स्ववियुमा निर्वाचित विद्यार्थीलाई हार्दिक बधाई

सम्पादकीय
विद्यार्थीहरुको साझा संगठनको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन धौलागिरीमा यसपटक नियमित तालिकामै सम्पन्न भयो । जबकि देशभरका त्रिवि अन्तर्गतको ६४ क्याम्पसमा निर्वाचन हुनुपथ्र्यो । त्रिविले निर्धारित गरेको चैत्र ५ मा ३८ वटा आंगिक क्याम्पसमा मात्र शान्तिपूर्ण रुपमा चुनाव भयो । नभएका क्याम्पसमा भिन्न भिन्न मितिमा निर्वाचन गर्ने तय भएको छ । कतिमा भने बिरोध, आन्दोलन र तालाबन्दीले अनिश्चित छ । त्रिविका १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सम्बन्धन प्राप्त कति क्याम्पसमा चुनाव भएको भन्ने बारे विवरण संकलन भइरहेको जनाएको छ । यद्यपि, विद्यार्थी संगठनहरुले भने आ–आफ्नै जित संख्याको दाबी सहित समाचार र सन्देश प्रवाह गरिरहेका छन् । धौलागिरीमा अघिल्ला स्ववियु निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा फरक खालको नतिजाहरु आएका छन् । जसले विद्यार्थीको बदलिँदो अभिमत प्रकट भएको आभाष भएको छ ।

धौलागिरीको सन्दर्भमा कुरा गर्दा एक मात्र यस क्षेत्रको आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसको अध्यक्षमा अखिलको संयुक्त प्यानलबाट आस्मिन शेख विजयी भइन् । शेखले नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यलाई ५ सय ५२ मतका साथ ६१ मतले पराजित गर्दै इतिहास रचेकी छिन् । उनकी प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यले ४ सय ९१ मत ल्याइन् । उम्मेदवारी फिर्ता नभए पनि संघकी आचार्यलाई अन्तिम समयमा समर्थनको घोषणा गरेका स्वतन्त्र समूहका दीपक सुवेदीको ७ मत पाए । अरु पदाधिकारी र सदस्यमा भने मिश्रित नतिजा आयो । जहाँ अहिले अखिल संयुक्तबाट शेख निर्वाचित भइन्, त्यहाँ पछिल्लो दुई दशकदेखि नेपाल विद्यार्थी संघले एकछत्र बिजयी हासिल गर्दै आएको थियो । यसपटक अखिलका तर्फबाट नेवि संघको बिरासत त तोडिन् नै, अहिले सम्मको धवलागिरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनकै इतिहासमा पहिलो पटक महिला अध्यक्ष÷सभापति बनेर इतिहास लेखिन् । उता छिमेकी जिल्ला म्याग्दीमा म्याग्दी बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुको लामो बिरासत भत्काएर नेपाल विद्यार्थी संघका संगम चोखाल क्षत्रीले बाजी मारे । अरु पदाधिकारीमा भने अखिल र सदस्यमा मिश्रित नतिजा आयो । बागलुङकै गलकोट बहुमुखी क्याम्पसमा पहिलेको नेवि संघले जितेको इतिहास बदलेर नेवि संघ, अनेरास्ववियु र अखिल छैठौको प्यानल बिरुद्ध अखिल क्रान्तिकारीले जित हासिल ग¥यो । सर्वोदय क्याम्पस बरेङमा भने अखिल छैठौ निर्विरोध जित हासिल गरेको छ । पर्वतको क्याम्पसहरुमा भने निर्वाचन भएन ।

पहिलो स्ववियु निर्वाचन निर्धारित समयमै बनाउनु या हुनु नै एक महत्वपूर्ण सफलता हो । यसले लोकतन्त्रलाई थप मजबुत बनाउँछ । दोस्रो नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघले पछिल्लो दशक यता लगातार जित हासिल गर्दै आएको धौलागिरी क्याम्पसमा यसपटक अखिलले आफुलाई अब्बल रुपमा प्रस्तुत गर्दै नेतृत्व हात पार्न सफल भएको छ । त्यसमा पनि महिला र मुस्लिम समुदायबाट विद्यार्थी राजनीतिमा सक्रिय भएर पेचिलो प्रतिस्पर्धामा जित निकालेर इतिहास बनाउनु शेखका लागि सुखद र गर्विलो कुरा हो । क्याम्पसहरुमा विद्यार्थी रित्तिने क्रम बढिरहेका बेला क्याम्पस प्रशासन मात्र होइन, स्ववियुको भुमिका अझ प्रभावकारी बनाउनु पर्ने चुनौती छ । शेख सहित अहिले धौलागिरी र देशभरबाट निर्वाचित स्ववियु पदाधिकारी, सदस्यले विद्यार्थी हकहित र शैक्षिक गुणस्तर अभिबृद्धि गर्नमा कस्तो भुमिका खेल्नेछन् ? त्यसले उनीहरुको योग्यता, नेतृत्व क्षमता र कौशल बल्ल देखिनेछ । चुनावबाट शानदार जित हासिल गरेर आएका अहिलेका सबै स्ववियु पदाधिकारी, सदस्य सहितको टिमले कार्य भुमिका पनि शानदार निर्वाह गर्न सकुन्, अहिलेलाई बिजयी हासिलका लागि हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *