कविता : होम क्वारेन्टाइन

उदय चन्द्र चापागांई

होम क्वारेन्टाइन
सिसिफसको यात्रा,
उठ्यो खायो सुत्यो,
उठ्यो खायो सुत्यो,
पिंजडामा सुगा ।
यो मन
कसरी बस्नु क्वारेनटाइनमा ?
फुर्सदमा हुत्तिन्छ तलतिर
वालपनको गुरुत्वबलले,
उक्लिन्छ बेलौती नासपातीका रुखहरु,
अनुहार निचोर्छ कट्मेराले,
फट्टा फट चाहार्छ वर पीपलका हाँगाहरु,
नाघ्दै खेतबारीका काल्लाहरु,
खोजल्छ भूइका खनीम,
उधिन्छ पानी अमला रनवन,
उखेल्छ खेतका थकाइलाहरु ।
ऐंसेलु र चुत्रोको फाँक हाल्दै,
बटुल्छ गुईठाहरु,
सिमल्छ झींजाहरु,
चोटे चक्मकले
ओकलेको आगो बालेर
ढुङगाको ओदान माथी
पकाउँछ बनभात ।
काली… आइजा
तँलाई लाम्काने,
तँलाई साँढे,
तँलाई चोर,
तँलाई जेमराज,
आँखा झिम्कायो कि
तोष काटेर उत्ता पट्टी ।
उही राँय डोको बोकेर,
एक राँय स्याउला,
वा खाँङग्रे डोकोमा घाँस,
वा आठ पाँजाको भारी,
धारीलो काँजे आँसी,
कम्मरमा खुर्पेटो ।
तीन थुनेको पाथी दूध
तीन पाथे ठेकामा
दाहिने खुट्टाले अडेस लाएर
घार घुर, घार घुर,
घार घुर, घार घुर,
तेल्लिन सक्छ घ्यू
विसाउँछ पानी छम्कदै,
विसाउँछ पानी छम्कदै,
आरी भरी नौनी
ओठे जुङ्गामा
मोहीको रेखी सेतै,
दहीको रेखी सेतै ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *