सम्पादकीय
दुई दिन यता विश्व राजनीति तरंगित बनिरहेको छ । शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बिचको वार्तामा बाझाबाझ भए पछि तेस्रो विश्वयुद्धको भय एकारित छ भने अर्को तर्फ रुससँगको युद्धका लागि युक्रेनलाई उक्साएर अहिले अमेरिकाले आफ्नै देशमा निम्ता गरेर चरम अपमान गरेको छ । ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्काचर्की भएको लाइभ भिडियो विश्वभर भाइरल बनिरहेको छ । वार्तामा युक्रेन र अमेरिकाबीचको प्रस्तावित खनिज सम्झौता समेत असफल भएपछि ट्रम्प जंगिएका थिए । त्यसपछि उनीहरुबीच चर्काचर्की नै परेको थियो । ट्रम्पले जेलेन्स्कीलाई शान्तिका लागि तयार भएर मात्रै अर्को वार्तामा आउन भनेका छन् । ट्रम्प चर्को रुपमा प्रस्तुत भएपछि जेलेन्स्की बैठकको निर्धारित समयअघि नै बाहिरिएका थिए । दृश्यमा युक्रेनका राष्ट्रपति जेलेन्स्की चरम अपमानित भइरहेको देखिन्छ ।
दुई राष्ट्रपति बिचको दन्तबझान पछि अब के हुन्छ भन्ने सर्वत्र भय देखिएको छ । वार्ता तनावपूर्ण भए पछि अमेरिका–युक्रेन सम्बन्ध थप जटिल बनाएको छ । र, युक्रेनलाई अमेरिकी सैन्य सहायताको निरन्तरता पनि अन्योल भएको छ । यो बैठकमा युक्रेनसँग अमेरिकाले गर्न लागेको खनिज स्रोत सम्बन्धी सम्झौता मुख्य एजेन्डा थियो । जसबारे दुई देश बिच प्रारम्भिक सहमति पनि भएको थियो । यसलाई ट्रम्पले युद्धविरामका लागि पहिलो शर्तका रुपमा लिएका थिए । उसो त दुई नेताहरूबीच ओभल अफिसमा विवाद हुनुअघि पनि आपसी सम्बन्ध राम्रो थिएन । ट्रम्पले जेलेन्स्कीलाई यसअघि नै निरङ्कुशको सङ्ज्ञा दिइसकेका छन् भने युक्रेनले युद्ध थालेको पनि भनिसकेका थिए । जो बाइडनले सुमधुर बनाएको अमेरिका र युक्रेनबीचको गठबन्धन अहिले धुज्जाधुज्जा हुन पुगेको छ । यही पृष्ठभूमिका बिच सकारात्मक हुने ठानिएको बैठक तनावपूर्ण भयो । खनिज सम्झौता त अनिश्चित भयो नै, चर्काचर्कीसँगै दुई देशको सम्बन्धमा पनि गम्भिर संकट उत्पन्न भएको छ । अब यी दुई देशले लिने एक अर्का बिरुद्धको कदमले विश्व राजनीतिक कुन मोडमा पुग्छ भन्ने अहिले नै एकिन भन्न सकिने अवस्था छैन ।
युक्रेन त्यही देश हो, जो रुससँग युद्धमा होमिदा अमेरिकाले सैन्य लगायतका सहयोग उपलब्ध गराउँदै आएको थियो । छिमेकी देश रुससँग लड्न उसले शक्तिशाली देशको साथ सहयोगमा आफुलाई उभ्यायो । यद्यपि, अहिले अपमानित र लाचार अवस्थामा देखिने परिस्थिति पैदा भयो । यसमा अझै अमेरिकी राष्ट्रपति ट्रम्पले जेलेन्स्कीले वार्तामा बाझाबाझ गरेर अमेरिकाको अपमान गरेको जिकिर गरेका छन् । भनाभनको घटनापछि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जेलेन्स्कीले पनि युक्रेनले शान्ति चाहेको उल्लेख गरेका छन् । तर, ट्रम्प र जेलेन्स्कीबीचको वादविवादले उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका निम्ति गम्भिर सङ्कटलाई संकेत गरेको छ । युरोपेली राष्ट्रहरूको सुरक्षाबारे अमेरिकी प्रतिबद्धतालाई लिएर युक्रेनबाहिर थप आशङ्का र प्रश्नहरू खडा भएको छ । नेटोका साझेदारमाथि गरिने आक्रमण अमेरिकामाथि आक्रमण गरिए सरह मान्ने भनेर सन् १९४९ मा ह्यारी ट्रूम्यानले गरेको वाचालाई ट्रम्पले जारी राख्छन् वा राख्दैैनन् ? अब यसको असली परीक्षा सुरु भएको छ । यस घटनाबाट नेपालले पनि आफ्ना दुई छिमेकी देशसँगको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा सोच्नु र पहलकदमी लिन जरुरी छ । छिमेकी देशसँग सम्बन्ध चिसिनु या युद्ध हुनु र तेस्रो देशको क्षणिक साथ, सहयोग कुन बेला कस्तो अवस्थामा परिणत हुन्छ ? त्यो अमेरिका युक्रेन सम्बन्ध र वार्ता काफी छ ।