मुक्कुम्लुङ, केबलकार विवाद र वार्ता

सम्पादकीय
पछिल्लो केही समय यता ताप्लेजुङ तनावग्रस्त छ । ताप्लेजुङ जिल्लामा पर्ने धार्मिक पर्यटकीय गन्तव्य स्थल पाथीभरासम्म पुग्ने केबलकार निर्माण गर्ने परियोजनाको विवाद उत्कर्षमा छ । केबलकारको काम अगाडि बढेपछि पवित्र धार्मिक स्थल ‘मुक्कुम्लुङ’को सभ्यता माथि प्रहार गरिएको भन्दै एक समूहले ‘नो केबलकार’ आन्दोलन चलाइरहेका छन् । उक्त आन्दोलन अराजक हुँदै जाँदा प्रहरीले प्रहरले दर्जनौ अश्रु ग्यास सहित गोली पनि चलाएको थियो । जसमा केही आन्दोलनकारी गम्भिर घाइते भएका थिए । त्यस यता पनि केबलकार निर्माणको पक्ष र बिपक्षमा आन्दोलन भइरहेको छ ।

स्थानीयको नो केबलकार अभियानमा पहिचान पक्षधरको साथ छ । यो अभियान र आन्दोलनलाई साथ समर्थन जनाउन काठमाडौं सहित बिभिन्न स्थानबाट पहिचान आन्दोलनका अगुवा नेता, कार्यकता मुक्कुम्लुङ पुगिरहेका छन् । अर्को तर्फ त्यहाँकै अर्को समूहले सद्भाव ¥यालीको नाममा केबलकारको पक्षमा प्रदर्शन गरे । केबलकार निर्माण भएपछि पाथीभरा ‘मुक्कुम्लुङ’को पहिचान मेटिने भन्दै पहिचानका पक्षधरहरू विरोधमा उत्रिएका छन् । अर्कातिर, स्थानीय नगरपालिकाका प्रमुख लगायत भने केबलकार निर्माणबाट पहिचान नमेटिने तर स्थानीय विकास र जनजीविकामा सकारात्मक योगदान हुने भन्दै परियोजनाका पक्षमा उभिएका छन् । केन्द्र सरकार मात्रै होइन, स्थानीय सरकार पनि निर्माणको पक्षमा अडिग रहेको देखिन्छ । सरकार, व्यवसायी जसरी पनि निर्माण गर्ने भन्नेमा दृढ रहने र कुनै हालतमा निर्माण गर्न नदिने अतिवादी अडानले मुक्कुम्लुङ लामो समयदेखि तनावग्रस्त छ । आन्दोलनकारी थप अराजक र आक्रोशित मुद्रामा देखिन थालेका छन् भने सरकार, प्रहरी प्रशासन पनि आन्दोलनलाई जबरजस्त दमन गर्नेमा उद्दत देखिन्छ । यही कारण सम्भावित घटना रोक्न स्थानीय प्रशासनले कफ्यु आदेश जारी गर्नुपर्ने अवस्था आएको छ ।

मुक्कुम्लुङ पवित्र धार्मिक र पर्यटकीय क्षेत्र हो । यो क्षेत्रको विकास हुनु राम्रै कुरा हो । तर, मुक्कुम्लुङ क्षेत्र, एक आस्थाको धरोहरको जे चिन्ता गरिएको छ, त्यो पनि नराम्रो कुरा होइन । यद्यपी, यही विषयलाई लिएर पक्ष बिपक्ष भएर झडपको अवस्था, निषेधाज्ञा जारी गर्ने अवस्था र अराजकता जे जस्तो परिदृश्य देखिएको छ, त्यो दुखद छ । आफ्नो समुदायको गौरव जोडिएको पवित्र स्थलको पहिचान र स्वच्छतामा आँच आउन नदिने स्थानीयहरूको चाहनालाई अस्वाभाविक वा अनुचित भन्नु अन्याय हुन्छ । अर्कातिर, आजको विज्ञान प्रविधिको युगमा केबलकार निर्माण गरिएका धार्मिक स्थलको महिमा बढेको र स्थानीय क्षेत्रको आर्थिक विकासमा योगदान पुग्ने यथार्थलाई पनि हामीले बोध गर्नुपर्छ । स्थानीयलाई अग्राधिकार दिने कुराको सम्मान, समुदाय र स्थानको विशिष्ट पहिचान जोगाउन परियोजना निर्माताले पनि प्राथमिकता दिनुपर्छ । केबलकार निर्माण गर्न र मुक्कुम्लुङको पहिचान तथा पवित्रता जोगाउन चाहनेहरू पक्षविपक्ष भन्दा एकअर्काका परिपूरक हो भन्ने कुरा दुवै पक्षलाई बुझ्ने बुझाउने मियो यतिबेला चाहिएको छ । यसका लागि सरकारले यथोचित कदम चाल्न जरुरी छ । जनतामा असन्तोष बढाएर राजनीतिक वा अन्य लाभ लिने तत्व पनि यी र यस्ता आन्दोलनमा घुस्छन्, यसमा सचेत हुनुपर्छ । सधैँ राज्य सत्ताको दमन या कफ्र्यु लगाएर आन्दोलन वा असन्तोष साम्य पार्ने नियत र प्रयास सही होइन । आन्दोलनरत सरकार, सम्बन्धित समुदाय र परियोजना प्रबद्र्धकका बीचमा सार्थक संवाद गरेरै यो विवाद हल गरिनु पर्छ । यसलाई जित हारको सवाल बनाउँदै जाने हो भने त्यसले अप्रिय घटना र अस्थिरता निम्त्याउने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *