर सट्टेबाजहरुले बाजी लगाउँदा धेरै मानिसहरू ठगिने निश्चित छ । सट्टेबाजी गराउन भारतीय गिरोह नै नेपालमा आएको प्रहरीको आशङ्का छ । अहिले पक्राउ परेका ७ जना नेपाल प्रिमियर लिग सुरु भएसँगै काठमाडौँमा आएको तथ्यले यसलाई बल दिन्छ । उनीहरूको साथबाट बरामद भएको ९ थान मोबाइलको फरेन्सिक जाँच गरेर मुख्य एजेन्टसम्म पुग्ने र यो अवैध कार्य तत्काल रोक्न प्रहरी तदारुकता र अनुसन्धान आवश्यक छ । बेटिङ प्लेटफर्म र मैदानमा राखिएको विज्ञापन कम्पनीको ‘कनेक्सन’ बारे पनि अनुसन्धान जरुरी छ ।