जलनको घटना, जनचेतना र उपचार

सम्पादकीय
पछिल्लो समय जलनका घटना बढ्दो छ । केही दिन अघि संघीय राजधानी काठमाडौंको कमलपोखरी स्थित शानदार मःम पसलमा गत माघ २३ गते ग्यासको सिलिन्डर विष्फोट भयो । विष्फोट पछि आगलागी हुँदा घाइते भएका १४ मध्ये चार जनाको उपचारका क्रममा मृत्यु भयो । केही दिन अघि गण्डकी प्रदेशको राजधानी पोखरामा पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भए । पोखरा रंगशालामा भएको कार्यक्रममा इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको छ । उनीहरु दुवैको काठमाडौं किर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

यो त पछिल्लो प्रतिनिधि घटना भए । केही समय अघिका जलनका घटना हेर्ने हो भने पनि उस्तै कहाली लाग्दा दुर्घटनाहरुका फेहरिस्त देखिन्छन् । ३ वर्ष अगाडि काठमाण्डूको बुद्धनगरस्थित आफ्नै घरमा आगोले पोलेर नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी गम्भिर घाइते भए । उनको शरीरमा ३० प्रतिशत भन्दा बढी जलन भयो । लामो समय भारतको मुम्बईमा उपचार पश्चात उनको उपचार त सफल भयो । तर, उक्त आगलागीमा परेर गम्भीर घाइते भएकी हरिकला भण्डारीको भने निधन भयो । अहिले उनी संसद र सडकमा जलनको उपचारका विषयमा आवाज उठाउँदै आएका छन् । ४ फागुन २०७६ मा घुर ताप्ने क्रममा जलेर घाइते भएकी पर्साको छिपहरमाई गाउँपालिका–५ भिश्वाकी ५० वर्षीया सायरा खातुनको ११ दिनपछि ज्यान गयो । जलनका बिरामीको अवस्था ५–६ दिनपछि मात्र जटिल बन्दै जान्छ । जलेको अंग समयसँगै पाक्दै जान्छ र विस्तारै संक्रमण सुरु हुन्छ । शरीरले पर्याप्त पानी नपाउँदा मुटुले शरीरका अंगमा रगत पठाउन सक्दैन । अप्रेशन गरेर नयाँ लगाएको छाला पनि राम्रोसँग लाग्दैन । छाला निकालिएको ठाउँमा घाउ निको हुँदैन । निमोनिया र अरू अंग फेल भएर मृत्यु हुन्छ । अहिले ७ वटै प्रदेशमा जलनको उपचार व्यवस्था भनिए पनि सामान्य उपचारका लागि समेत देशभरका बिरामी काठमाडौं नै आइपुग्नुपर्ने बाध्यता बिद्यमान छ । यस्ता सबैखाले उपचार हुने ठूला अस्पतालमा ५ देखि १० वेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौं नै रेफर गर्ने अभ्यास छ ।

आगो या बिष्फोटबाट हुने जलन नेपाली समाजको कहाली लाग्दो सामाजिक समस्याको रुपमा देखिएको छ । जलनका घटना एक पछि अर्को ठुलो जनधनको क्षति हुने गरी भइरहेको छ । विकसित देशको तुलनामा नेपालमा जलनका बिरामी मृत्युदर अधिक छ । विकसित देशमा जलन भएकामध्ये ३ प्रतिशतसम्म बिरामीको मृत्यु हुन्छ । तर नेपालमा १५ प्रतिशतको हाराहारीमा मृत्यु हुने गरेको छ । ठूलो घाउमा हुने संक्रमण, ढिलो अस्पताल आइपुग्नु, पर्याप्त मात्रामा छाला उपलब्ध नहुनु, बिरामीले प्राथमिक उपचार नै नपाउनु जस्ता कारण छन् । नेपाल सरकारको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी ६० हजार मानिसहरू जलनबाट बिरामी पर्छन् । यी र यस्ता भवितव्य र समस्या समाधानका लागि सबै ठाउँमा सुविधा सम्पन्न विशिष्टीकृत अस्पताल बनाउन स्रोत र जनशक्ति आवश्यक छ । दूर दराजमा जलनको प्राथमिक उपचार सुनिश्चित गर्न सक्यो भने त्यसले जलनको अप्रिय दुर्घटना र बेथिति रोक्न सकिनेछ । नेपालमा जनचेतनाको कमी र असुरक्षित कार्यवातावरणले जलनका घटना बढ्दो क्रममा छ । जलन सम्बन्धी जनचेतना अभिवृद्धि र प्राथमिक उपचारको ज्ञान समुदायस्तरसम्म पु¥याउन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *