‘मगर दिवस’को शुभकामना

सम्पादकीय
फाल्गनु १५ अर्थात् ४३ औं मगर दिवस । २०३९ साल फागुन १५ गते तनहुँको सदरमुकाम दमौलीमा नेपाल लाङ्घाली परिवार संघको स्थापना भएको दिनलाई नेपाल मगर संघले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । पहिले यसलाई केबल स्थापना दिवसको रुपमा मनाउँदै आएको भए पनि पछिल्लो समय भने यसलाई मगर समुदायको ठुलो पर्व उत्सवको रुपमा मनाइने गरिएको छ । मगर दिवसका अवसरमा पछिल्लो समय स्थानीय स्तरमा बनेका स्थानीय सरकारहरुले स्थान विशेष सार्वजनिक विदा समेत दिन थालेका छन् । गण्डकी प्रदेशको बागलुङ जिल्ला ताराखोला गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । ताराखोला मगर समुदायको अधिक बसोबास भएको क्षेत्र हो । गण्डकी प्रदेशकै तनहुँ जिल्लाका १० वटै पालिकाले सार्वजनिक बिदा दिएका छन् । स्थानीय बिदाअन्तर्गत फागुन १५ बिहीबारका दिन ४ नगरपालिका र ६ गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । अरु केही पालिकामा पनि सार्वजनिक विदा गरिएको छ ।

मगर समुदायको आन्दोलन र अभियानमा फागुन १५ को दिन महत्वपूर्ण स्मरणीय छ । पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते हजारौं मगर समुदायको उपस्थितिमा दमौलीमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई संघको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ । पछि २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लांघाली परिवार संघ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो । यस दिनलाई मगर दिवसका रुपमा अझ व्यापक रुपमा मनाउने प्रचलनले मगर समुदायको एकता र आवाजलाई बुलन्द पार्न मद्दत गरेको छ । हरेकवर्ष फागुन १५ अर्थात् मगर दिवसमा संघीय सरकारबाट नै सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको पूर्ण पालना गर्नुपर्ने माग मगर समुदायले गर्दै आएका छन् । यसका साथै मगर संस्कृति झल्काउने भेषभूषा, झाँकीसहित बृहत् ¥याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाच र विभिन्न परम्परागत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

मगर समुदायका लागि फागुन १५ केवल क्यालेन्डरमा उल्लेखित दिन मात्र होइन, यसले ऐतिहासिक महत्व र अर्थ राख्ने गरेको छ । २०७८ को राष्ट्रिय जनगणना अनुसार मगर समुदायको जनसंख्या २० लाख बढी छ । यो नेपालको कुल जनसंख्याको ६.९ प्रतिशत हो । यसमा पनि जिल्ला विशेष मगर समुदायको अधिक बसोबास भएका जिल्लाहरु थुप्रै छन् । मगर स्थापना दिवस या मगर दिवसको रुपमा फागुन १५ मनाउने प्रचलने मगर समुदायलाई एकताबद्ध हुन प्रेरित गरिरहेको छ । यद्यपि, यस्ता दिवसहरुमा मगर समुदायलाई मनोरञ्जनमा मात्र रमाउने गरेको आरोप छ । स्वभाविक उनीहरु चाडपर्व, दिवसहरुमा रमाउन पनि जानेका छन् तर, यसमै यस्ता दिवसहरुलाई सीमित भने बनाइनु हुँदैन । मगर समुदायका भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण सम्वद्र्धनका साथै समुदायको हकहित र अधिकारलाई राज्यको मूलधार र नीतिसँग जोड्न पनि यी र यस्ता पर्व, दिवसहरुलाई उपयोग गर्न सक्नुपर्छ । अन्त्यमा, मगर दिवसका अवसरमा सम्पूर्ण मगर समुदायमा हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्