सम्पादकीय
विदेश, नेपाल भन्दा टाढा, नेपालको भुगोलदेखि दुरको देश भनेर बुझिने पुरानो परम्परागत सोच र परिभाषामा अहिले ठुलो बदलाव आइसकेको छ । विदेश अब दुर होइन, प्रविधि, सामाजिक सञ्जाल, डिजिटल दुनियाँले निकट छ, सम्मुखमा छ । यसकारण पनि हो कि पछिल्लो समय विदेश अझ आकर्षणको केन्द्र बनिरहेको छ । बिभिन्न बाध्यता, बिबशता, परिवन्दका कारण परदेशिनु पर्ने अवस्था बिद्यमान थियो नै, पछिल्लो समय अध्ययनका लागि समेत कक्षा १२ पास गर्न साथ विदेशिनेहरु अहिले हजारौ छन् । मुलुकमा बढ्दो राजनीतिक फोहोरी खेल, अनिश्चितता लगायतका कारण युवा जमातमा फस्टेशन बढ्दो छ । उसो त विदेशमा जानका लागि जे जस्तो आकर्षण र होडबाजी युवाहरुमा देखिन्छ, ठ्याक्कै देखिए जस्तो भने विदेश छैन । विदेशका दुःखद र अध्यारा पाटा अहिले ओझेलमा छ ।
वैदेशिक रोजगारको पछिल्लो ताजा तथ्यांकहरुले पनि दुःखद पाटोलाई उजागर गर्छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, बितेको १६ वर्षमा ६५ लाख १३ हजार ४६२ नेपाली श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६० लाख ७४ हजार ९०९ पुरुष र चार लाख ३८ हजार ५४८ महिला छन् । कुल वैदेशिक रोजगारीमा गएका मध्ये महिलाको संख्या ६.७३ प्रतिशत छ । बाँकी ९३.२७ प्रतिशत पुरुष छन् । यो संख्या वैधानिक तरिकाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जानेको मात्र हो । यसरी विदेश गएकाहरु मध्ये बितेको साढे १६ वर्षको अवधिमा १४ हजारभन्दा बढी नेपालीको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ सुरु भएयताको पहिलो पाँच महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा ७१६ नेपालीले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६५÷६६ देखि २०८१÷८२ को मंसिर मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा कुल १४ हजार २१३ जनाको मृत्यु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । वैदेशिक रोजगारीमा गएका मध्ये एकै वर्ष सबैभन्दा बढी नेपालीको मृत्यु आर्थिक वर्ष २०७८÷७९ मा भएको देखिन्छ । जुन वर्ष १ हजार ४ सय ७९ जनाको ज्यान गएको छ । सोही अवधिमा वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार ४४० नेपाली अंगभंग भएर फर्किएका छन् ।
वैदेशिक रोजगार नेपाल र नेपालीको बाध्यात्मक विकल्प र गन्तव्य हो । यो नेपालले चाहेर पनि तत्काल कुनै हालतमा रोक्न सक्ने अवस्था छैन । वैध र अवैध दुवै बाटा र विकल्पमा नेपालीहरु अहिले विश्वका बिभिन्न भुगोलमा वैदेशिक रोजगारका क्रममा पुगेका छन् । विदेश आफैमा नराम्रो खराब होइन र हुँदैन । तर, हामी जुन जुन देशलाई वैदेशिक रोजगार र आकर्षणको गन्तव्य बनाएर जान्छौ, त्यसका लागि हामीले पूर्ववत जानी बुझेर सुझबुझपूर्ण रुपमा जाने कुरामा अझै पनि थुप्रै चुकिरहेका छौ । जसका कारण वैदेशिक रोजगारीका निम्ति नेपाली समाजले महँगो सामाजिक मूल्य चुकाउनुपरेको वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्यांकले पनि देखाएको छ । अतः विदेशलाई आकर्षण र गन्तव्य बनाउने सबैले बुझ्नुपर्छ कि विदेश बाहिर देखिए भने जस्तो आकर्षक, सुविधा सम्पन्न र सहज मात्रै छैन, यसभित्रको दुःख, सकस, पीडा र सास्ती पनि प्रशस्त छ । सके सम्म देशमै केही गरौं, विदेश जानै परे पनि यथोचित प्रक्रिया, सम्बन्धित देश, परिवेश र प्रक्रिया बुझेर जाऔं ।