सडक, सुरुङमार्ग र सम्भावना

सम्पादकीय
केही वर्ष अघि सम्म सुरुङमार्गको विषय र भाषण धेरैलाई हास्यास्पद र अविश्वसनीय लाग्थ्यो । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै सुरुङमार्गको विषयमा भाषण गर्दा कैयन दिन ट्रोल बनेका थिए । २०७५ साल चैत ८ गते बुटवल–नारायणगढ सडकखण्डको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘२०८० देखि नेपालमा सुरुङ युग सुरु हुन्छ ।’ कात्तिक ४ गते नागढुंगामा बन्ने सुरुङमार्ग शिलान्यास गर्दा पनि उनले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताएका थिए । त्यतिबेला प्रधानमन्त्रीका यी भनाइले सुरुङ प्रविधि र यसको सम्भावनालाई धेरैले सतही, सस्तो लोकप्रियता र मजाककै रुपमै लिए । उसो त सुरुङ निर्माण र उपयोगमा नेपाल त्यसअघि पनि अनुभवहीन चाहिँ होइन । नेपाल जस्तो भौगोलिक विविधता सँगैको जटिलता, कठिनाइ भएको देशका लागि सुरुङमार्ग एक उपर्युक्त विकल्प हो ।

नेपालमा मानव निर्मित सुरुङको प्रयोग ४ सय वर्ष पहिल्यै पाल्पाको अर्गलीबाट सुरु भएको मानिन्छ । यद्यपी, राजनीतिक अस्थिरता र देशको कमजोर अर्थतन्त्रले सुरुङ प्रविधिलाई आत्मसात गर्न भने नेपाललाई निकै वर्ष लाग्यो । नेपालमा अहिलेसम्म करिब २५१ किलोमिटर सुरुङ बनिसकेको छ । तर, यीमध्ये सुरुङ मानिसको आवतजावतको सहजताका लागि नभएर पानीलाई बाँधस्थलबाट पावरहाउससम्म पु¥याउन जलविद्युत आयोजनामा बनेका हुन् । सवारीको आवागमनका लागि कालीगण्डकी जलविद्युत आयोजनामा पनि छोटो सुरुङमार्ग बनाइएको छ । ८ मिटर चौडाई र उचाईको सो सुरुङमार्ग हाल प्रयोगमा छैन । यो सुरुङमार्ग नेपालको अहिलेसम्मको फराकिलो सुरुङ भएको अनुमान छ । पछिल्लो समय भने लामो सडक यात्राको सकस र समय छोट्याउन सरकारले सुरुङ मार्ग निर्माणको अभियान थाल्यो । जसमा केही आशातीत प्रगति देखिन थालेको छ । गत शुक्रबार मात्रै सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा चिनिया कम्पनीद्धारा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको ब्रेक थ्रु भएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार २०८३ चैतभित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ । ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । अब यसले सिद्धबाबा क्षेत्रमा हरेक वर्ष बस दुर्घटना हुने, सवारी साधन पहिरोमा पर्ने समस्या र जोखिमबाट नागरिक प्रताडित हुनुपर्ने अवस्था अन्त्य गर्न सहयोग पुग्नेछ । यस सुरुङ निर्माण भएपछि पाल्पा, पोखरा लगायत जिल्ला आवत जावत गर्न सहज र सुरक्षित हुनेछ ।

सिद्धबाबा सुरुङमार्ग आयोजना निर्माणको खबर त सकारात्मक छ नै, यसले नेपालको विकासमा अपरिहार्य आवश्यकताको सम्भावनालाई पनि थप मुखरित गरेको छ । नेपालको भूबनोट अनुसार हाम्रो पहाडी क्षेत्रमा यस्ता सुरुङहरुको निर्माण र प्रयोग बढाउनुपर्छ । जसले सडकदेखि विभिन्न सम्भाब्य परियोजनामा सुरुङ प्रयोग गर्दा आर्थिक लाभ मात्र हुँदैन, त्यसबाट वनजंगल तथा जैविक विविधताको विनास रोकिएर वातावरणीय लाभ पनि प्राप्त हुने अवसर छ । अझ पछिल्लो समय सुरुङ खन्ने प्रविधिमा आधुनिक विकास भएको छ । यसलाई नेपालले आत्मसात गर्नुपर्दछ । पहाड चढेर बेसी झर्ने पुरानो सोचलाई अब सुरुङ प्रविधिले विस्थापन गर्न सक्नुपर्छ । महंगो भन्दै सुरुङ प्रविधिमा जान अल्मलिए विकासको गतिमा नेपालले फड्को मार्न सक्दैन । अब नयाँ प्रविधि भित्राउने र सुरुङ इन्जिनियरिङको पढाई पनि सुरु गरेर यसका लागि आवश्यक जनशक्ति तयार गर्न यथोचित पहलकदमी चाल्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *