सम्पादकीय
चिसो अधिक हुने पुस महिना सन्निकट छ । मंसिर तेस्रो साता लाग्दै गर्दा जाडो क्रमशः बढ्दो क्रममा छ । जल तथा मौसम विज्ञान विभागले त आइतबार र सोमबार पश्चिम नेपालमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । अब पश्चिमी वायुसँगै पश्चिमी न्यून प्रणाली नेपाल भित्रिदै छ । यो प्रणाली पश्चिम नेपालबाट प्रवेश गर्ने भएकाले प्रभाव पनि पश्चिम क्षेत्रमै बढी पर्नेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने छ । हाम्रै गण्डकी प्रदेश, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ । गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
जाडो मौसममा खासगरी ज्येष्ठ नागरिक र बालबालिकाहरुको स्वास्थ्यमा बढी जोखिम र असर देखिन्छ । चिसोमा शरिरको ताप घट्दा शरिरमा चिसो महशुस हुन्छ। वाह्य वातावरण चिसो हुने भएकाले शरिरमा जतिबेला पनि जाँडो अनुभूति हुन्छ र रुघाको जोखिम बढ्छ । कुनै एक व्यक्तिको श्वासप्रश्वास, खोकी हाच्छ्यु र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लू सर्छ । संक्रमित व्यक्तिको मुख, नाक र आँखाबाट मौसमी फ्लू सर्छ । जाडो मौसममा ज्येष्ठ नागरिक र बालबालिकालाई श्वासप्रश्वास सम्बन्धी, रुघाखोकी,घाँटीको सङ्क्रमण,पेट, ढाड दुखाइ लगायत समस्या बढी देखिने गर्दछ । जाडोमा विशेषगरी श्वासप्रश्वास सम्बन्धी रुघाखोकी, निमोनिया, ‘कोल्ड डाइरिया’(चिसोले हुने झाडापखाला)का समस्या बढी देखिन्छ । उच्च तथा मध्यम वर्गका मानिसलाई जाडोले खासै असर नगरे पनि निम्न वर्गीय परिवार र समुदाय धेरैका लागि यो मौसम निकै अप्रिय र कष्टकर हुन्छ । वरिपरिको चिसो वातावरणका कारण शरीरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ । शरीरलाई नयाँ मौसममा अनुकुलन हुन पनि कठिन हुन्छ, जसका कारण विभिन्न रोगको जोखिम बढ्छ । वातावरणमा आएको परिवतर्नलाई विभिन्न रोगले पनि संकेत गरेको पाइन्छ । ख्याल नपु¥याउँदा धेरै मानिस चिसोको शिकार हुने गरेका छन् ।
नेपालको विविधता जति सुन्दर छ, त्यतिकै भुगोल, मौसम अनुसार हुने कष्टप्रद जीवनका दोहोरिरहने नमिठा नियति पनि छन् । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण जाडोसँग सम्बन्धित विभिन्न रोगले आक्रमण गर्छ । प्रतिरोधात्मक क्षमता बलियो भएमा चिसोजन्य रोगको संक्रमणबाट मात्र बचाउँदैन अन्य गम्भीर रोग निम्तिनबाट पनि बच्न सकिन्छ । राम्रो र स्वस्थ खानेकुरा खाएर प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सकिन्छ । हरेक वर्ष मौसम परिवर्तन हुन्छ । तर, परिर्वर्तित मौसममा बानी पर्न हामीलाई केही समय लाग्छ । अर्कोतर्फ हाम्रा सीमित स्रोत, साधन र अभावहरुले पनि जाडोको सामना गर्न कठिन हुन्छ । परिर्वर्तित मौसममा एडजस्टमेन्ट हुने बेलामा शरिरको रोग प्रतिरोधात्मक क्षमता पनि न्युन हुन्छ, र विभिन्न भाइरस, ब्याक्टेरियाले शरिरमा आक्रमण गर्ने जोखिम हुन्छ । यसमा यथोचित सजगता नभएमा बिरामी हुने र ज्यान समेत जाने गर्दछ । त्यसैले, अबको बढ्दो चिसोयाम सँगै आवश्यक सजगता अपनाऔं ।