मलामी नपाएको एक दुर्दान्त दृश्य

सम्पादकीय
हुन त विगतको तुलनामा परिवर्तन र विकास क्रमशः फैलिँदो छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पछि यताको दुरदराजका गाउँहरुमा समेत सडक पूर्वाधार र विकास भित्रिएको छ । दुर्भाग्य भन्नुपर्छ, सार्वजनिक सेवा, अवसर र विकास बिस्तारै गाउँ पुग्दै गर्दा गाउँका मानिसहरु भने दैनिक जीवनयापन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीको खोजीमा शहर बजार र विदेश हिँडिरहेका छन् । जसका कारण गाउँघर बुढ्यौली लागेका ज्येष्ठ नागरिकहरुको आश्रम स्थल जस्तो बन्न थालेको छ । रोगब्याधी लाग्दा पनि अस्पताल सम्म समयमै उपचारका लागि लैजाने जमात पाउन निकै मुश्किल छ । अर्कोतर्फ परम्परा र अन्धबिश्वासको जगमा स्थापित जातिय छुवाछुत अझै बिद्यमान छ । गत शनिवार बैतडीको सिगास गाउँपालिका–१, अङडेगाडाका गाउँमा मृत्यु भएर मलामी नपाएको घटना र खबरले नेपाली समाज कुन अवस्थामा पुगिरहेको छ र पुग्दैछ भन्ने संकेत देखाएको छ ।

अङडेगाडाका प्रकाश दमाईं (टेलर)का आमाको मृत्यु भयो । शनिबार बिहान ११ बजेतिर ६१ वर्षीया मानाको मृत्यु भएको खबर गाउँभर पुग्यो । आङडेगाडामा झन्डै ६५–७० घरधुरी छन् । दमाईं जातिमा प्रकाशको एक घर मात्रै छ । गाउँले रातभर शव कुर्न शोक परेको घरमा उपस्थित पनि भए, तर शव छुन तयार भएनन् । प्रकाशको परिवार बसाइँ सरेर यहाँ आएपछि उनको घरमा मृत्युको घटना भएको यो पहिलो हो । बुबाआमाले बालिघरे प्रथामा गाउँमा कपडा सिलाउँदै आएकामा प्रकाश भने स्थानीय विद्यालयमा निजी स्रोतबाट जागिर खाइरहेका छन् । अन्य समुदायका मात्रै होइन, दलित समुदायकै अन्य जातका पनि शव छुन सम्म अगाडि सरेनन् । गाउँमा गैरदलितसँगै दलित समुदायकै विश्वकर्मा, नेपाली, लोहारलगायत जात पनि छन् । गाउँमा कोही शव उठाउन तयार नभएपछि कञ्चनपुरको महेन्द्रनगर र दोधाराचाँदनीबाट आफ्ना काकाका छोराहरू बोलाउन बिबश भएका छन् । ३५–३६ वर्षअघि बैतडीकै भूमेश्वर गाविस (हाल पाटन नगरपालिका)बाट यहाँ बसाइँसराइ आएको टेलर परिवारले मृत्युजस्तो शोकको घडीमा पनि मलामी नपाएर सामाजिक अन्याय भोग्नुपरेको छ ।

गाउँले यतिबेला युवा जनशक्तिको विदेश पलायनको मार त खेपिरहेको छ नै, यसमा समाजमा व्याप्त जातिय छुवाछुत जस्ता अन्धविश्वास र बेथितिको मार पनि उस्तै दुखद छ । सबै समुदाय र जातका बालबालिकाको भविष्य निर्माणका लागि खटिरहेका गाउँकै भूमिराज आधारभूत विद्यालयका शिक्षक रहेका प्रकाशको हालत त यस्तो दुर्दान्त अवस्थामा छ । आफ्नी आमाले प्राण त्याग्दा घाटसम्म शव पु¥याउन मलामी नपाएको खबरले सर्वत्र दुखित तुल्याएको मात्र छैन, समग्र नेपाल र नेपालीलाई झस्काइरहेको छ । त्यो पनि जात व्यवस्था, संकिर्ण सोचका कारण भएको खबरले अझै बढी लज्जाबोध बनाइरहको छ । गैरदलितले दलितको शव नछुने, मलामी पनि नजाने, अर्कोतर्फ दलितभित्र पनि अन्य जातिले दमाईं जातिको शव नछुने खराब प्रचलनको सिकार प्रकाश र उनको परिवार भएका छन् । आजको समय र समाजमा पनि जातीय विभेदकै कारण शव नउठेको हो भने त्यो ठुलो दुर्भाग्य हो । अब छुवाछुतका कारण मात्र होइन, तिब्र बसाई सराई र बैदेशिक रोजगारले पनि यही दुरावस्था आउने देखिन्छ । भोलिका दिनमा यी र यस्ता घटना, दुर्दान्त दृश्यहरु देख्न र भोग्न कुनै नेपालीले नपरोस्, तीन तहको सरकारले यसका लागि प्रयाप्त र प्रभावकारी कदम र अभियान चाल्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *