सम्पादकीय
दुई दिन यता त्रिभुवन विश्वविद्यालयबाट दिक्षान्त भएका तस्विर र बधाईहरुले सामाजिक सञ्जाल रंगिएका छन् । अनेकन काण्ड, भाइरल सामग्रीले रंगिने फेसबुक, टिकटक, रिल, इस्टाग्राम लगायतमा उतिर्ण विद्यार्थीले दशरथ रंगशालामा गाउन, टोपी, स्कार्फ लगाएर खुशी मनाएको फोटोा भिडियो सर्वत्र छाएका छन् । प्राज्ञिक छलफलमा यसको चर्चा परिचर्चा हुने नै भयो, चिया, चौतारीहरुमा पनि पढाइ र यसको महत्व, औचित्यका बारेमा छलफल, बहस भइरहेको छ । त्रिविको यसपटकको दीक्षान्त समारोहमा स्नातक तहबाट नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिल तहका ६३ र विद्यावारिधि (पिएचडी)का १२२ विद्यार्थी सहभागी थिए । यसपटक दीक्षित हुनयोग्य विद्यार्थी (उत्तीर्ण विद्यार्थी) ७४ हजारभन्दा बढी रहे पनि १४ हजार ३०७ विद्यार्थीले मात्र दीक्षान्त समारोहमा सहभागी हुन फारम भरेका थिए । गत वर्ष दशरथ रंगशालामै भएको समारोहमा १२ हजार विद्यार्थी दीक्षित भएका थिए ।
पढाईलाई विशेष महत्व दिँदै विद्यार्थीहरुले आफुलाई अब्बल सावित गरेर दिक्षित बन्दै गर्दा एउटा बहस चाहीँ गम्भिरतापूर्वक भइरहेको छ कि यसरी पढेर दिक्षित भएकाहरु देशमै भविष्य खोज्छन् कि विदेश नै जान्छन् ? यो निकै सोचनीय र मननीय छ । यस विषयमा त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा गोल्ड मेडल प्राप्त गर्ने विभिन्न तहका २२ विद्यार्थीको मनोविज्ञान बुझ्दा देशमै केही गर्ने आशय व्यक्त गरेका छन् । तर, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका त्रिवि टपरहरूले ठुलो शैक्षिक जनशक्ति बिदेसिने र उतै पलायन हुनुपर्ने अवस्थाप्रति संशय र चिन्ता भने व्यक्त गरेका छन् । टपरमध्ये पनि कोही स्वदेशमै बस्ने र कोही विदेश पढ्न जाने योजनामा छन् । विदेशमा पढेर उक्त ज्ञान सदुपयोग गर्न स्वदेश फर्किने पनि कतिपयको चाहना छ । नेपालमा अवसर र सम्भावना भएको प्रति उनीहरु कसैको पनि फरक मत छैन । यद्यपि, यहाँको राजनीतिक अस्थिरता, व्यवस्था अनुसारको प्रणाली, व्यवहार, कार्यशैलीमा पनि व्यापक बेथिति छ, जसले जबरजस्त नेपाली विद्यार्थी र युवाहरुलाई विदेशिन बाध्य बनाइरहेको छ ।
त्रिवि टपर बन्नु आफैमा एक उल्लेखनीय सफलता, देशकै आइडल बन्न सक्नु हो । त्यसमा पनि यसपटक अर्को सुखद विषय पनि देखिएको छ कि त्रिविमा गोल्ड मेडल पाउने २२ मध्ये १७ जना छात्रा छन्, जसले हजारौं विद्यार्थीलाई पछि पार्दै महिलाहरु परम्परागत सोच या घर व्यवहार या अरु बिभिन्न कारणले कमजोर हुन्छन् भन्ने सोच र प्रवृत्तिलाई गलत तुल्याएको छ । त्रिवि टपर र दिक्षान्त समारोहको कथा र दृश्यले पढाई केही होइन भन्नेहरुका लागि पढाईको जरुरत छ भन्ने बोध त गराउँछ नै, यसले देशमै सम्भावना र अवसरको खोज गर्न उत्प्रेरित पनि बनाउँछ । हुन त पछिल्लो समय त्रिवि टपरलाई देशमै रोजगारको सुनिश्चित गर्नुपर्ने माग र आवाज पनि बुलन्द भइरहेको छ । यो नाजायज चाही छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि टपर र दीक्षितहरूलाई प्राप्त ज्ञानलाई देशको समृद्धिका लागि प्रयोग गर्न आग्रह गरेका छन् । उनले आग्रह गर्ने कुरा एउटा रह्यो, त्यो भन्दा मुख्य सवाल त यी र यस्ता विद्यार्थीहरु देशमै रहने, बस्ने र भविष्य खोज्ने वातावरण सरकार र सरोकारवाला निकायले बनाउन पहल र नेतृत्व कौशला देखाउन सक्नुपर्छ ।