लोकमार्ग कालोपत्रेमा अब ढिलाइ नहोस्

सम्पादकीय
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्ग पश्चिम क्षेत्रका नागरिकको जीवनमा एक कोशेढुंगा बन्ने अपेक्षा थियो । यसको निर्माण सुरु भएर कच्ची नाकाहरु खुले सँगै दुरदराजमा कष्टप्रद दैनिकी झेलिरहेका गाउँलेको जीवनमा अभूतपूर्व परिवर्तन पनि आयो । गौरवकै आयोजना भएकाले यसको निर्माण उपलब्धि तिव्रतर गतिमा हुन्छ, सरकारको सम्पूर्ण ध्यान, बजेट, शक्ति यसमा केन्द्रित हुन्छ र आम नागरिकले त्यसको प्रत्यक्ष लाभ बेलैमा पाउँछन् भन्ने आशा व्याप्त थियो । तर, लोकमार्ग आयोजनाका बिभिन्न खण्डका ठेक्का भिन्न भिन्न निर्माण कम्पनीहरुले पाए । त्यसमध्ये केहीले इमान्दारिकपूर्वक ठेक्का सम्झौता अनुसारको कार्य सम्पन्न गरेर हस्तान्तरण गरे पनि दर्जनौ खण्डको काम भने अलपत्र अवस्थामा प¥यो । यसमध्ये बागलुङ–घोडाबाँधे खण्डको बेवास्ता र आम नागरिकले खेपेको सास्ती र सकस सबै भन्दा बढी अप्रिय रह्यो ।

अहिले सम्म लोकमार्गको कास्की–बागलुङ खण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्रे भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किमि सडक कालोपत्रेका लागि पूर्वाधार तयारीको काम पनि भइरहेको छ । याम्दीदेखि पर्वत हुँदै बागलुङको मालढुङ्गासम्मको सडक पनि कालोपत्र भई सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ । मालढुङ्गादेखि बागलुङ सदरमुकामको उपल्लाचौरसम्मको पाँच किमि सडक चौडा र स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापन हुन बाँकी नै छ । उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २६ किमि सडकमध्ये १३ किमि कालोपत्रे भइसकेको र १३ किमि कालोपत्रे हुने चरणमा छ । उक्त खण्डको काम लामो समयसम्म अलपत्र परेपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत काम काम सुरु गरिएको छ । बयलडाँडादेखि घोडाबाँधेसम्मको कालोपत्रे पनि एक वर्षभित्र पूराना गर्ने लक्ष्य लिइएको छ । उपल्लाचौरदेखि बयलडाँडासम्मको खण्डमा पनि पाँच किमि सडक कालोपत्रे हुन बाँकी छ । घोडाबाँधेदेखि रुकुमपूर्वको सीमाना पातीहाल्नेसम्मको ९९ सय किमि सडक भने कालोपत्र भइसकेको छ । घोडाबाँधेदेखि–हटियासम्म कालोपत्र गरिएको सडक जीर्ण भएपछि मर्मत सुधार गरिएको छ । निसीखोला गाउँपालिका हुँदै पातीहाल्ने जोड्ने सडकमध्ये १४ किमि सडक मात्र सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको छ । अन्य खण्डमा भने निर्माण कम्पनीले योजना फरफराक समयमा नगरेका कारण हस्तान्तरण हुन बाँकी छ ।

मध्यपहाडी लोकमार्ग नेपालको लाइफ लाइन सडक हो भन्नेमा दुई मत छैन । तर, यसको निर्माण कार्यमा भएको चरम लापरबाही, ढिलासुस्ती जे जस्तो किसिमको भयो । त्यसले पश्चिम क्षेत्रको विकासलाई दशक पछाडि नै पारिराख्ने अवस्था बिद्यमान भयो । वर्षौदेखि बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य भएर सकसपूर्ण यात्रा गर्न नागरिक बिबश भइरहे । अब कास्की, पर्वत र बागलुङमा पर्ने लोकमार्गअन्तर्गतको सडक खण्ड स्तरोन्नति गरी दुई लेन कालोपत्रेको काम तत्काल अघि बढाउनु पर्छ । सडक स्तरोन्नतिसँगै उक्त खण्डभित्र कास्कीको याम्दी खोला, पानीबिहाद, पर्वतको तमादी खोला, सुन्दरे खोला र बागलुङको काठेखोलामा गरी पाँच पुल निर्माणाधीन छ, जुन कामलाई पनि निर्धारित अवधि भित्रै सम्पन्न गर्न आयोजना कार्यालय, सरोकारवाला र नागरिकले पहल र दबाब र निगरानी गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *