मनमौजी रुख फडानी, मुकदर्शक सरकार

सम्पादकीय
पछिल्लो समय पुराना चोक चौतारी, आकर्षक बर पिपलका रुखहरु धरापमा छन् । कैयन गाउँघर पुग्दा थकाइ मेट्ने चौतारीहरु अचेल डोजरले भत्काएका छन् । अधिकांश गाउँ घरका बाटाहरुमा देखिने चौतारी, पोखरी, ठुला अग्ला बर पिपलहरु विकासको नाममा अहिले नाम निशान केही देख्न नपाउने अवस्था सिर्जना भएको छ । गाउँ घरमा मात्रै होइन, शहर बजारका बिभिन्न चोकमा बनाइएका चौतारी, रुखहरु पनि अहिले सरसफाइ, विकास र धर्मका नाममा मनमौजी रुपमा भत्काउने क्रम जारी छ । यसको ज्वलन्त उदाहरण पछिल्लो समय पोखरामा देखिएको छ । मानव सेवा फाउन्डेशनको नाममा पोखरामा कोटीहोम महायज्ञ लगाउने भन्दै चौतारा र ऐतिहासिक रुख फडानी गरिएको छ । जसको चौतर्फी बिरोध र आलोचना भइरहेको छ ।

मानव सेवा त पवित्र कर्म हो । यसका लागि आ–आफ्ना तर्फबाट यथोचित सहयोग भूमिका निर्वाह गर्नु सरकार, नागरिक सबैको दायित्व हुन आउँछ । तर, मानव सेवाकै नाममा जे गर्ने पनि छुट भने छैन । अहिले पोखरामा भएको रुख फडानीमा मानव सेवा आश्रमका संस्थापक विवादित धर्मगुरु विजय कृष्णमूर्ती भनिने विजय भण्डारी विवादित पात्र हुन् । तिनै कृष्णमूर्तीको नेतृत्वमा आश्रम निर्माणका लागि भन्दै ४ महिनासम्म हुने भनिएको गण्डकी सत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको लागि समिदा (दाउरा) चाहिएको भन्दै फाउण्डेसनले रुखै मुठारेको हो । मानव सेवाका निम्ति कोटीहोम गर्ने भन्दै पोखराका चौतारा र ऐतिहासिक रुखहरु कटान भएपछि विजय कृष्णमूर्ती फेरि एक पटक विवादमा तानिएका छन् । उसो त उनी काठमाडौं पशुपतिनाथमा गत साउनमा भएको कोटीहोम महायज्ञ होस् वा त्योभन्दा अघि उनको चरित्रका कारण होस्, विजय कृष्णमूर्ती विवादमा परिरहने पात्र हुन् । गर्मी मौसममा शितलता दिने चौतारीका रुखसमेत कुरुप बनाएर काट्दा र वडा, महानगर, प्रदेश सरकार सबै मुकदर्शक छन् ।

कोटीहोमका नाममा पोखराका चोक चौतारीका बर पिपलका रुखहरु जे जसरी काटिएको छ, जसबाट ऐतिहासिक चौताराहरु उजाड बनेका छन् । मानिसहरुका थकान मेट्ने ठाउँ मेटिएको मात्रै छैन, चराहरुको विश्राम तथा आश्रयस्थल पनि खोसिएको छ । यो कुनै पनि कोणबाट राम्रो होइन, हुन सक्दैन । रुख नै ठुटै पार्दा पनि स्थानीय तह, प्रदेश सरकार र नेपाल ट्रस्टसम्म सहयोगी अर्थात् मुकदर्शक बनेका छन् । गण्डकी प्रदेश सरकारले २०७५ सालमै वरपिपल, समी तथा चौतारो संरक्षण ऐन जारी गरेको छ । तर, न अहिलेसम्म ऐन कार्यान्वयन गर्न प्रदेशले कुनै पहलकदमी र छलफल नै गरेको छ न संरक्षणको अधिकार पाएको पोखरा महानगरले नै ऐन कार्यान्वयन गरेको छ । आँखै अघि धर्म र सेवाका नाममा गलत कार्य भइरहँदा पनि अनदेखा गरेर बस्ने कार्य पनि भत्र्सना योग्य छ । रुख काटेर ठुटै बनाउँदा थाहा नभएको दाबी गर्ने महानगरपालिकाले चर्को बिरोध र आलोचना पछि ५० ट्रक काठ जफत गरेको छ । जबकि फाउन्डेसनले काटिन्जेल महानगरले रोक्नुपर्नेमा ‘मौन’ स्वीकृति दिएर गम्भिर गल्ती गरिसकेको छ । जसको क्षति सिंगो पोखराले बेहोर्नु परेको छ । मानव आश्रमको उद्देश्य पवित्र छ तर, त्यसको तयारीका क्रममा जे जसरी कार्य गरियो, यसले नकारात्मक सन्देश प्रवाह गरेको छ । पोखरा र बिभिन्न स्थानका ऐतिहासिक वर, पिपल, समी बर्सेनी हाँगा छिमर्ने नाममा ठूटो बनाउने काम भइरहेको छ । पोखरामा टोलैपिच्छे चौतारा र पोखरीहरु मास्ने क्रम जारी छ । अब विकासका काम र नाममा यी र यस्ता गलत कार्य तत्काल रोकिनु पर्छ । सार्वजनिक सम्पदाको रुपमा रहेका वर, पिपल समी र चौताराको संरक्षणका लागि सरकार, सरोकारवाल सबैको पहल र भूमिमा जरुर हुनुपर्छ ।

यो पनि पढ्नुहोस्