फागु अर्थात् होलीको शुभकामना

सम्पादकीय
फागु अर्थात् होली रङहरुको पर्व । सामुदायिक विविधताले भरिएको नेपाली समाज विविध किसिमले अत्यन्तै उत्सवधर्मी छ । त्यस्ता अनेक उत्सव मध्येको एउटा रंगिलो र रमाइलो उत्सव या पर्व हो होली । एकआपसमा रङ र खुशी साटासाट गरेर मनाइने फागुपूर्णिमा अर्थात् होलीको नेपाली समाजमा भिन्नै रौनकता हुन्छ । अरु पर्व भन्दा यस पर्वको विशेषता अलि पृथक किन पनि छ भने होली नेपालमा दुई दिन मनाइन्छ । त्यो पनि पहाडी तथा हिमाली जिल्लामा अघिल्लो दिन (बिहीवार) र तराई क्षेत्रमा त्यसको भोलिपल्ट (शुक्रवार) मनाइदैछ । सोही अनुसार सरकारले पहाडी तथा हिमाली क्षेत्रमा आज र तराइ क्षेत्रमा भोली सार्वजनिक विदा दिएको छ । फागु पर्व प्राचीनकालमा एक दिन मात्रै मनाइने गरेको उल्लेख छ । पहाडको फागुबारे मधेसकाले थाहा पाएका र मधेसको फागुबारे पहाडकाले जानकारी पाएपछि केही वर्षयतादेखि दुवै दिन पर्व मनाउन थालिएको छ । हाल नयाँ पुस्ताका अधिकांशले दुवैतर्फ दुवै दिन पर्व मनाउने गरेका छन् । उसो त होली आउनु अगावै हिजो अस्ती देखि नै रङहरु लगाएर रमाइलो गर्ने क्रम सुरु भइसकेको छ ।

फागु (होली) पर्व विशेषतः नेपाल र भारतमा बसोवास गर्ने हिन्दू धर्मालम्बीको प्रमुख एवं प्राचीन पर्व हो । रङहरूको पर्व होली असत्यमाथि सत्यको जीत, निष्ठा र आत्मीयताको प्रतीकको रूपमा लिइन्छ । हिन्दू संस्कृति अनुसार त्रेतायुगमा भगवान् विष्णुका परमभक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकशिपूका पुत्र प्रह्लादलाई उनकी फुपू होलिकाले दाजु हिरण्यकशिपूको योजना अनुसार जालझेल, छल, कपटपूर्ण तरीकाले आगोमा भष्म पार्न लाग्दा प्रह्लाद सकुशल रहेको तर होलिका आफैं आगोमा भष्म भएको कथन छ । असत्य पक्षधर होलिका दहन भएको दिनको सम्झनामा होली पर्व मनाउन शुरू भएको मान्यता छ । यो पर्वपछि वसन्त ऋतुको आगमन हुने हुँदा प्रकृति सूचकको रूपमा पनि यस पर्वको विशेष महत्व रहँदै आएको छ । यद्यपि, होली पर्व मनाउने क्रममा आधुनिकतासँगै विकृतिहरू भित्रिने र परम्परागत मौलिकतालाई मेट्ने क्रम पनि बढिरहेको छ । तराई–मधेसकै कुरा गर्दा होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै गएको छ । फागु आउनु १५ दिनअघिदेखि गुञ्जिने यो फागु विशेष गीत अहिले सुनिन छोडेको छ । यस पर्वमा रौनकता ल्याउने लोकबाजाहरू आजभोलि बज्न छोडेको छ ।

चाडपर्व, संस्कृति तथा परम्परा मानव सभ्यता र समुदायको पहिचान हो । जसले नेपाली समाजमा आफ्नो साँस्कृतिक महत्व र दायरा फराकिलो बनाउँदै लगेको छ । नेपाली जनसमुदाय विशेषले मनाउने गरिएका धेरैजसो चाडपर्व सम्पूर्ण नेपाली जनसमुदाय र सिंगो समाजकै चाड पर्वको रूपमा विकसित हुदै गएका छन् । यो जनसमुदाय बीचको बढ्दो सह–भाव तथा विज्ञान र प्रविधिको विकासले गर्दा समेत सम्भव भएको हो । ‘को मधेसी, को पहाडी, सबै नेपाली’ भन्ने भावका साथ आत्मीयता, हार्दिकता साटासाट गर्ने पर्वको रूपमा होली पर्व विकसित भइरहेको छ । तर, बिडम्बना भन्नुपर्छ, यो सँगसँगै केही बेथिति र बिकृत पक्षहरु पनि देखिरहेको छ । अबीरको ठाउँमा लोला हान्ने, फोहोर छ्याप्ने, रिसइबी साध्ने, मदिरा सेवन गरेर समूह समूहमा झैझगडा गर्ने लगायतका घटना र प्रवृत्ति पनि देखिएको छ । यी र यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्दै सत्य, न्याय, एकता र आत्मीयता बाँड्दै समाजलाई थप रंगीन बनाउन अग्रसर हुन फागु पर्वले सबैलाई प्रेरित गर्न सकोस्, फागु अर्थात् होली पर्वको हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

preload imagepreload image