सरकार बदल्ने कि शैली ?

सम्पादकीय
अहिले फेरि नेपालमा बेमौसमी सरकार फेरबदलको हावा चल्न थालेको छ । उसो त मुलुकमा कुन बेला कसको चलखेल र स्वार्थले सरकार बन्छ र ढल्छ, कुनै एकिन गर्न सकिने अवस्था छैन । खासगरी नयाँ वर्षको शुरुवात सँगै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष–२०८२ मा नयाँ सरकार बन्ने बताए पश्चात नेपाली राजनीति तरंगित बनिरहेको छ । यसलाई सत्तारुढ दलका नेताहरुले माओवादी र प्रचण्डको सत्ता मोह र बाहिर रहँदाको छटपटाहटको रुपमा टिप्पणी गरेका छन् । यद्यपि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै नजाने बताउन थालेको पनि धेरै भइसक्यो । प्रधानमन्त्री ओलीले ‘सरकार ढल्दैन’ भन्नु र प्रचण्डले ‘सरकार धेरै चल्दैन’ भन्नु सार्वजनिक भाषणका अनिवार्य विषय बनिसकेका छन् ।

प्रचण्डको पछिल्लोको अभिव्यक्तिको अन्तर्य के हो त ? यसको पछाडि के सत्ता बाहिरको छटपटाहट मात्रै छ त ? यसमा बिभिन्न कोणबाट हेर्नुपर्ने हुन्छ । राजावादी आन्दोलनविरुद्ध नेकपा एमाले सडक प्रदर्शनमा उत्रिनुपर्ने परिस्थितिलाई प्रचण्डले सरकार सञ्चालनको असहजतासँग जोडेका छन् । सरकारको खेलमा नअल्मलिने घोषणा गरेका प्रचण्डले केही समय नबित्दै वर्तमान सरकार धेरै नजाने बताउन थालेका छन् । उनको दाऊ भने ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउनु रहेको लुक्दैन । जसका निम्ति प्रचण्डले गत माघ पहिलो साता विपक्षीहरूको ८० सांसद आफ्नो साथमा उभिन तयार रहेको सन्देश नै दिएका थिए । निकट विगत हेर्दा पनि प्रचण्डमा लामो समय विपक्षीमा बस्ने धैर्यता देखिदैन । अर्को तर्फ कांग्रेसका संस्थापन इतर नेताहरूसमेत प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका बेला प्रचण्डको सार्वजनिक अभिव्यक्तिलाई चासोकै साथ हेरिएको छ । कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला र उनी पक्षीय नेताहरुले यसअघिबाटै सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । केही समय यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत सरकारले अपेक्षित काम गर्न नसकेको टिप्पणी गर्न थालेका छन् । केही दिन अघिको एक अन्तर्वार्तामार्फत् पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको विकल्पमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सकिने बताएका थिए । यद्यपि सार्वजनिक अभिव्यक्तिकै कारण वर्तमान सरकार संकटमा पर्दैन । यसका लागि त अहिलेको सत्ता साझेदार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीचको सम्बन्धमा समस्या आउनु पर्छ । अहिले दुबै नेताको बुझाई र गठजोड एकै छ ।

हुन त अहिलेको सरकार स्थायित्व र समृद्धिको नारा सहित बनेको हो । संसदका दुई ठुला दल मिलेर सरकार बनाउँदा अस्वभाविक जस्तो देखियो पनि । यद्यपि, राजनीतिक स्थायित्व र समृद्धिको सवाल जे भनिएको थियो, त्यस हिसाबले अपेक्षित पनि थियो । दुर्भाग्य भन्नुपर्छ, दुई ठुला दलको प्रष्ट बहुमतको सरकार हुँदा पनि सरकारले यथेष्ट रुपमा काम गर्न सकिरहेको छैन । जनतामा निराशा र आक्रोश बढ्दो छ । यसको बदलामा सरकार फेर्नु नै अहिलेको उत्तम विकल्प हो त ? यसअघि पनि पटक पटक सरकार परिवर्तन त हुँदै आएको हो, के सरकार परिवर्तनले मात्रै अहिलेको समाज र देशमा देखिएका तमाम समस्या, चुनौतीहरुको समाधान दिन सक्छ ? विगतको अभ्यास, तथ्य र उदाहरणहरुले त्यस्तो देखिदैन । त्यो केबल सत्ता स्वार्थको लिप्सा र प्रतिशोधको खेल मात्रै देखिन्छ । तसर्थ, सरकार जोगाउने र गिराउने मात्रै खेल होइन, सरकार फेर्ने भन्दा पनि सरकारको कार्यशैली फेर्न पहल, दबाब र खबरदारी जरुरी छ । यदि यसो गर्दा पनि जनअपेक्षा अनुसार काम हुन सकेन भने सरकार निःसन्देह आफै ढल्ने अवस्थामा पुग्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्