दर्शक दिर्घाबाट हेर्ने सपुत सेलिब्रेटी भएर महोत्सव आएपछि…

आदर्श अनलाइन,बागलुङ

चर्चित गायक प्रकाश सपुतले जारी बागलुङ महोत्सवमा बिशेष सांगतीति प्रस्तुति दिए ।

बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा सपुत सेलिबेटीका रुपमा पहिलो पटक मञ्चमा उत्रिएका थिए । सपुतको प्रस्तुतीले बागलुङ महोत्सव संगीतमय बन्यो। हजारौँ दर्शक एकसाथ झुमे, रमाए।

आफ्नो डेढ घण्टे प्रस्तुतिमा सपुतले चल्तीका नौ गीत गाए। शुरुमा गम्भीर भावका गीतसहित प्रस्तुत भएका सपुत अन्तिममा रमाइला र स्वच्छन्द शैलीका गीत सुनाउका थिए। विदेशिएका साथीभाइ सम्झेर सपुतले ‘यस्तै छ कहानी परदेशीको’, ‘चररर।।। बररर।।।’ र ‘बोलमाया’ गीत गाउँदा दर्शकदीर्घामा मौनता छाएको थियो। सपुत आफैँ पनि गम्भीर र भावुक देखिए। ‘बोलमाया’ परदेशमा प्रियजन गुमाउने परिवारको वेदनामा आधारित गीत हो । डेढ वर्षअघि सार्वजनिक हुँदा उक्त गीत ‘युट्युब ट्रेन्डिङ’ को एक नम्बरमा आउन सफल भएको थियो।

सपुतले मञ्चबाटै कामको खोजीमा विदेश जानुपर्ने बाध्यताको अन्त्य होस् भनी कामना गरे। “सकभर एक जना नेपाली पनि विदेशिनु नपरोस्, गइहाले पनि काठको बाकसमा आउन नपरोस्”, उनले भने। प्रवासी नेपालीका दुःख र संवेदना समेटिएका गीतलाई सपुतले जीवन्त ढङ्गले गाए। गम्भीर विषय र भावका गीत गाएपछि उनले फरक धारका गीतमा आफूलाई प्रस्तुत गरे। सपुतले ‘लुरुरु।।। हुरुरु।।।’, ‘रेलीमाई’ लगायतका लोकदोहोरी गीत सुनाए। पञ्चेबाजामा आधारित ‘माकुरमाकुर घुर’ गाउँदा दर्शकले नाचेर साथ दिए। यतिञ्जेलसम्म साँझ छिप्पिइसकेको थियो।

बहुचर्चित र दर्शक÷स्रोताले प्रतीक्षा गरेको गीत ‘गलबन्दी’ गाउने बेला भयो। सपुतले सानी छोरी प्रविष्टिलाई पनि मञ्चमा बोलाए। बुबाको गायकीमा छोरी प्रविष्टिले पनि स्वर मिलाइन्। दर्शकदीर्घाबाट वाहीवाही गुञ्जियो। महोत्सव चलिरहेको धवलागिरि बहुमुखी क्याम्पसको प्रांगण गलबन्दी हल्लाउँदै नाच्नेको भीडले भरियो।

विशेषगरी युवापुस्ता रमाएका देखिन्थे। सपुतले गाउँदा पछिपछि दर्शकले पनि उसैगरी गाउँथे। ‘गलबन्दी’ त्यही गीत हो, जसलाई अहिलेसम्म युट्युबमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ। मौलिक भाका, रचना र जीवन्त स्वरले ‘गलबन्दी’ चर्चामा आएको हो। उत्कृष्ट ‘म्युजिक भिडियो’का कारण गीतले दर्शक कमायो।

‘गलबन्दी’ गाएपछि सपुतले युवालक्षित गीत ‘दोहोरी ब्याटल’ १ र २ गाए। यी गीतबाट सपुत विवादमासमेत तानिनुभएको थियो । मौलिक लोकदोहोरीलाई बिगारेको आरोप उहाँमाथि लागेको थियो । ‘ब्याटल’ युवा पुस्तामाझ बढी चर्चित छ । सपुतले सबै उमेर समूहका स्रोता÷दर्शकको मन जित्नुभयो ।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपुतले बागलुङ महोत्सव आफ्नो सांगीतिक यात्राको प्रस्थानविन्दु भएको स्मरण गरे। ‘पहिले महोत्सव हुँदा तल भुइँमा बसेर अग्रज कलाकारले गाएको गीत सुन्थ्यौँ’, विगत सम्झदैँ उनले भने, ‘बागलुङ महोत्सवबाटै मैले ठूला दोहोरीगीत प्रतियोगितामा भाग लिन शुरु गरेको हुँ।’ आइतबार सपुतसँगै गायक योगेशकाजी बिसी, श्रीकृष्णबम मल्ललगायतले सांगीतिक प्रस्तुति राखेका थिए। शुक्रबारदेखि शुरु भएको महोत्सव यही पुस २० गतेसम्म चल्नेछ। रासस

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *