सम्पादकीय
अहिलेका गैरदलित समुदायका धेरैले भन्छन्, पहिले जस्तो जातिय बिभेद अहिले कहाँ छ र ? अब बिभेदको कुराकानी, बहस गर्न हुँदैन । यसबारे विषय÷सवाल उठान गरेर नयाँ पुस्तालाई थाहा दिनै हुँदैन । उनीहरु सबैलाई समान ठानिरहेका छन् । सुन्दा राम्रो जस्तो लागे पनि समाजको अवस्था भने त्यस्तो सुन्दर र सरल छैन । सिराहाको पछिल्लो बिभेदको कहाली लाग्दो घटनाले आजको समाज पनि कहाँ र कुन अवस्थामा छ भन्ने झल्काउँछ । पवित्र विष्णु महायज्ञ आयोजनाका लागि दलितको घर भत्काएको घटना सार्वजनिक छ । महायज्ञका लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाएर माटो ताछेर फ्याँकिएको छ । महायज्ञ मूल आयोजक समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष शिवजी यादव र औरही– ५ का पूर्ववडाध्यक्षसमेत रहेका समितिका सचिव दिलीपकुमार यादवको उपस्थितिमा १० फागुनमा दीपक मल्लिक (डोम)को घरमा जेसिबी चलाइएको थियो । महात्यागी भनिने बजरंगी बाबाको निर्देशनमा घर भत्काइएको थियो भने घरले चर्चेको जग्गाको माटोसमेत ताछेर फ्याँकिएको छ । घटनाको सर्वत्र बिरोध भइरहेको छ ।
महायज्ञका लागि उत्पिडित समुदायको घर नै भत्काएको दुखद घटना त छँदैछ, अझ त्यसमा घटनाको तथ्य तोडमोड गर्न औरही गाउँपालिका संयन्त्र नै लागेको खबर बिडम्बनापूर्ण छ । घटनाको विरोध भएपछि त्यसको भोलिपल्ट अर्थात् ११ फागुनको मिति राखेर ६ चैतमा मात्र दीपकको फर्जी मन्जुरीनामा गराइएको छ । उनकी पत्नी अनितादेवी मल्लिक र छोराछोरीलाई बिहीबार महायज्ञस्थल नजिकै रहेको पक्की घरमा राखेर धाकधम्की दिँदै ‘राजीखुसीले म आफैँ अन्यत्र गएको’ भन्न लगाएको भिडियो सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्षले नै घर भत्काउँदासमेत उनीहरूले यसअघि खुलेर विरोध गर्न सकेका थिएनन् । दीपकको घर रहेको जग्गा ऐलानी हो । तर, मधेश प्रदेश सरकारले दुई वर्षअघि मात्र जनता आवास कार्यक्रमअन्तर्गत बनाइदिएको थियो । डोम घरसँगै थप पाँचवटा घर छन्, जुन अहिले पनि त्यहीँ छन् । तर, डोम परिवारलाई मात्र त्यहाँबाट हटाएर छेउमै महाकाल र हनुमानको मूर्ति बनाइँदै छ । यस घटनामा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमतका पार्टीका पालिका अध्यक्ष दिलीपकुमार यादव पक्राउ परेका छन् । जसपा नेपाल जिल्ला सदस्यसमेत रहेका शिवजी १७ चैतदेखि आयोजना हुने भनिएको विष्णु महायज्ञ आयोजक समितिका अध्यक्ष पनि हुन् भने दिलीप समितिका सचिव हुन् ।
सिराहामा पवित्र उद्देश्यका लागि आयोजित धान्याञ्चलमा जे भयो, त्यो दुखद मात्र छैन, सर्वथा भत्र्सनायोग्य छ । आजको २१ औं शताब्दीमा पनि यी र यस्ता घटनाहरु हुनु, त्यस्ता गैरकानुनी र आपराधिक कार्यमा जिम्मेवार, शिक्षित र सचेत व्यक्तिहरु नै संलग्न हुन र उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुको बदला सत्ता र शक्तिको आडमा संरक्षण गरिनु दुर्भाग्यपूर्ण छ । अहिले घटनाको समाचार राष्ट्रिय सञ्चार माध्यमहरुमा समेत सार्वजनिक भए पछि सडकदेखि संसदसम्म बिरोधका आवाज उठिरहेको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल प्रभावकारी कदम चाल्न नसकेको भन्दै गृहमन्त्रालय तानिएका छन् । घटनामा संलग्नमाथि जातीय छुवाछुत र विभेद तथा घर तोडफोड गरी विस्थापन कसुरमा जाहेरी दिने तयारी छ । यसमा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण सहित सुरक्षा र रोजीरोटीको ग्यारेन्टी गर्न निर्देशन दिएको छ । प्रथमतः दोम परिवारको भौतिक सुरक्षा, पेशागत सुरक्षा सुनिश्चित गर्नुपर्छ । दोस्रो, बिभेदमा संलग्नलाई संरक्षण होइन, कानुन अनुसार कारबाही गरिनुपर्छ ।