सम्पादकीय
नेपाली उद्योगहरु किन वर्षाैदेखि धराशयी छन् ? आज पर्यन्त अनेकन साहस र पृथक सोचबाट चलायमान भइरहेका उद्योग कलकारखाना पनि किन बारबार समस्या र संकटमा पर्छन् ? के यसमा मुलुक र विश्वव्यापी अर्थतन्त्रमा देखिने उतास चढाव मात्रै कारक छ ? के देशको अस्थिर राजनीति मात्रै भूमिका छ ? के देशको शासकीय क्षमताको अभाव मात्रै देखिन्छ ? यी र यस्ता प्रश्नको ठोस जवाफ आज पनि सहजै पाउन मुश्किल छ । किनभने नेपालको उद्योग धराशयी हुनुमा छिमेकी देश, तिनले खेल्ने अस्वस्थ भूमिका, खुल्ला सिमाना र प्रतिशोध अहिले मुख्य रुपमा देखिएको छ । भारतसँगको खुला सिमानाबाट हुने तस्करी र नाकाबाट हुने अनधिकृत आयातले नेपाली उद्योगीहरू पटक–पटक समस्यामा परिरहेका छन् । तर, यस्तो विषयमा सरकार र यसका निकाय मुकदर्शक प्रायः बन्ने गरेको छ ।
अहिले तस्करीबाट आयातित सामग्रीको मार नेपालको चिनी उद्योगले बेहोरिरहेका छन् । नेपालको चिनीको भन्दा भारतमा चिनीको मूल्य कम छ । भारतमा चिनी उत्पादनको लागत कम पर्छ, किनभने त्यहाँको चिनी उद्योगले चिनीसँगै इथानोल, विजुली, मल पनि उत्पादन गर्छ । सरकारले भ्याट छुट गरेको छ । उखुको लागत कम पर्छ तर हाम्रो यहाँ उत्पादन लागत नै धेरै पर्छ । त्यसैले बजार भाउ धेरै हुन्छ । अहिले भारतबाट चिनी तस्करी हुनुको कारण पनि मुख्य यही हो । यसरी भारतबाट चिनी तस्करीमार्फत् पैठारी हुँदा नेपालमा उत्पादन भएको चिनीले बजार नपाउने समस्या पैदा भएको छ । स्वदेशमा स्थापित चिनी उद्योगहरूले गत सिजनमा उत्पादन गरेको चिनी खुला सीमाका कारण भइरहेको अनधिकृत आयातका कारण गत वर्षको चिनी ५ हजार टन मौज्दात छ । जबकि नेपालमा चिनीको कुल माग आन्तरिक उत्पादन भन्दा बढि देखिन्छ । वार्षिक माग करिब २ लाख ५० हजार टन रहेको छ । तर उत्पादन भन्दा माग धेरै भएपनि नेपाली उद्योगीहरूले बजार पाउन मुस्किल भइरहेको छ । गत सिजनमा १ लाख ७८ हजार ७१७ टन चिनी उत्पादन भएको थियो । अहिले चालु आर्थिक वर्ष २०८१÷०८२ को क्रसिङ सिजन सुरु भयो । आन्तरिक उत्पादन करिब २ लाख २० हजार टन हुने प्रक्षेपण छ ।
चिनी नेपालको माग भन्दा उत्पादन कम छ र पनि बजार पाउँदैन भने तस्करी अवैध आयात भइरहेको बुझ्न धेरै अध्ययन र अनुमान लाइरहन पर्दैन । औपचारिक च्यानलबाट आएको चिनी र नेपालमा उत्पादन भएको चिनीले यहाँको बजार पुग्दै पुग्दैन । वार्षिक ४० हजार टन भन्दा बढी चिनी भारतबाट नेपालमा तस्करी गरेर पैठारी हुने अनुमान छ । नेपाल चिनी उद्योग संघका अनुसार नेपालमा १ लाख १५ हजार ७५५ उखु कृषक परिवार छन् । उखु उत्पादन क्षेत्रबाट ३० हजार ५३५ जना प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीमा छन् । नेपालमा १३ वटा चिनी उद्योग छन् । अहिले यी उद्योगहरुमा उत्पादित चिनीले बजार नपाए पछि समस्या देखिएको छ । नाकामा तस्कर सक्रिय रहेको सूचना पछि प्रहरीले अनधिकृत चिनी नियन्त्रणमा समेत लिएको छ । त्यसक्रममा प्रहरी माथि आक्रमण समेत भएको घटनाले यसमा सरकारले यथोचित तदारुकता देखाउनु पर्ने आवश्यकता देखिएको छ । चिनीको अनधिकृत आयातलाई अविलम्ब नरोक्ने हो भने यसले नेपालका उद्योगहरु क्रमशः धराशयी बन्दै जाने निश्चित छ ।