डिजिटल माध्यम, बढ्दो ठगी र सचेतता

सम्पादकीय
प्रविधिको तिव्रतर विकास छ । समयको गति अनुसार विकास भएको प्रविधिले मानिसको जीवन दैनिकीमा कायापलट गरिदिएको छ । आज प्रविधिकै सहायता र निर्भरतामा हजारौ नागरिकले आकर्षक आम्दानी गरेर जीवन र व्यवसाय सफल बनाइरहेका छन् । एआई जस्तो डिजिटल पल्याटफर्मको आगमनले त सिंगो विश्व तरंगित बनिरहेको छ । यसले आम मानिसको जीवनमा सहजता र परिवर्तन मात्र ल्याएको छैन, कैयन जटिलता र चुनौतीहरु पनि सँगै ल्याएको छ । जसले मानिसहरुको जीवन, दैनिकी, भविष्य, व्यक्तिगत गोपनीयता जस्ता संवेदनशील विषय र सवाल असुरक्षित र अनिश्चयको भूमरी तर्फ उन्मुख छ । यही कारण आजको समयमा कैयन नागरिक प्रविधि, डिजिटिल स्क्याम ठगी धन्दाको सिकार बनिरहेको अवस्था छ ।

अहिले खासगरी मोवाइल बैंकिङ, ह्वाट्स एप, डिजिटल पल्याटफर्म इन्टाग्राम, इमेल लगायतमा व्यापार व्यवसायका नाममा अनेक ठगी धन्दा बिद्यमान छन् । पछिल्लो समय विभिन्न प्रलोभनमा हुने अनलाइन ठगीको घटना बढ्दो क्रममा छ । फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्स एप, म्यासेन्जर, भाइबरलगायत प्लेटर्फमबाट अनलाइन जबको आवरणमा लिंकहरू पठाएर ठगी हुने गरेका घटनाहरू बढेको छ । यसका साथै इसेजा, खल्तीजस्ता वालेट तथा बैंकिङ÷वित्तीय संस्थाबाट बोलेको भनेर ओटीपी मागी रकम ट्रान्सफर गर्नेसम्मका घटनाहरू वृद्धि भएको केन्द्रीय अनुसन्धान ब्यूरोको तथ्यांक छ । प्रहरीका उच्च अधिकारीहरूको नाम तथा दर्जा समेत प्रयोग गर्दै विभिन्न व्यक्तिलाई चेतावनीसहितका इमेलहरू समेत पठाउने गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यस प्रति सचेत हुन आग्रह गरेको छ । साइबर ब्यूरो लगायत अन्य प्रहरी कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरू होक्स (झूटो) भएकाले कुनै प्रतिक्रिया नदिन आग्रह गरिएको छ । यदि उक्त इमेलमा जवाफ पठाए ह्याक र ठगी हुन सक्ने सम्भावना बढी हुन्छ ।

समयको गति अनुसार प्रविधि, डिजिटल दुनियाँमा हामी पनि धेरै कुरामा बदलिन या परिवर्तन हुन जरुरी छ । तर, सामाजिक सञ्जाल, प्रविधिको दुरुपयोगले समाज र देशलाई सही दिशा तर्फ निर्देश गर्दैन । देशको आर्थिक, सामाजिक र शैक्षिक विकासमा टिकटक जस्ता सञ्जालले सकारात्मक भन्दा बढी नकारात्मक असर पारेको निश्कर्षसहित नेपाल सरकारले केही समय टिकटक बन्द पनि ग¥यो । यद्यपि, बन्द नै समाधान होइन र थिएन । र त सरकारले फेरि टिकटक खुल्ला गरेको छ । अरु डिजिटल माध्यम, मिडियाहरु पनि बढी नकारात्मकता हाबी छ । यसको असली उपयोग गर्ने नीति अख्तियार गर्ने गराउनेमा तीन तहको सरकारले पहलकदमी लिनुपर्छ । सामाजिक सञ्जाल प्रयोगलाई उचित नियमन र नियन्त्रण गर्नै पर्ने भएको छ । तर, हामीकहाँ डिजिटल माध्यमको स्वतन्त्रतालाई प्रोत्साहन गर्ने कुरा सकारात्मक भए पनि यसलाई नकारात्मक कार्य, ठगीधन्दा र खराब सन्देश उत्पादन प्रयोग गर्ने प्रयोगशाला बनाउने दुश्प्रयास प्रति भने समयमै सरकार र सम्बन्धित निकाय, आम नागरिक सचेत बन्नु र बनाउनेमा अग्रसर हुनुपर्दछ ।
.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *