क्रिसमसको शुभकामना !

सम्पादकीय
डिसेम्बर २५ अर्थात्, आज क्रिसमस डे, मानव समूदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय ब्यक्तित्वहरुको जन्मदिन ब्यापक उत्साह अनि सद्भावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान कृष्ण होउन्, वुद्ध, गुरु नानक होउन या पैगम्बर मोहम्मद । आज भने इसाइ धर्मका प्रवर्तक जिसस अर्थात् प्रभू येशुको जन्मदिन हो । यस दिनलाई विश्वभर इसाई धर्मका अनुयायीहरू सौहार्दता तथा खुशियालीपूर्वक क्रिसमसको रुपमा मनाउँछन् । पछिल्लो केही वर्ष यता नेपालमा पनि धुमधामका साथ मनाउन थालिएको छ । क्रिसमसमा संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय स्थल ठमेल, पर्यटकीय शहर पोखराको लेकसाइड लगायतका शहर र स्थलमा क्रिसमस इभको रुपमा बृहत उत्सवको रुपमा मनाइएको छ ।

विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयक्रम सँगै आजको दिनलाई क्रिसमसका रुपमा मनाउन थालिएको हो । डिसेम्बर महिनाले आफूसंगै एक प्रकारको उल्लास तथा उमंग लिएर आउँछ । डिसेम्बरमा जसरी दिनहरु बित्दै जान्छन्, सेलिब्रेसनको तयारी पनि प्रारम्भ हून्छ । सबैभन्दा पहिला क्रिसमसको रमझम अनि त्यसपछि अंग्रेजी नयाँ वर्षको स्वागत हुने गर्छ । इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् । क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरिरको साधूले सबैलाई उपहार दिने र खुशी बाँड्नेछन् भन्ने विश्वास छ । सान्टा क्लसको प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातीअबेरसम्म सुत्दैनन् । क्रिसमसका उपलक्ष्यमा संसारभरिनै उपहार साटासाट क्रिसमस रुखको साजसज्जा, भोज आयोजना अनि गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ । नेपाल जब संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सँगै नयाँ संविधान जारी गर्ने चरणमा पुग्यो । मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्ने कुरा नयाँ संविधानमै उल्लेख गरियो । त्यसयता हिन्दु एकात्मकताको संकुचन भन्दा माथि सबै धर्म मान्नेहरुलाई खुलेर धर्म र चाडपर्व मनाउन सहज अवस्था सिर्जना भयो ।

हुन त चाडपर्व एउटा उत्साह हो, जसलाई धर्म भन्दा पनि संस्कार, संस्कृती, सौहार्दता अनि नितान्त खुशीको अभिब्यक्तिका रुपमा लिन जरुरी छ । नेपालमा पनि धेरै इसाई धर्मावलम्बी छन् । पछिल्लो समय त हिन्दुहरुको महान पर्व दशैं तिहारलाई क्रिस्चियन र अरु धर्मालम्बीले जे जति खुल्ला र सहज रुपमा लिन्छन्, मनाउँछन्, त्यही कोणबाट क्रिसमसलाई हेर्दा केवल इसाईमा मात्र सीमित छैन, अरु धर्म मान्नेहरुले पनि उत्तिकै सम्मान प्रकट गरिरहेका छन् । यो पर्वलाई सबै धर्म मान्ने व्यक्तिहरुले उत्तिकै उल्लासका साथ मनाउन थालिसकेका छन् । यतिमात्र होइन, नेपालमा मात्र होइन, सम्पूर्ण विश्वमा नै क्रिसमसलाई धुमधामका साथ मनाइन्छ । सबैभन्दा पहिला क्रिसमस ३३६ ईशा पूर्वमा रोमनका पहिलो ईसायी रोमन सम्राटको समयमा २५ डिसेम्बरको दिन मनाइएको थियो । त्यो समयमा त्यो रोमन स्टेटको आधिकारिक पर्व थिएन । त्यसो त, त्यसपछि जिससको जन्मको तारिखका लागि विवाद समेत भयो । यद्यपि, त्यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रुपबाट जिसस को जन्म २५ डिसेम्बरलाई नै मनाउने घोषणा गरियो । त्यसपछि हरेक वर्ष २५ डिसेम्बरको दिन क्रिसमस मनाउने परम्परा थालनी भयो । यसलाई बेथिति सिर्जना गर्ने रुपमा नभई अझ फराकिलो दायरामा मनाऔ । अहिलेलाई क्रिसमस डेका अवसर सबै इसाई धर्मालम्बीलाई शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *