सम्पादकीय
यसैसाता देशभरका रिक्त स्थान (स्थानीय तह)मा उपनिर्वाचन भयो । रिक्त विभिन्न ४२ पदका लागि मंसिर १६ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम आइपुग्दा नेपाली कांग्रेसले एक प्रमुखसहित १६ वडा जित्यो । संसदमा तेस्रो दल रहेको नेकपा माओवादी केन्द्रले आश्चर्यजनक रूपमा जनमत र सिट संख्या बढाउन सफल भयो । कीर्तिपुर नगरपालिकासहित बहुमत स्थान जित्ने दाबी गरेको नेकपा एमालेले जम्मा ८ स्थानमा चित्त बुझाएको छ । एक अध्यक्ष, एक उपाध्यक्षसहित ८ सिट जितेर एमाले तेस्रो स्थानमा रहेको छ । २०७९ को संघीय संसदको निर्वाचनमा झण्डै साढे ११ लाख मतसहित २१ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले काठमाडौं महानगर वडा नम्बर १६ को वडा अध्यक्षमा मात्रै सान्त्वना जीत हासिल ग¥यो । अरु बिभिन्न स्थान र तहमा चुनावी मैदानमा उत्रिएको रास्वपाले निराशाजनक मत ल्यायो । अघिल्लो निर्वाचनमा एक सिट जितेको जनता समाजवादी पार्टी(जसपा) नेपालले थप एक सिट जित्यो । एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले एक÷एक स्थानमा जित हासिल गरे । पुरातन पार्टी राप्रपासहित क्षेत्रीय दल जसपा, लोसपा, नाउपा, जपा लगायतले एक स्थान पनि जित्न सकेनन् ।
२०८४ मा हुने आम निर्वाचनको मत सर्वेक्षणका रूपमा समेत हेरिएको यस उपनिर्वाचनले पुराना परम्परागत दल र नयाँ शक्तिको रुपमा उदाएका दलहरुलाई पनि राम्रै पाठ र सन्देश दिइरहेको छ । उसो त नयाँ शक्ति भनिएका दलहरुमा पनि आकर्षण देखिएन । नेपाली कांग्रेसले ८ स्थानमा आफ्नो सिट गुमाए पनि पहिलो पार्टी कायम नै छ । गत निर्वाचनमा कांग्रेसले जितेका पालिका अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष यसपटक एमाले र माओवादीले जिते । तर, त्यसले कांग्रेस पूरै खस्कियो भनेर भन्न मिल्दैन । गत निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत दलको चुनावी गठबन्धन थियो । संसदको दोस्रो ठुलो दल नेकपा एमालेको स्थानीय तहको पदाधिकारीमा उपनिर्वाचनमा एक स्थानमा जीत थप गरे पनि समग्र देशभरको जनमतचाहिँ अलिकति खस्केको देखिन्छ । ऋझ यसो भनौ, उपनिर्वाचनको नतिजाले एमालेलाई तेस्रो स्थानमा पु¥यायो । उपनिर्वाचन भएको एक मात्रै नगरपालिका कीर्तिपुरमा पनि एमाले तेस्रोमा धकेलियो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीकै गृहजिल्लामा स्वतन्त्र उम्मेदवार विजयी भए । यसपटकको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र सुधार सहित उत्साहित बनिरहेको छ ।
निर्वाचन वा उपनिर्वाचन जनताको सर्वोपरी अधिकार परीक्षणको अवसर हो । जहाँ जनमतबाट आफ्नो जनप्रतिनिधि चयन गरिन्छ । अहिलेको उपनिर्वाचनमा ठुला भनिएका दललाई परम्परागत हिसाबले नै अघि बढे भविष्य खतरामा रहेको प्रष्ट सन्देश दिएको छ भने नयाँ उदय भएका दललाई पनि नाम मात्रैको नयाँले केही गर्दैन, जनपक्षीय जनहितको खातिर काम गर्नै दबाब दिएको संकेत छ । उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले खुम्चिने अवस्था बन्यो । किन त ? यो सत्ता र शासनमा बसिरहे पनि जनताको पक्षमा काम गर्न नसक्नाको बितृष्णा र आक्रोश नै अभिव्यक्त हो । यसपटकको उपनिर्वाचन मात्रै भविष्यको संकेत नभए पनि माओवादीले ‘गेन’चाहिँ ग¥यो । यद्यपि, स्थानीय तह उपनिर्वाचनमा माओवादी दोस्रो स्थानमा आयो भन्दैमा भोलिको निर्वाचनमा पनि माओवादी यसरी नै अगाडि नै आउँछ भनेर अहिले नै भन्न हतारो हुन्छ । सारमा आखिर सबै ठाउँको उपनिर्वाचन नतिजाले जति गाली आक्रोश र असन्तुष्टि व्यक्त गरे पनि उही पुरानै ठुला पार्टीको विकल्प रहेनछ भन्ने देखिन्छ । जनताको माग, आवश्यकता र अपेक्षा सम्बोधन गरेर नगए जुनसुकै दल र नेता जनताको कठघरामा पराजित हुनुपर्छ भन्ने यसपटक पनि प्रष्ट संकेत र सन्देश छ ।