प्रहरी कुटपिट, सामाजिक सञ्जाल र शिक्षा

सम्पादकीय
पछिल्लो ४८ घण्टादेखि सामाजिक सञ्जालमा एक घटनाको दृश्य भाइरल बनिरहेको छ । दृश्यमा प्रहरीले एक युवालाई निर्मम रुपमा लाठी प्रहार गरेको प्रष्ट देखिन्छ । यो घटना कहाँको भन्नेमा सुरुवातमा अन्यौलता भए पनि पछि प्रहरीले एक युवकलाई निर्घात कुटपिट गरेको भिडिओ चितवनको भरतपुरस्थित बसेनीको रहेको खुलेको छ । गएको महिनाको १५ पुसमा रातिको समयमा प्रहरीका सहायक निरीक्षक असइ बुद्धिबहादुर घर्ती भुजेलले एक युवकलाई लात्तले हानेर लडेपछि फेरि बुटैबुटले प्रहार गरेको पाइएको छ । यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक र भाइरल बने पछि सर्वत्र प्रहरीको आलोचना भएको छ । नेपाल प्रहरीको बर्दी लगाएर गरिएको यस किसिमको निर्मम कुटपिटमा संलग्नलाई कारबाही गर्नुपर्ने आवाज चर्को रुपमा उठेको छ ।

घटना कसरी घट्यो ? भाइरल भिडियोमा ती कुट्ने प्रहरीले ‘पावर देखाएको’,’फोन गरेको’ भनेको सुनिन्छ । प्रहरीले भने यो घटना भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा भएको जनाएको छ । प्रहरीको उक्त भनाइको आशयले युवकले चेकजाँचका क्रममा कमजोरी भए पछि अरु कुनै उच्च पदस्थ व्यक्तिको फोर्स लगाउन खोजेको र सोही विषयको विवाद उत्कर्षमा पुगेको देखिन्छ । युवाको अपशब्द र अभिमानबाट आक्रोशित प्रहरी असइले त्यसबखत आफ्नो रिस र आवेग नियन्त्रण गर्न नसकेको कारणबाटै घटना भएको छ । भिडिओ हेर्दा प्रहरी आचरणविपरीत कार्य गरेको देखिएको छ । यो घटना गत पुस १४÷१५ सेरोफेरोको भए पनि केही ढिलो गरी सार्वजनिक भयो । भिडियो भाइरुल भए लगत्तै चितवन प्रहरीले यस विषयमा डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सोही समितिको छानविन अनुसार कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी जनताको सेवक हो । बर्दि लगाएर जस्तोसुकै अवस्थामा पनि जनताको सेवामा खट्ने प्रहरीको राष्ट्र सेवाको भावना र समर्पण प्रति जो कोही नतमस्तक हुन्छ । प्रहरी पनि मान्छ नै हो, बेला बेलामा रिस, आवेग, आक्रोश मनमा पैदा हुन सक्छ । अझ सवारी चालकले मादक पदार्थ सेवन गर्ने, लाइसेन्स लगायतका कागजात नबोक्ने अनि उच्च पदस्थ प्रहरी अधिकृत, नेता, मन्त्री र कर्मचारीको नाम लिँदै छोड्न दबाब दिने पात्र र प्रवृत्तिबाट आजित भएको अवस्थामा केही आक्रोश स्वभाविक उत्पन्न हुन सक्छ । तर, त्यसको बदला सम्बन्धित सवारी चालक या व्यक्तिलाई राज्यको नियमानुसार कारबाहीको दायरामा ल्याउने हो । आफै भौतिक रुपमा कुटपिटमा उत्रने र लड्ने होइन । अहिले युवा चाकलको कुटपिटमा सम्लग्न प्रहरी असई उनलाई नियन्त्रणमा लिएर यथोचित कारबाही गर्न चुकेका छन्, र उल्टै भौतिक आक्रमणमा उत्रिएर जनताको सुरक्षामा खटिने नेपाल प्रहरी माथि एउटा खराब धब्बा लगाएका छन् । घटनामा संलग्न प्रहरी कर्मचारीलाई अब के कारबाही हुन्छ ? कारबाहीको नाममा निलम्बन र भित्र भित्रै छुट दिने खेल हुन्छ या केही न केही नसियत हुन्छ । जे होस्, तर यसले प्रहरीलाई नियमानुसार कारबाहीको बाटो अबलम्बन गर्न पाठ सिकाएको छ नै, चालक यात्रुहरुलाई पनि आफु सही सलामत, आवश्यक कागजात सहित यात्रा गर्नुपर्ने दायित्वबोध गराएको छ । यसबाट पाठ नसिक्ने जो कोही फेरि यस्तै घटना र सजायको जरुर भागिदार हुने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *