सम्पादकीय
एउटा पैसा कहिलेलाई, चैते दसैंलाई, चैतेदसैं बागलुङे मेलैमा, माया बस्यो ख्यालख्यालैमा लगायतका चैत्राष्टमी मेला सम्बन्धी गीत नेपाली लोक संगीतमा चर्चित गीत हो । यी र यस्ता गीत या कथाहरुले चैते दसैं, त्यस समय र समाजमा कति महत्वपूर्ण सामाजिक र धार्मिक पर्व, सन्दर्भको कथा बोलेको छ । यी गीत चर्चित र जिवन्त हुनुको कारण बागलुङ जिल्ला, यहाँको प्रसिद्ध कालिका भगवति मन्दिर परिसरमा लाग्ने ऐतिहासिक चैते दसैं मेला हो । जसले हरेक वर्ष यी गीतहरुलाई ताजा र जिवन्त बनाइरहन्छ । बागलुङ र चैते दशैं मेला एक अर्काका पर्याय जस्ता बनेको छ । यसलाई बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले हरेक वर्ष आयोजना र व्यवस्थापन गरेर नितरन्तरता, संरक्षण र सम्बद्र्धन गर्दै आएको छ । धेरै ठाउँमा लाग्ने यस्ता ऐतिहासिक परम्परागत मेला, मौलिकताहरु लोप भइसकेका छन् । तर, बागलुङमा लाग्ने यो मेलाले भने अहिले सम्म निरन्तरता पाइरहनु सुखद पक्ष हो ।
बागलुङ र धौलागिरी क्षेत्रकै सबै भन्दा ठुलो पर्वको रुपमा स्थापित थियो चैते दसैं । जुन परम्परागत मेलामा रेरे, यानीमाया, सालैजो, दोहोरी गीत गाउने, रम्ने रमाउनेको भिड लाग्थ्यो । घरेलु उत्पादनको खरिद–बिक्री पनि उस्तै व्यापक हुन्थ्यो । चैते दसैं पर्वमा हुने जमघटले यस्तो मानक खडा गरेको थियो कि भौगोलिक दुरीका हिसाबले दुरमा भएकाहरुको यही बेला भेट हुने बाचा हुन्थ्यो । देशभरबाट मेलाको अवलोकन तथा कालिकाको पूजाका लागि भक्तजन आउने भएकाले मेलालाई विशेष पर्वका रुपमा लिने गरिएको छ । चैतेदसैंको प्रतिपदादेखि रामनवमीसम्म ५ लाख भक्तजन तथा आन्तरिक पर्यटक आउने अनुमान छ । तर, आज समय बदलिएको छ, मानिसहरु भेट हुन भौगोलिक दुरीले उति धेरै अर्थ राख्दैन । भर्चुअल दुनिया, सडक सुविधा लगायतका कारण सिंगो विश्व एउटा ग्लोबल भिलेज जस्तो बनिरहेको छ । यसले हाम्रा चाडपर्वहरुको दायरालाई पनि खुम्च्याउँदै लगेको छ । र पनि मेलामा ग्रामीण किसानले उत्पादन गरेका काठ, बाँस र बेतबाट बनाएका सामानको बिक्री गर्ने चलन आज पनि छ । ठेका, डाला र नाङ्ला किन्न पाइने भएकाले गाउँगाउँबाट आइरहेका छन् । यसका बाबजुद पनि चैते दशैंको त्यो पुरानो थुप्रै मौलिकताहरु भेटिन देखिन छोडेको छ ।
चैते दसैं बागलुङको मौलिक परम्परा हो, बडा दसंैको एउटा प्रतिबिम्ब चाड हो । .यस पर्वको महत्वबोध गरेरै गण्डकी प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक विदा दिँदै आएको छ । यसवर्ष रामनवमीको अवसरमा संघीय सरकारले सार्वजनिक विदा दिएको छ । बागलुङको चैते दसैं रंग रमाइलोमा मात्र सीमित थिएन । कुनै बेला कैयन महिना, दिनलाई व्यापार, व्यवसायबाट खर्च जोहो गर्ने पर्व पनि थियो । सांस्कृतिक विविधता, मौलिक कला, संस्कृतिको संरक्षण, पुस्तान्तरणका हिसाबले अनुपम समय र क्षण थियो । त्यसमा अहिले उल्लेख्य ह्रास आएको छ । अब पहिलेकै जस्तो मेला, मौलिकता खोजेर सम्भव छैन । अब समय सापेक्ष रुपमा चैते दसैंको निरन्तरता सँगै मेलाको व्यापकता, समसामयिकता, कार्यक्रमको बिबिधता, व्यापार, पर्यटन लगायतका अनेकन आयामका बारेमा पनि जिल्लाबासीका बीचमा चिन्तन, बहस हुन जरुरी छ ।