भीम रावल, कारबाही र वैकल्पिक शक्तिको बहस

सम्पादकीय
नेकपा एमालेको केन्द्रीय भूमिका र सोही पार्टीबाट सत्तामा लामो समय रजगज चलाएका भीम रावल यतिबेला नयाँ शक्ति आर्जनको कसरतमा छन् । कारण अब उनी एमाले रहेनन्, या उनलाई एमाले रहिरहन उनकै शब्दमा केपी ओली र उनका निकटस्थहरुले दिएनन् । उसो त रावल एमालेमा नै छन् कि छैनन् भन्ने अन्यौलता र द्धिविधा विगत लामो समयदेखि थियो । उनको कार्यशैली, अभिव्यक्तिले आम नागरिकमा यस्तो संशय पैदा गरेको थियो । अहिले उनै रावल वर्षौ आफ्नो उर्जाशील उमेर र उर्जा बिताएको नेकपा एमालेकै कारबाहीको सिकार बनेका छन् । यसमा मुख्यतः रावलकै कार्यशैली र अभिव्यक्तिलाई सवाल बनाइएको छ ।

एमालेबाट पार्टी सदस्यता समेत नरहने गरी कारबाहीमा परेका उनै रावल यतिबेला नयाँ पार्टी निर्माण र राष्ट्रिय जागरणको अभियान उद्घोष गरिरहेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्घोष गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गरी नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नुपर्ने अवस्थामा पुगेको निष्कर्ष सार्वजनिक गरेका छन् । जुन पार्टीबाट उनी नेता बने, त्याग समर्पण गरे, सोही पार्टी प्रति कडा रुपमा प्रस्तुत भइरहेका छन् । केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहहीन बाटोमा धकेलिएको उल्लेख गर्दै अब ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्ने भएका छन् । यस अभियान मार्फत देश र जताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकता गर्दै वैकल्पिक पार्टी निर्माण गर्ने विचार, कार्यक्रम र नीतिलाई ध्यान र जोड दिइने उल्लेख गरेका छन् ।

रावल पार्टी जीवन र राष्ट्रिय हितका सवालमा तुलनात्मक रुपमा देशभत्त र इमान्दार नेताका रुपमा दर्ज थिए । तर, पछिल्लो एमाले पार्टी बिभाजनदेखि फेरि समाजवादीतर्फ नलागेर एमालेमै रहेर आन्तरिक संघर्ष गर्ने बिन्दु सम्ममा पार्टी ह्वीपदेखि धेरै कुरा मनोमानी रुपमा गरिरहे । जसले उनलाई पार्टीको संस्थापन पक्षबाट किनारामा पु¥याउने विषय त बन्यो नै, त्यसबाहेक अहिले गरिएको कारबाही पनि पार्टी जीवनका लागि स्वभाविक थियो भन्ने अवस्था पैदा भइरहेको छ । यद्यपि, यसका बाबजुद पनि रावलले एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना र बिरोध सहित वैकल्पिक शक्ति निर्माणको जे उद्घोष गरेका छन्, तत्कालका लागि सुन्दा लोकप्रिय खालको लागे पनि व्यवहारतः निकै कठिन छ । उसो त उनी सँग एमाले कारबाही पश्चात एमालेबाटै बिभाजित एकीकृत समाजवादीमा जानु, दोस्रो माओवादी प्रवेश गर्नु र तेस्रो वैकल्पिक शक्ति निर्माण या त्यसमा आवद्धता नै उपर्युक्त विकल्प थियो । उनले तेस्रो विकल्पलाई प्रमुख बनाएका छन् । वैकल्पिक शक्ति निर्माणको अभियान पटक पटक आफै धर्मराएको अवस्था छ । चाहे त्यो विवेकशील पार्टी होस् या साझा पार्टी होस् या नयाँ शक्ति पार्टी होस् या पछिल्लो चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी होस्, त्यसको बहावमा केही समयमै ब्रेक लागिरहेको अवस्था छ । यसमा रावल कति र कहिले सम्म टिक्छन् या देशभक्तिको नाराले कति चमत्कार गर्न सक्छन्, त्यो केही समयमै उद्घाटित हुनेछ । यसमा आजैका दिनदेखि रावलको पुनः अग्नी परीक्षा सुरु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *