सम्पादकीय
नेपाली समाज बिभिन्न चाडपर्वले हरेकदिनजसो उत्साहवद्र्धक, उत्सवमय बनिरहेको हुन्छ । मौसमी चक्र अनुसार वर्षभर नै विभिन्न चाडपर्व आउनु हाम्रो बिबिधता र विशेषता नै बनिसकेको छ । यी पर्वले हाम्रो जीवनमा उल्लास मात्र ल्याउँदैन, खास अर्थ पनि राख्छ । कुनै न कुनै पर्व मनाउनुको पछाडि त्यसको सामाजिक तथा वैज्ञानिक महत्व हुन्छ । शिक्षा त अझ जीवन, समाज र देशका लागि एक अपरिहार्य विषय । शिक्षा बिनाको न समाज कल्पना गर्न सकिन्छ न जीवन नै । यही शिक्षाको बालबालिकालाई शुभारम्भ अर्थात् अक्षर आरम्भ गर्ने दिन आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने दिन । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने नेपाली परम्परा । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले वसन्त पञ्चमीका रुपमा समेत मनाइने सरस्वती पुजा शिक्षा, ज्ञान प्राप्ति गर्ने सुखद सुरुवातको एक ऐतिहासिक दिन हो ।
नेपाली समाजमा सरस्वति पूजा त हरेक वर्ष विद्यार्थीे मनाउँछन् । तर, किन मनाइन्छ र मनाउनु पर्छ भन्ने गहिरो बोध उनीहरुलाई गराउन नसकिएको तितो यथार्थ छ । हामी सरस्वती पूजा मनाउँछौं, पूजाआजा गर्छौं, सरस्वतीको तस्विर पनि राख्छौ, ढोग नमस्कार गर्छौ । त्यसको अर्थ के हो ? सरस्वती स्वरुप, पुराआराधनाले के अर्थ राख्छ ? श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती, उनको प्रतिकात्मक चित्र, वहान, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोकेको छ । हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ । जीवनको सौन्दर्यबोध गराउँछ । सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य हो । यो कुरा आजको पुस्तालाई जरुर बुझाउनु पर्दछ ।
कुनै एक धर्म या पूजामा आस्था या बिश्वास कसैको नहुन पनि सक्छ । तर, आजको सरस्वति पुजाको अर्थ, आस्था, र बिश्वाससँग नेपाली समाजको ठुलो हिस्साको अभूतपूर्व भरोसा देखिन्छ । बालबालिकाहरुलाई औपचारिक शिक्षाको शुरुवात तथा अक्षरारम्भ यस श्लोक वा बन्दनाबाट गराइन्छ । संगीत, कला, साहित्य र विद्याकी खानीको रुपमा सरस्वतीको विधिपूर्वक पूजा आराधना गर्ने मात्र होइन, आजको दिनबाट शुरु हुने शिक्षा, ज्ञान आर्जनको विषयलाई जीवनपर्यन्त सिकाई र उपयोगका लागि व्यापकता प्रदान गर्न आवश्यक छ । सरस्वति पुजामा पाठ गरिने मन्त्र ज्ञान गिताहरुले पनि यस दिनको महत्वलाई थप प्रष्ट पार्छ । विद्याले नम्रता दिन्छ । नम्रताबाट सत्पात्रता वा योग्यता प्राप्त हुन्छ । योग्यताले धन आर्जन गर्न सकिन्छ । धनबाट धर्म र धर्मबाट सुख प्राप्त हुन्छ । विद्या सुखको मुहान हो । चोरले चोर्न नसक्ने, राज्य वा सरकारले जफत गर्न नसक्ने, दाजुभाइका बीचमा अंशबन्डा गर्न नपर्ने विद्यालाई सम्पूर्ण धनमा उत्तम धन मानिएको कुरालाई विद्यार्थीमा बोध गराउँदै लैजानु पर्छ । विद्वान् र राजामा कहिल्यै समानता हुँदैन । राजा आफ्नो देशमा मात्र पुजिन्छ । तर, विद्वान् सर्वत्र पुजिन्छ । विद्या अन्तर्राष्ट्रिय पुँजी हो । आजको दिनले शिक्षाको यस महत्वलाई अझ सर्वत्र पु¥याउन भूमिका खेलोस् । सरस्वति पूजा अर्थात् वसन्त पञ्चमीको सबैमा शुभकामना ।