सम्पादकीय
हुन त देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । सोही व्यवस्थामा २०७२ सालमा संविधानसभाबाट जारी भएको प्रगतिशील संविधान छ । संविधानमा नेपालका हरेक नागरिकको स्वास्थ्यको अधिकार मौलिक अधिकारको रुपमा उल्लेखित छ । तर, यसको व्यावहारिक पक्ष आजको दिनमा पनि अत्यन्त दुखद र निराशाजनक अवस्थामा छ । आज पनि जीवन जलको अभावमा दुरदराजका नागरिकले ज्यान गुमाइरहेका छन्, सुत्केरीले समयमै उपचार नपाएर बिच बाटोमै ज्यान गुमाउन बिबश छन्, सडक विस्तारै पुगे पनि अरु पूर्वाधार छैन । पूर्वाधार, स्वास्थ्य चौकी, अस्पताल भएकै ठाउँहरुमा पनि आवश्यक दक्ष चिकित्सक, जनशक्ति छैनन् । यस्तो अवस्थामा यो देशमा सरकार छ कि छैन त ? आम रुपमा यस्तो प्रश्न र संशय सर्वत्र देखिन थालेको छ ।
मंगलबार मात्रै बझाङका एक सुत्केरी महिलाको सडकमै ज्यान गुमाउन बिबश भएको खबर सार्वजनिक भएको छ । बझाङ जिल्लाको केदारस्युँ गाउपालिका वडा नम्बर १ की खिना बोहोराले यसरी सुत्केरी अवस्थामै ज्यान गुमाएकी हुन् । उनको उमेर २२ वर्षको मात्र थियो र पहिलो सन्तानलाई जन्म दिंदै थिइन् । उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । घरमा वृद्ध ससुरा र सासू मात्र थिए । ससुराको आँखामा समस्या भएकाले राम्ररी देख्न सक्दैनन् । खिनालाई अघिल्लो दिनदेखि नै सुत्केरी व्यथाले च्यापेको रहेछ । तर उनले कतै हारगुहार गरिनन् । सुत्केरी व्यथाले च्यापेपछि बाटोमा अलपत्र परेको भिडियो अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । त्यहाँ एक महिलाले सुत्केरीलाई आफ्नो काखमा राखेकी छिन् । अरु दुई महिला पनि साथमा देखिन्छन् । असह्य पीडा भएपछि उनले राति १२ बजेतिर सासूलाई खबर गरिन् । राति कहाँ जाने, कसलाई भन्ने उनीहरुले मेसो पाएनन् । बिहान तीन बजे मात्र सासूले अर्की छिमेकीलाई साथ लिएर स्वास्थ्यचौकीतर्फ लागे । उनको घरबाट स्वास्थ्य चौकी गाडीमा आधा घण्टामा पुग्न सकिन्छ । उसो त ज्यान गुमाउन बिबश सुत्केरी महिलाले स्थानीय स्वास्थ्य चौकीमा त्यसअघि आठ पटक स्वास्थ्य जाँच गराएकी पनि रहेछिन् । अहेबले व्यथा लाग्नासाथ फोन सम्पर्क गर्नु भनेका पनि रहेछन् । तर उनले खबर नगरेको स्वास्थ्य चौकी र अहेबले दाबी गरेको छ ।
सुत्केरी अवस्था जस्तो संवेदनशील सवालमा साँच्चिकै सरकार र सरोकारवाला निकाय सबै जिम्मेवार र गम्भिर बन्नुपर्छ । अहिले बझाङमा सुत्केरी महिलाले अनाहकमा ज्यान गुमाएकी छिन् । समयमै स्वास्थ्य चौकी, अस्पताल जाने कि यस्तो दुखद घटना र नियति हुनुका पछाडि उनी स्वयंम्ले गरेको लापरबाही त कारक बन्दैछ नै, सरकार सम्बन्धित निकाय पनि यस्को प्रभावकारी कार्यान्वयनमा चुकेका छन् । व्यवस्था जे सुकै पनि, परिस्थिति जे जस्तो प्रतिकुल भए पनि गणतन्त्रको आजको व्यवस्थामा कुनै पनि नागरिले ज्यान गुमाउन बिबश हुनु दुर्भाग्यपूर्ण कुरा हो । अब गाउँ गाउँमा स्वास्थ्य चौकी त पुगेको छ, तर जनशक्ति छैनन् । केन्द्र र प्रदेश सरकारले आकस्मिक उद्दार पनि थालेको छ । यद्यपि त्यो प्रयाप्त छैन । सुत्केरी व्यथा लागेको महिलाई प्राथमिकतामा राख्ने र उच्च केयर निगरानी सहित रेखदेख गरिनु पर्छ । अब यस्तो दुर्घटनाको दुर्दशा कहिले सम्म नेपाली महिलाहरुले भोगिरहनु पर्ने ? सोचौ, बुझौ र बहस गरौं । र अहिले बिद्यमान दुर्दशा जरुर अत्यन्त गर्न अपरिहार्य छ ।