समाज, सामयिक पाठ्यक्रम र प्रभावकारिता

सम्पादकीय
समय आफैमा गतिशील छ, यसमा पछिल्लो समय तिव्र रुपमा विकसित प्रविधिले संसारलाई अझ दौडाइ रहेको छ । जो समयको गति बझ्दैनन, सामयिक रुपमा आफुलाई बदलेर समयको गति पक्रदैनन्, उनीहरु धेरै पछि छोडिसकेका छन्, छोडिने क्रम जारी छ, यति भन्दा गर्दा तपाई हामी पनि समय सापेक्ष गतिशील समय र प्रविधिको पदचाप पछ्याउन सकेनौ भने त्यसले जीवनलाई जटिलतामा पार्नेछ, पारिरहेको छ । आज विश्वभर डिजिटल रुपमा दुनियाँ अघि बढिरहेको छ, सामाजिक सञ्जाल माध्यमहरु मार्फत क्षणभरमै संसार विचरण गर्ने सुविधा र अवसर छ । यस्तो बेलामा हरेक देशले आफ्नो नागरिकलाई सोही किसिमको सेवा, सुव्यवस्था र अवसर प्रदान गर्न केन्द्रित हुनुपर्छ ।

अहिले पनि नेपालको शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात जस्ता सार्वजनिक क्षेत्रहरुमा हेर्ने हो भने उदेक लाग्दो अवस्था बिद्यमान छ । यसमध्ये पनि शिक्षा र स्वास्थ्यमा अझ धेरै बेथिति व्याप्त छ । यद्यपि, राज्यका तर्फबाट बिभिन्न समयमा आउने नेतृत्वले केही नयाँ गर्न नखोजेका होइनन् । वर्तमान शिक्षामन्त्री विद्या भट्टराईले पनि केही पहल प्रयास जारी राखेकी छिन् । उनकै अगुवाइमा अब विद्यार्थीले आफ्नो रोजाइको भाषा पढ्न पाउने भएका छन् । कक्षा १०, ११ र १२ मा नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाएर पाठ्यक्रम परिमार्जन गरिएको छ । अरु विषय र भाषा एउटै समूहमा भएको हुँदा विद्यार्थीहरूले आफ्नो रोजाइको भाषा पढ्नबाट बन्चित हुनु परेको थियो । यसअघि भाषा भएको समूहमा अरु विषय पनि थियो । जसका कारण विद्यार्थीले एउटा विषय रोजेपछि अर्को पढ्न नपाउने अवस्था थियो । भाषाको अलग्गै समूह बनाएपछि अब तीनवटा समूहबाट विद्यार्थीले विषय छनोट गर्न पाउने भएका छन् । पाठ्यक्रम विकास केन्द्रका अनुसार ३० वटा जति भाषाको पाठ्यक्रम बनेको छ । यसका साथै, कक्षा ११ र १२ मा पाठ्यक्रम र मूल्याङकन विषयको पाठ्यक्रम बनाउन लागिएको छ । कक्षा १२ उत्तीर्ण भएपछि विद्यालयमा पढाउन पाउने भएकाले अध्ययनकै क्रममा पाठ्यक्रम र मूल्याङकनको ज्ञान दिन यसले टेवा पुग्नेछ । अझ महत्वपूर्ण कुरा त विद्यार्थीले घरमा गरेको कामलाई पनि मूल्याङ्कनमा जोड्न पाठ्यक्रम विकास केन्द्रले सैद्धान्तिक सहमति पाएको छ । मूल्याङ्कनको विधि बनाउने जिम्मा भने पाठ्यक्रम विकास केन्द्रले पाएको छ ।

देशमा रहेको धेरै जातजातिको आफ्नो मातृ भाषा लोप भइसकेका छन्, कतिको लोपोन्मुख अवस्थामा छ, अहिले प्रचलन र अभ्यासमा रहेका मातृभाषीहरुमा पनि ह्रास आइरहेको छ । यस्तो बेलामा राज्यका तर्फबाट नै मातृभाषाको संरक्षण, अपनत्व र निरन्तरताका लागि जुन पहल र प्रयत्न थालिएको छ, यो सकारात्मक र सह्रानीय छ । अर्को तर्फ परीक्षामा लेखेकोलाई मात्र आधार मानिने बिद्यमान विधिमा मूल्याङ्कन समेत परिमार्जित गर्ने निर्णय गरिएको छ । यसले मुलुक भित्रकै श्रम र सीपलाई सम्मान गर्न सिकाउने छ । विद्यार्थीले खेतबारी जोते, घाँस काटे, भात–तरकारी पकाए, भाइ–बहिनी हेरे, बजारमा किनमेल गरे, लुगा सिलाए वा आरनमा काम गरे पनि नम्बर पाउने कुराले हाम्रो श्रम संस्कृतिलाई बढावा दिनेछ । कक्षा ९ र १० मा समेत व्यावसायिक तथा उद्यमशीलता शिक्षा प्रदान गर्ने तयारी छ । यो आजको समय र समाजका लागि अपरिहार्य कदम पनि थियो । अब यसको वैज्ञानिक र व्यवहारिक ढंगले पाठ्यक्रम निर्माण गर्ने र प्रभावकारी कार्यान्वयन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *