सम्पादकीय
तत्कालीन राजतन्त्रात्मक शासन व्यवस्था र पछिल्लो कालखण्डमा त्यसले गरेको शासन, अन्याय, अत्याचार र मनपरीतन्त्रको श्रृंखला बिर्सनलायक छ । २०० वर्ष भन्दा लामो बंशजकै आधारमा राज चलाइरहेका शाह बंशीय शासन सत्ताको जग त्यतिबेला हल्लियो, जतिबेला एकपछि अर्को जनताका अधिकार कुण्ठित गर्ने दुश्प्रयास भयो । अन्ततः ०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको बलमा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भयो र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भयो । सोही व्यवस्था अनुसार नेपालमा नयाँ संविधान जारी भयो । संविधानतः तीन तहको सरकार (केन्द्र, प्रदेश र स्थानीय तह) बन्यो । यो अभ्यास शुरु भएको वर्षौ भइसक्दा पनि नागरिकको अपेक्षा अनुसार कार्य नभए पछि जनतामा असन्तुष्टि र आक्रोश बढ्दै गएको छ ।
जनतामा वर्तमान सरकार, राजनीतिक दल, तिनका नेताहरु प्रति तीव्र घृणा, असन्तुष्टि, चरम निराशा र आक्रोश कुन हदमा बढिरहेको छ भन्ने हेर्न आइतबार संघीय राजधानी काठमाडौंमा राजावादीको प्रदर्शन काफी छ । पश्चिम क्षेत्रको भ्रमण पश्चात पोखराबाट काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समर्थकहरूले भव्य स्वागत गरे । विमानस्थलको मुख्य गेटमा जम्मा भएका समर्थकहरूले “फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल” जस्ता नारा लगाए । पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गर्न भ्याए । समर्थकहरूले शाहलाई सडक यात्राकै क्रममा पनि फूल, माला र खादाले स्वागत गरे । समर्थकहरूको प्रदर्शनका कारण विमानस्थल आसपास, सिनामंगल, तिनकुने, गौशाला, चाबहिल लगायतको यातायात व्यवस्था दिनभरजसो प्रभावित भयो । अस्तव्यस्त ट्राफिक व्यवस्थाका कारण काम विशेष र गन्तव्य तर्फ हिँडेका जनताले भने चर्को सास्ती र सकस भोग्नुप¥यो । यो प्रदर्शनसँगै नेपाली राजनीति र समाज तरंगित भएको छ । आमसञ्चार माध्यम, सामाजिक सञ्जालहरुमा पूर्व राजाको पक्ष र विपक्षमा वादविवाद भइरहेको छ ।
पूर्वराजाको भ्रमण पश्चातको आगमन, राजावादीको व्यापक समर्थनले उनीहरु स्वभाविक रुपमा उत्साहित देखिएका छन् । यसबाट नेपालको संसदको दुई ठुला दल मिलेर बनेको सरकार मात्र झस्किएको छैन, प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दल र नेताहरु पनि भयग्रस्त देखिएका छन् । यो सत्य हो कि नेपालमा राजतन्त्रात्मक शासन व्यवस्था सबै राजनीतिक दल मिलेर जनताकै अपार साथ समर्थनकै जगमा सधैंका लागि अन्त्य गरिएको घोषणा गरिएको हो । तर, त्यसपश्चात पालैपालो सत्ताको बागडोर सम्हालेका राजनीतिक दल र तिनका नेताहरुले जनता र देशको हितमा जनअपेक्षा अनुसार काम गर्नु भन्दा पनि आफु र आफ्नो समूहको स्वार्थ पुर्ति गर्ने खराब नियत राख्दा त्यसकै फस्टेसन अहिले आम नागरिकमा देखिएको छ । यसबाट गणतन्त्र नै खतरामा प¥यो या पर्छ भन्ने हतारो गर्नु हुँदैन । त्यो बेलाको राजतन्त्रको निरकुंशतामा आफ्नो कुरा राख्दा पनि अंकुश थियो भने गणतन्त्रको सुन्दर विशेषता नै यही हो कि यो व्यवस्थामा सबैले बोल्न, मन लागेको गर्न पाउँछन् । यसो भन्दैमा अराजकता निम्त्याउन पनि पाउने भन्ने होइन । यदि पूर्वराजालाई शासन सत्ताको भोगको रहर छ भने अहिलेका राजनीतिक दलहरुले भने जस्तै उनी राजनीति दल खोलेर आउनु पर्छ । सरकार र राजनीतिक दलहरु फेरि पूर्वराजालाई सरापेर तर्सेर होइन, सच्चिएर अघि बढ्न जरुरी छ । अन्यथा समयको हुरीले भोलिको परिदृश्य जे जस्तो पनि आउन सक्ने नजर अन्दाज गर्न सकिदैन ।