सम्पादकीय
सामाजिक सञ्जाल आजको अपरिहार्यता त हुँदै हो । यसको प्रयोग बिना मानिसहरुको जीवन दैनिकी सोच्न समेत मुश्किल हुने जमाना आएको छ । पछिल्लो एक दशकमा सूचना प्रविधिको क्षेत्रमा नेपाली समाजमा उल्लेख्य उभार आएको छ । सञ्चार क्षेत्रमा आम जनताको पहुँच जबर्जस्त स्थापित हुन पुग्नु पनि यसको सकारात्मक पक्ष नै हो । इन्टरनेट प्रविधिको माध्यमद्वारा आफ्ना विचार वा सिर्जनशीलता आदानप्रदान गर्न सामाजिक सञ्जाल वरदान बनेको छ । सामाजिक सञ्जालले विश्वभरका मानिसहरुको जीवनमा यति सहज र सरलता ल्याइदिएको छ कि सिंगो विश्व ग्लोबल भिलेज जस्तो बनेको छ । फेसबुक, ट्वीटर, टिकटक, युट्युव, इन्स्टा लगायतका सामाजिक सञ्जाल यति शक्तिशाली बनेको छ कि आजका मुलधारका आम सञ्चार माध्यम भन्दा शक्तिशाली देखिन्छ । अहिले पहिले जस्तो सञ्चार प्रवाहका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकाको भर परिरहनुपर्ने कुनै जरुरत छैन । अहिले त जसले जुनसुकै बेला कुनै पनि घटना र समाचारलाई विश्वभरि फैलाइदिन शक्ति र सामथ्र्य हरेक नागरिकको हात हातमा पुगेको छ । खासगरी फेसबुक र ट्वीटरले यस किसिमका सुविधा उपलब्ध गराएको छ ।
सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगका विषयमा लामो समदेखि बहस र विवाद छ । यसको स्वतन्त्रता र नियमनका विषयमा पनि उस्तै मतभिन्नताहरु छन् । सामाजिक सञ्जालको यथेष्ट उपयोग मात्र होइन, यसको दुरुपयोगले सकारात्मक भन्दा नकारात्मक विचार प्रवाह हुने र त्यसले समग्र समाजलाई अनैतिक र भ्रष्ट बनाउने खतरा बढेको छ । यसको दुरुपयोग बढ्दै गयो भने ठूला ठूला दुर्घटना पनि हुनसक्ने सम्भावना रहन्छ । पछिल्लो समय सामाजिक सञ्जालहरुमा जसले जे लेखे पनि, बोले पनि हुने भाष्य स्थापित भएको छ । हालै काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनका क्रममा ललितपुर महानगरपालिका २७ बस्ने वर्ष ५३ को कमल कुमार विष्टलले नेपाललाई श्रीलंका र बंगलादेश जस्तो बनाउने अभिव्यक्ति दिए । अहिले विष्टलाई पक्राउ गरी आपराधिक उपद्रव कसूरमा २० दिनको म्याद थप गरेको छ । यसरी बोल्ने उनी पहिलो र एक्लो व्यक्ति होइनन्, सामाजिक सञ्जाल केही समय मिलाएर हेरे काफी थाहा हुन्छ कि त्यो कति निच स्तर र कुरुपतामा झरेको छ । यस्तो लाग्छ कि सामाजिक सञ्जाल नकारात्मक विचार, पूर्वाग्रह र प्रतिशोध साँध्ने स्थल हो ।
सामाजिक सञ्जाल मानिसहरुको आधुनिक समय अनुसारको जीवनशैली बनेको छ । यसको दुरुपयोग हुने खतरा र सचेतनाका लागि आवश्यक अभियानका बारेमा अब छलफल बहस केन्द्रित हुनुपर्छ । हात–हातमा मोबाइल र इन्टरनेटको सहज उपलब्धताले गर्दा जनसंख्याको ठूलो हिस्सा सूचना प्रणालीमा जोडिएको छ र यसले सामाजिक सञ्जालमा समेत पहुँच राख्छ । हरेक पेसा र क्षेत्रका व्यक्तिले प्रयोग गर्न सकिने सरल र सहज प्रविधि भएकोले अहिले यस बिना जीवन दैनिकी असम्भव प्रायः छ । यद्यपि, सञ्जालको सूचनाको विश्वसनियता र तटस्थता माथि अनगिन्ती प्रश्न र संशयहरु छन् । सामाजिक सञ्जालको तीव्र प्रयोग र प्रभावबाट समाजमा सकारात्मक परिणामका असल उदाहरण प्रस्तुत गर्ने काम पनि युवा पुस्ताले गरिरहेको देखिन्छ र यसको गलत उपयोगले निम्त्याएको परिणाम पनि समाजमा देखिरहेको छ । तसर्थ, अब सामाजिक सञ्जालको अराजकताले सडक र संसदहरुमा पनि सोही खालको अराजक प्रवृत्ति हाबी हुन थालेको छ । यसले बेथिति व्याप्त बनाएको छ । अब हरेक सामाजिक सञ्जाल प्रयोगकर्ता जिम्मेवार बन्न जरुरी छ । सामाजिक सञ्जालमा कुनै कुरा पोस्ट गर्नुअघि हरेक व्यक्तिले गम्भीर भएर सोच्नु आवश्यक छ । सामाजिक सञ्जाललाई विज्ञानको वरदानका रूपमा सदुपयोग गरेमा संसारमा सकारात्मक परिवर्तन आउने छ भने दुरुपयोग अहिलेकै रफ्तारमा बढ्दै गए अकल्पनीय दुर्घटना निम्तिने निश्चित छ ।