सम्पादकीय
आजको २१ औं शताब्दी युग । ज्ञान, विज्ञान र प्रविधिले चमात्कार गरेर मानिसहरु चन्द्रमा पुगिसके, अन्तरिक्षमा बस्ती बसाल्नेबारे बहस बिमर्श भइरहेको छ । मानवको चेतना पनि सिंगो विश्व एउटा ग्लोबल भिलेज जस्तो बनिरहँदा चेतनाको दायरा पनि उत्तिकै फराकिलो मोडमा छ । तर, हाम्रो देशमा नेपाल भने अझै पनि पुरातनवादी सोच, संर्किणता र चिन्तनहरुबाट मुक्त हुन सकेको छैन । त्यसमा शिक्षा, विकास र अवसरबाट बञ्चित दुरदराजका नागरिकमा परिवर्तन आउन समय लाग्नु स्वभाविक मान्न सकिएला । शिक्षा, चेतना पाएर पनि परम्परा, अन्धविश्वासहरुबाटै ग्रसित मानिसहरु आज पनि अधिक छन् । उसो त समाजमा बिद्यमान जातीय बिभेदको अन्त्यमा राज्य पनि दृढताका साथ लागिरहेको गुञ्जायस हुन सकेको छैन । बरु सत्ता, शक्ति र पहुँचकै आधारमा बिभेदलाई थप संरक्षण, प्रश्रय मिल्ने गरी विवादास्पद भूमिका देखिने गरेको छ । जसले सरकारको संविधान र समानता प्रतिको मान्यतालाई गिज्याउने गरेको छ ।
पछिल्लो एक साता एक अन्तरजातीय बिहे गरेका सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडी र त्यसमा गृहमन्त्री रमेश लेखकले खेलेको विवादास्पद भूमिकाबारे यतिबेला चर्को बिरोध र बहस छ । सडकमा र सदनमा समेत आवाज उठिरहेको छ । राम र नेहा माथि राज्यसंयन्त्रको दुरुपयोग गरेर अत्याचार गर्न निर्देशन दिने गृहमन्त्री लेखक र आइजिपी वसन्त कुँवरमाथि छानबिन गरी कारबाही गर्न संसद्मा आवाज उठेको छ । सडकका आन्दोलनकारीले कांग्रेस केन्द्रीय कार्यालयमै पुगेर गृहमन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन् । सत्येन्द्र र नेहाको विवाहलाई सर्वाेच्च अदालतले वैधानिकता दिइसकेको छ । तर, सत्येन्द्रविरुद्ध बालविवाहको मुद्दा जिल्ला अदालत सर्लाहीमा कायमै छ । प्रहरीबाटै असुरक्षित भएको भन्दै उनीहरू अझै भूमिगत बस्न बाध्य छन् । उसो त अन्तरजातीय बिहे गरेका धेरैले अप्रिय घटना बेहोर्नु परेका थुप्रै फेहरिस्त छन् । अन्तरजातीय विवाह विवादमा रुकुम पश्चिममा भएको नवराज विक सहित ६ जनाको अनाहकमा चार वर्षअघि ६ युवाको हत्या भएको थियो । स्याङ्जा किचनासका सञ्जीव नेपाली र पौवेगौडेका सोनम रेग्मीबिच विवाह भयो । तर, परिवारले अस्वीकार गर्दा युवकले सोनमको हत्या गरेर आफुले आत्महत्या गरे । एक वर्षअघि सप्तरीका मनोज राम र बबिता इसरले अन्तरजातीय विवाह गरेपछि उनीहरू सामाजिक अन्यायको सामना गर्न बाध्य भए । अन्तरजातीय विवाहका कारण सप्तरीका मनोज कारागार पु¥याइए । यद्यपी अदालतबाट न्याय पाए । सप्तरीको सुरुंगा नगरपालिका– ७ पोखरियाकी २० वर्षीया दलित युवतीले प्रेमविवाह अस्वीकार भएपछि आत्महत्या गरिन् । ताप्लेजुङमा एक युवाले आफ्नो अन्तरजातीय बिहे अस्वीकार गरेपछि बुबाआमाकै हत्या गरे ।
यी त प्रतिनिधि घटना भए, हामी र हाम्रो समाजमा यी र यस्ता अपराधजन्य घटना दैनिकजसो भइरहेको छ । हुन त नेपालको संविधान २०७२ मा छुवाछुत तथा भेदभावविरुद्धको हकलाई मौलिक हकअन्तर्गत राखिएको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐनअनुसार अन्तरजातीय विवाहमा रोक लगाउन पाइँदैन । तर, व्यवहारमा पटक–पटक समस्या आएका छन् । यतिसम्म कि अन्तरजातीय विवाह अस्वीकार हुँदा त्यसले अपराधसमेत निम्त्याउने गरेको छ । आजको समय र शताब्दीमा पनि अन्तरजातीय विवाहकै कारण ज्यान गुमाउनु पर्ने, समाज र राज्य दुवैबाट अन्याय र उत्पीडत खेप्नुपर्ने दुर्भाग्यपूर्ण कुरा हो । नेपाली समाजमा जति गणतन्त्र, परिवर्तनको कुरा गरे पनि परपम्परागत मनोसामाजिक र मनोसांस्कृतिक पक्ष समाजमा अझै जीवित छ । अहिले त्यो पहिले जस्तै ठ्याक्कै सिधा बिभेद नभए पनि परिवर्तित स्वरुप र घटनामा देखिएको छ । यसको पूर्णतः अन्त्यका लागि त मुख्य राज्य बिद्यमान ऐन, कानुन कार्यान्वयनका लागि दृढ हुनुपर्छ । साथै, विवाहका लागि उमेर, परिपक्वता त जरुर चाहिन्छ, यसबारे दुरदराज सम्म समानता, सम्बन्ध,जिम्मेवारीबारे शिक्षा, चेतना पु¥याउनु पर्र्छ ।